- द्वन्द्वको प्रभाव विप्रेषण आप्रवाहमा देखिएन
- चैत महिनामामात्रै भित्रियो दुई खर्ब नौ अर्ब ७५ करोड
- अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि
काठमाडौं- पश्चिम एसियाको द्वन्द्वकाबीच पनि मुलुक भित्रने विप्रेषण (रेमिट्यान्स)मा बढेको छ । नेपालीहरुको प्रमुख रोजगार गन्तव्य बनेका खाडी मुलुकहरु इजरायल-अमेरिका र इरानबीचको युद्धले प्रभावित बनेको अवस्थामा नेपाल भित्रिने विप्रेषण आप्रवाहमा गिरावट आउने प्रक्षेपण विज्ञको थियो । युद्धका कारण उक्त क्षेत्रको श्रम स्वीकृति बन्द हुनु, श्रमिकहरु बेतलबी बिदामा बस्न बाध्य हुनु, रोजगारी गुम्नुजस्ता कारणले रेमिट्यान्स घट्ने आकलन गरिए पनि त्यस्तो प्रभाव नपरेको नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले देखाएको छ ।
राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनका अनुसार गत चैत महिनासम्म विप्रेषणमा कुनै असर देखिएको छैन । चैतमा भित्रिएको रेमिट्यान्सले उल्टै कीर्तिमान कायम गरेको छ । चैत महिनामामात्रै दुई खर्ब नौ अर्ब ७५ करोड रुपैयाँ विपे्रषण मुलुक भित्रिएको छ । यो रकम यस आर्थिक वर्षको प्रत्येक महिनामा भित्रिएको रकममध्ये सबैभन्दा बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा एक खर्ब ३९ अर्ब ५४ करोड रुपैयाँ भित्रिएको थियो ।
प्रतिवेदनअनुसार गत साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले बढेर १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ११ खर्ब ९१ अर्ब रुपैयाँ भित्रिएको थियो । यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.५ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्षको साउनमा एक खर्ब ७७ अर्ब ४१ करोड, भदौमा एक खर्ब ७४ अर्ब ६७ करोड, असोजमा दुई खर्ब एक अर्ब २२ करोड, कात्तिक एक खर्ब ३३ अर्ब ८२ करोड, मंसिरमा एक खर्ब ८३ अर्ब १८ करोड, पुसमा एक खर्ब ९२ अर्ब ६२ करोड, माघमा एक खर्ब ९८ अर्ब आठ करोड र फागुनमा एक खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
समीक्षा अवधिमा संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर दुई लाख ९४ हजार १८६ जना वैदेशिक रोजगारीमा गएका छन् । साथै, पुनः श्रम स्वीकृति लिएर दुई लाख ९३ हजार २५९ जना गएका छन् । अघिल्लो वर्षको सोही अवधिमा पाँच लाख ८७ हजार ४८१ जना रोजगारीका लागि विदेसिएको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षमा नयाँ श्रम स्वीकृति लिएर तीन लाख ५८ हजार २२२ जना तथा पुनः श्रम स्वीकृति लिएर दुई लाख ४९ हजार ६५२ जना गरी जम्मा छ लाख सात हजार ८७४ जना गएका थिए । गत फेब्रुवरी २८ यता सुरु भएको युद्धका कारण करिब एक महिना वैदेशिक रोजगार पूर्णरुपमा बन्द हुँदा रोजगारीमा जानेहरुको संख्यामा केही कमी आएको छ ।
हाल युद्धका बाबजुद पनि प्रभावित मुलुकबाट फर्किनेहरुको संख्या न्यून हुनु, अमेरिकी डलरको भाउ बढ्नु, श्रमिकहरु सीपयुक्त भएर जानु, वैधानिक माध्यमबाट विप्रेषण भित्र्याउन विदेशस्थित नियोगहरुले पनि कडाइ गर्नुजस्ता कारणले मुलुक भित्रने रकममा निरन्तर वृद्धि हुँदै आएको जानकारहरु बताउँछन् ।
पश्चिम एसियाका १६ वटा मुलुकमा करिब १८ लाख नेपाली कार्यरत रहेको सरकारी तथ्यांक छ । उक्त क्षेत्रको साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतारलगायतका मुलुकमा ठूलो संख्यामा नेपालीहरु छन् । इजरायल र अमेरिकाले इरानमाथि गरेको हमलाको प्रतिरोधमा इरानले खाडी मुलुकहरुमा निरन्तर ड्रोन तथा मिसाइल आक्रमण गर्दा श्रमिकहरु असुरक्षित भएका थिए । यद्यपि, गत वैशाख ७ गतेदेखि उक्त क्षेत्रको आवस्था सामान्य भइसकेको छ । हालसम्म उक्त क्षेत्रको द्वन्द्वको असर विप्रेषणमा नदेखिए पनि आश्रित परिवारमा भने विभिन्न मनोसामाजिक असर देखिन थालेको अध्ययनहरु सार्वजनिक हुन थालेका छन् ।