Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
विचार
  • Home
  • विचार
  • मिथ्या सूचनाको महामारी
मिथ्या सूचनाको महामारी
शुक्रऋषि चौलागाई /रासस
शुक्रऋषि चौलागाई /रासस बुधबार, मंसिर १३, २०८०

काठमाडौं -  महाभारत युद्धमा जब पाण्डव पक्षको शक्ति लगातार निस्प्रभावी बनिरहेको थियो, श्रीकृष्णले अश्वत्थामा मरेको अफवाह फैलाउन लगाए । अस्त्र निर्माणको अद्भुत क्षमता भएका गुरु द्रोणाचार्य बाँचुन्जेल पाण्डव पक्षको विजय नहुने बुझेका श्रीकृष्णले युधिष्ठिरलाई प्रयोग गरे । रणभूमिमा अश्वत्थामा नामक हात्तीलाई मारिएसँगै श्रीकृष्णको उक्साहटमा ‘सत्यवादी’ युधिष्ठिरले उच्च स्वरमा ‘नरो वा कुंजरो वा अश्वत्थामा हतोहत’ (मान्छे वा हात्ती कुन् हो, तर अस्वत्थामा मर्‍यो) भन्ने उद्घोष गरे ।

शङ्खध्वनिका कारण द्रोणाचार्यले अश्वत्थामा मरेको भन्ने मात्र सुने । सत्यवादी युधिष्ठिरका मुखबाट आफ्नो छोरो अश्वत्थामा मरेको खबर सुनेर मुर्छित द्रोणाचार्य त्यसपछि उठ्न सकेनन् र पाण्डव सेनाका धृष्टद्युम्नले उनको शिरच्छेदन गरे । फलस्वरुप पाण्डव पक्षले रणभूमि कब्जा गर्न सफल भयो । आफ्नो हितमा मिथ्या र भ्रामक खबरलाई हतियारको रुपमा प्रयोग गर्ने अभ्यासको पौराणिक सन्दर्भले पनि यसको शक्तिलाई प्रष्ट्याउँछ ।

मिथ्या सूचना फैलाउने र फाइदा लिन अहिले पनि छाडिएको छैन । भनिन्छ, सत्यभन्दा अर्धसत्य र झूट छिटो फैलन्छ । डिजिटल माध्यमको विकास र विस्तारसँगै भ्रमपूर्ण र मिथ्या सूचनाको प्रवाह र पहुँच पनि सहज र व्यापक भएको छ । इन्टरनेटमा आधारित अनलाइन र सामाजिक सञ्जालले त्यसलाई झन् बढ्वा दिइरहेका छन् । यस्ता भ्रामक सूचना डढेलोजस्तै अनियन्त्रित हुन्छन् । मिथ्या र पछिल्लो समय भ्रामक सूचना, अप्रमाणित तथ्य, बढाइचढाइ वा तोडमोड, वैचारिक पक्षपोषणसहितका सामग्रीले उपभोक्तालाई प्रभावित बनाउँदै लगेको छ । यस्ता सामग्रीले मानिसहरुको विचारलाई प्रभावित मात्र हैन, नियन्त्रित र निर्देशित समेत गर्दैछ ।  

सामाजिक सञ्जाल

Hardik health

सामान्यतयाः इन्टरनेट प्रविधिको माध्यमद्वारा आफ्ना विचार वा सिर्जनशीलता आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । यो सूचना दिने अनलाइन प्रविधिको एकमुस्ट सामूहिक रुप पनि हो । हातहातमा मोबाइल र इन्टरनेटको सहज उपलब्धताले सामाजिक सञ्जालको प्रयोग पनि व्यापक छ । एक तथ्याङ्कअनुसार विश्वभर चार अरब ४८ करोड मानिसले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् । यसको अर्थ विश्वको आधा व्यक्तिहरू सामाजिक सञ्जालमा भेटिन्छन् । गुगलले ४.६६ अरबभन्दा बढी ‘इन्टरनेट प्रयोगकर्ताहरू भएको देखाउँछ । यसमध्ये गुगल, फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक र ट्विटर प्रयोगकर्ता रहेका छन् ।

