काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वर्तमान कार्यसमिति विघटन गरिएको छ । संघ कार्यसमितिका दुईतिहाइ पदाधिकारीहरुले पदबाट राजीनामा गरेपछि सोमवार रातिबाट संघको कार्यसमिति विघटन भएको जनाइएको हाे ।
संघको विधानको दफा २६को उपदफा(४)मा कार्यसमितिको विघटन सम्बन्धि व्यवस्था छ । ‘कार्यसमितिका दुई तिहाइ पदाधिकारीहरुले सामुहिक राजिनामा दिएमा कार्यसमिति स्वतः विघटन हुनेछ र सोहि दिन सल्लाहकारहरुको रोहवरमा एक सात सदस्य प्रवन्ध समिति खडा गरि प्रबन्ध समितिले २१ दिनभित्र विशेष साधारणसभा बोलाइ सोहि दिन निर्वाचन गराउने व्यवस्था छ,’ विधानमा भनिएको छ । यहि प्रावधान अनुसार कार्यसमिति विघटन भएको भनिएको छ । भुवनसिंह गुरुङ नेतृत्वको कार्यसमितिका सात जना पदाधिकारीमध्य पाँच जनाले सामूहिक राजिनामा दिएका थिए ।
विधानमा कार्यसमिति विघटन भएपछि सोही दिन सल्लाहकारहरुको रोहवरमा एक सात सदस्य प्रबन्ध समिति खडा गरी प्रबन्ध समितिले २१ दिन भित्र विशेष साधारण सभा बोलाई सोही दिन निर्वाचन सम्पन्न गराउने व्यवस्था छ । कार्यसमिति विघटन गरिएपछि सल्लाहकार तथा निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीको संयोजकत्वमा प्रबन्ध समिति गठन गरिएको छ । प्रबन्ध समितिमा पूर्व अध्यक्ष विमल ढकाल, जनक रावल, धनलाल जैसी, मधुकर रिजाल, विनोदजंग केसी र वरिष्ठ अधिवक्ता शम्भु निरौला रहेका छन् ।