सञ्जालहरूमार्फत जानकारी, विचार, रुचि र अभिव्यक्तिहरू सिर्जना वा साझेदारी गर्ने सुविधा प्रदान गर्न मध्यस्थकर्ताको भूमिकामा सामाजिक सञ्जालहरूको उदय भएको हो । तर पछिल्लो चरण सामाजिक सञ्जाल व्यक्तिको समय र सिर्जना खोसिदिने, भ्रम फैलाउने र सूचनामाथि जासुसी गर्ने हतियार बनेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता आफनो अनुकूलका कुरा सुन्ने तर फरक विचारलाई निषेध गर्ने भइरहेका छन् । सामाजिक सञ्जाल प्रतिक्रियात्मक र असङ्गठित हुने भएकाले यसले नीतिगत तहमा दबाब दिन त सक्ला, तर न्याय दिन भने सक्दैन ।

मिथ्या सूचना के हो ? 

सेन्टर फर मिडिया रिसर्चले मिथ्या सूचनालाई ‘मूलतः झूटो वा गलत वा भ्रमपूर्ण वा अनर्थ हुने गरी घटना, अभिव्यक्ति, तथ्याङ्क र तर्क प्रयोग वा व्याख्या गरेर समाचारका रूपमा प्रस्तुत आमसञ्चारका माध्यम वा इन्टरनेटका सामग्री’ भनि परिभाषित गरेको छ । पूर्णतः झूट कुरालाई मिथ्या मानिन्छ । कतिपय सूचना तथ्यपूर्ण भए पनि त्यसमा केही झूटो विषय मिसाइएमा त्यसलाई भ्रामक भन्ने अभ्यास छ । मिथ्या र भ्रामक सूचनालाई विभिन्न तहमा वर्गीकरण गरिन्छ । 

युनेस्कोले मिथ्या सूचनालाई तीन प्रकारमा वर्गीकरण गरेको छ– ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’ र ‘मालइन्फर्मेसन’ । कुनै सूचना गलत हुन्छ, तर फैलाउनेले त्यसलाई सही ठानेर फैलाइरहेको छ भने त्यसलाई मिसइन्फर्मेसन भनिन्छ । फैलाउनेलाई गलत हो भनेर थाहा हुन्छ, तर त्यसो हुँदाहुँदै पनि जानाजानी र नियतवश अरूलाई भ्रमित पार्न फैलाइने सूचनालाई ‘डिसइन्फर्मेसन’ भनिन्छ । यो कसैको चरित्र हत्या गर्न, हानी पुर्‍याउन प्रयोग गरिन्छ । यी दुई प्रकारभन्दा तेस्रो प्रकार ‘मालइन्फर्मेसन’ अझ घातक हुन्छ । ‘मालइन्फर्मेसन’ देश, व्यक्ति, कुनै संस्था वा समूहप्रति हानी पुर्‍याउने उद्देश्यले फैलाइन्छ । 

मिथ्या सूचनाको अवस्था र असर 

आम मानिसले कुन सूचना सही हो, कुन सूचना गलत हो भनेर सहजै छुट्याउन सक्दैनन् । अहिले स्वार्थअनुसार, भ्रमात्मक सामग्री प्रचार भइरहेको छ । धेरैले इन्टरनेटमा आएका सबै सूचना सही होला भनेर शेयर गर्छन् । यसकारण गलत सूचनाको बाढी नै आएको छ ।  मिथ्या सूचना व्यक्ति विशेष मात्रै नभई संस्था, कम्पनी, सञ्चार गृहलगायत धेरैले धेरै कोणबाट प्रयोग गरिरहेको अवस्था छ । 

मिथ्या सूचना कसले कसरी प्रयोग गरिरहेको छ, त्यसले के कस्तो अवस्था सिर्जना गरिरहेको छ । कस्तो खाले असर पुर्‍याइरहेको छ भन्ने कुराको ठयाक्कै मापन गर्न कठिन भएपनि यसले अनेकन स्वरुपमा समस्या र असर पुर्‍याइरहेको चाहीं छ । विभिन्न दुष्प्रचारदेखि आफ्नो फाइदा र विपक्षीको बदनाम गर्न भ्रमात्मक कुरा फैलाउने अभ्यास बढ्दो छ ।

कतिपय सूचनाको अनर्थ प्रयोग गरी विषय वा व्यक्तिबारे भ्रम सिर्जना गर्ने गरिएको छ । कुनै सूचना सही नै भए पनि गलत सन्दर्भमा प्रयोग गर्ने गरिएको छ । कुनै तथ्य, तथ्याङ्क वा तस्वीरलाई तोडमोड गरिन्छ । कयौं अनलाइन पोर्टलहरुले पाठकको ध्यान खिच्न अनेक हर्कत गरेको देखिन्छ । शिर्षक एउटा, सामग्री अर्कै, प्रसङ्ग एउटा, तस्विर अर्कै राखेर पनि झुक्याइँदैछ । अप्रमाणित, अपुष्ट सूचना दिने र विषयको बढाइचढाई गर्ने पनि गरेका छन् । 

मिथ्या समाचार प्रकाशित भइसकेपछि लाभ पुग्ने पक्षले सामाजिक सञ्जालमा भाइरल बनाउने गर्छन् । मौजुदा तस्वीर, आवाज वा भिडिओमा एक व्यक्तिको ठाउँमा अर्कै व्यक्तिलाई देखाइदिने काम ‘डिप फेक’ पनि गरिएको छ । यसमा हत्तपत्त दर्शक वा स्रोताले नक्कली भएको ठम्याउनै सक्दैनन् । मिथ्या सूचनाले समाजलाई झनै ध्रुवीकृत बनाइदिने खतरा बढदै गएको छ । मिथ्या सूचनाकै कारण साम्प्रदायिक सहिष्णुता र सद्भाव बिग्रिनै लागेका उदाहरण पनि छन् ।

सार्वजनिक सुरक्षामा चुनौती सिर्जना हुँदैछ । सूचनाको विश्वसनीय स्रोतका रूपमा रहेको मिडिया माथि नै अविश्वास हुने स्थिति निम्तीदैछ । डिजिटल युगमा मिथ्या र भ्रामक सूचनासँग जुध्न÷लड्न सजिलो छैन, तर नलडी पनि सुख छैन । मिथ्या सूचनाले नागरिकलाई भ्रममा पारिरहेको छ । झुटो खबरले नागरिकहरु गलत निर्णयमा पुग्न सक्छन् । त्यसैले नागरिक सचेत पार्न र लोकतन्त्र बलियो बनाउन मिथ्या सूचनाबाट जोगिनु र खबरदारी गर्नु अत्यावश्यक छ । 

मिथ्या सूचनाको पहिचान  

कुनै सामग्री मिथ्या हो कि होइन भनेर ठम्याउन र पहिचान गर्न सजिलो छैन । आमपाठक, दर्शकका लागि कुनै पनि सामग्रीको तथ्य, तथ्यांक, घटना, घटनाक्रम, उदृत स्रोत वा व्यक्ति, अभिव्यक्ति, तस्वीर, समय र सन्दर्भ सबै सही, पूर्ण र तर्कसङ्गत छन् कि छैनन् भनेर छिटो परीक्षण गर्नु गाहे कार्य हो । मिथ्या सूचना तयार गर्नेहरूले त्यो सामग्री विश्वसनीय देखाउने प्रयास गर्छन् ।

मिडिया साक्षरता कमजोर रहेको नेपालमा यस्ता सामग्रीमा उल्लेखित भनाइ, तथ्याङ्क, स्रोत, तस्वीर आदि ठीक छन् वा छैनन् भनी परख गर्न पाठक, दर्शक वा स्रोताको क्षमता पनि कमजोर छ । डिजिटल युगमा सूचनाको विश्वसनीयता र सत्यताबारे काम गर्ने ‘फस्ट ड्राफ्ट न्युज’ले मिथ्या समाचारलाई सात भागमा वर्गीकरण गरेको छ :  कुनै हानी गर्ने उद्देश्य नभएका तर पाठकलाई मूर्ख बनाउन सक्ने रमाइलोका लागि तयार पारिएका व्यङग्यात्मक सामग्री,  शीर्षक वा तस्बिरसँग मूल लेखन मेल नखाने भ्रमपूर्ण सम्बन्धका आधारमा बनाइएका सामग्री, कुनै सूचनाको अनर्थ प्रयोग गरी कुनै विषय वा व्यक्तिबारे भ्रम सिर्जना गर्ने सामग्री, कुनै सही सूचना वा घटना वा अभिव्यक्ति वा समाचारलाई गलत सन्दर्भमा प्रयोग गरिएको सामग्री, कुनै आधिकारिक स्रोत वा व्यक्तिका नामका झुटो अभिव्यक्ति प्रयोग गरिएका सामग्री, कुनै तथ्य वा तथ्याङ्क वा घटना वा तर्क वा तस्बिरलाई तोडमोड गरिएका सामग्री र हुँदै नभएका घटना वा तथ्य वा अभिव्यक्ति वा स्रोत प्रयोग गरिएका पूर्णरूपले गलत सामग्री ।  

नामै नसुनिएका अविश्वसनीय अनलाइन साइटमा आएका सामग्री, सनसनीपूर्ण बनाइएका समाचार शीर्षक र तस्वीर, नामै नसुनिएका स्रोतको प्रयोग, आधारभूत पत्रकारिताको नियमको परिपालना नभएको आदि आधारमा यस्ता भ्रामक र मिथ्या समाचार छुट्याउन सकिन्छ । सूचना र समाचारको विश्वसनीयता र सत्यता कायम राख्न पत्रकार, पाठक, दर्शक, स्रोता सबै सचेत हुनुपर्ने हुन्छ । कुनै कुरालाई तत्काल पत्याइहाल्नु अगाडि आलोचनात्मक तरिकाले समीक्षा गर्नुपर्ने हुन्छ  ।  

मिथ्या सूचना: के गर्ने ? के नगर्ने ?

मिथ्या सूचना फैलने र त्यसैलाई विश्वास गर्ने समस्या व्यापक छ । सर्वप्रथम आफूले पढिरहेको या हेरिरहेको सामग्री मिथ्या सूचना हो या होइन भन्ने कुराप्रति सजग हुन जरुरी छ । त्यस्ता सामग्रीप्रति तुरुन्तै विश्वास नगरी पुनः परीक्षण गर्न पनि सकिन्छ । तर हाम्रो जस्तो समाज, जहाँ सूचना प्रविधिको ज्ञान भएका व्यक्तिहरुको कमी छ, त्यहाँ कसरी सम्भव होला ? तर भनिन्छ नि, जहाँ इच्छा त्यहाँ उपाय । तसर्थ प्रयास गर्न नछोडौँ । कुनै पनि सामग्री सामाजिक सञ्जालमा ‘शेयर’ गर्न वा त्यसैका आधारमा विचार राख्न हतार गर्न हुँदैन ।

मिथ्या समाचार हो भन्ने थाहा पाउनेबित्तिकै त्यो मिथ्या समाचार हो भनेर जानकारी गराउन पनि सकिन्छ । ‘डिजिटल राइट्स’का अभियन्ताहरूले सबैभन्दा व्यक्ति आफैँ सचेत हुनुपर्ने बताउँछन् । जुनकुनै सूचनाहरू जुनसुकै माध्यमबाट पनि आइरहेका छन् । त्यसको विश्वसनीयता कत्तिको छ भन्ने पहिल्याउनुपर्छ र यसको स्रोत, पठाउने व्यक्ति वा माध्यमको बारेमा यकिन गरेपछि मात्रै यसलाई ‘लाइक, कमेन्ट वा शेयर’ गर्नुपर्ने बताउँछन् । सूचनाको आधिकारिकतामा पनि ध्यान दिनुपर्छ । डिजिटल साक्षरतालाई व्यापक बनाउनुपर्छ ।  

मिथ्या सूचना नियन्त्रण गर्ने बहस पनि चलिरहेको छ । तर कसरी ? यो विषयमा भने पर्याप्त छलफल भएको पाइँदैन । सरकारले  नियमन गर्न आवश्यक पनि देखिन्छ । मिथ्या सूचना रोक्ने कानून बनाउँदैमा सजिलै रोकिन्छ भन्ने पनि छैन । यो विषय हाम्रो चेतनास्तर अनि प्राविधिमा पनि भर पर्ने हो । स्वनियमनबाटै पनि यसलाई रोक्न सकिन्छ । मिथ्या सूचनाको जोखिम घटाउन सबै जिम्मेवार बन्नुपर्छ । मिथ्या सूचना व्यापक हुनबाट रोक्नु नागरिक, पत्रकार, अधिकारकर्मी, सञ्चारमाध्यम, राजनीतिक दल लगायत सबैको कर्तव्य हो । मिथ्या सूचना एक प्रकारको महामारी हो, महामारीले व्यक्ति, जात, धर्म र समाज चिन्दैन । तसर्थ, महामारीबाट जोगिन सबै खाले सुरक्षा सतर्कता अपनाउनैपर्छ । 

सामाजिक सञ्जालको सही प्रयोग 

धेरैजसो भ्रामक सूचना सामाजिक सञ्जालबाट नै फैलिइरहेको छ । नेपालमा गरिएको एक अध्ययनले सामाजिक सञ्जाल मिथ्या सूचना फैलाउने सशक्त माध्यम भएको देखाएको छ । सेन्टर फर मिडिया रिसर्चले गरेको अध्ययनले नेपालमा ९५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले सामाजिक सञ्जालको माध्यमबाट मिथ्या सूचना प्राप्त गरेको देखाएको छ ।

सामाजिक सञ्जालको अति प्रयोग, गलत प्रयोग र असावधानीपूर्ण प्रयोगबाट बच्न उपाय जान्न जरुरी छ । कुनै पनि न्यायिक अभियानका लागि सामाजिक सञ्जाल एउटा औजार हो, तर यसको सही प्रयोग गर्न जानियन भने घातक पनि हुन सक्छ ।  के उद्देश्यका लागि सामाजिक सञ्जालमा खाता खोलेको पहिल्यै स्पष्ट हुनुपर्छ । कुनै पनि नपत्याउने खालका घटना भएका सामग्री इन्टरनेटमा देख्ने, पढ्नेबित्तिकै तुरुन्तै विश्वास गरिहाल्न हुँदैन । व्यक्तिगत सूचना र वैयक्तिक गोपनीयताका कुरा नराख्ने, जुनसुकै लिङ्क नथिच्ने, नचिनेको साइटमा व्यक्तिगत सूचना, इमेल आदि नभर्नेजस्त सावधानी अपनाउन सकिन्छ । नत्र त्यसैले प्रोफाइल ह्याक गरी अरूसँग पैसा माग्न वा तपाईंको आवरणमा अरूलाई ठग्न सक्छ । 

सञ्जालमा कुनै कुरा लेख्नु वा पोस्ट गर्नुअघि आफैँले आफैँलाई  प्रश्न सोध्न पनि जरुरी छ । सामाजिक सञ्जालमा यो प्रसङ्ग/विषय राख्ने कि नराख्ने ? यो अहिल्यै नै राख्न उपयुक्त छ ? राखिएको सामग्रीले कसलाई फाइदा पुग्छ ? कुनै पनि सूचनालाई आलोचनात्मक तरिकाबाट हेर्न सक्नुपर्छ । त्यो सूचनाको स्रोत के हो ? कहाँबाट आयो ? कसले शेयर गरेको छ ? त्यो जाँच गरेर शेयर गर्नुपर्दछ । पुराना सामग्रीलाई नयाँ घटनाको भनेर राखिएका हुन सक्छन् । त्यसको पुष्टि नभई त्यसमा प्रतिक्रिया दिने वा कमेन्ट लेख्ने काम पनि गर्नु हुँदैन । 

अहिलेको जमानामा हरेक व्यक्ति पत्रकार हो । सूचना अरू सामु पुर्‍याउने सन्दर्भमा धेरै सामु सूचना दिन सकिन्छ । फेसबुक, ट्विटर, टिकटकलगायत धेरै प्रयोगकर्ता भएका सामाजिक सञ्जालमा तथ्य के हो, त्यो राखिदिन सकिन्छ । कुनै कुरा सामाजिक सञ्जालमा फैलियो भने, त्यो ‘किवर्ड सर्च’ गरेर पनि सत्य थाहा पाउन सकिन्छ । सामग्री सही छन् कि छैनन्, परीक्षण गर्नुपर्छ । यसको लागि अरू मिडियाहरू पनि अध्ययन गर्नुपर्छ । सञ्जाललाई आफ्ना विचार, भावना र अनुभव आदानप्रदान गर्न, नयाँ प्रविधि र सिकाइ प्राप्त गर्न, जनचेतना बढाउन र बृहत्तर हितमा उपयोग गर्ने बानी बसालौँ । 

भाइरल हुनु मात्रै ठूलो कुरा होइन, सूचना प्रणाली प्रयोग गर्दा मर्यादा, शिष्टता र सामाजिक सद्भावको कुरालाई मनन गरेर अघि बढौँ । साइबर सुरक्षामा चनाखो र सतर्क रहौँ । आजदेखि नै प्रण गरौँ – सामाजिक सञ्जाल र सूचना प्रणालीलाई मिथ्या सूचना तोडने र मन जोड्ने माध्यम बनाऔँ ।  


प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्
थप विचार
‘स्वर्णिम’ अर्थमन्त्रीको प्रतीक्षा
‘स्वर्णिम’ अर्थमन्त्रीको प्रतीक्षा बिहीबार, चैत ५, २०८२
इन्धनको खपत घटाउन जल र वन सम्पदाको उपयोग
इन्धनको खपत घटाउन जल र वन सम्पदाको उपयोग बुधबार, चैत ४, २०८२
मध्यपूर्वको रणमैदान र महाशक्तिको नैतिक दायित्व
मध्यपूर्वको रणमैदान र महाशक्तिको नैतिक दायित्व सोमबार, चैत २, २०८२
वायु प्रदूषणको प्रभाव र न्यूनीकरण गर्ने उपाय
वायु प्रदूषणको प्रभाव र न्यूनीकरण गर्ने उपाय आइतबार, चैत १, २०८२
बोध प्राप्तिको माध्यम ध्यान साधना 
बोध प्राप्तिको माध्यम ध्यान साधना  शुक्रबार, फागुन २९, २०८२
मध्यपूर्व युद्धले नेपालमा पर्नसक्ने आर्थिक प्रभाव
मध्यपूर्व युद्धले नेपालमा पर्नसक्ने आर्थिक प्रभाव बिहीबार, फागुन २८, २०८२
नेपालमा संस्कृत शिक्षामाथि उपेक्षा
नेपालमा संस्कृत शिक्षामाथि उपेक्षा बुधबार, फागुन २७, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP