भारतको पर्यटकीय क्षेत्र पहलगाममा अप्रिल २२ मा अन्धधुन्ध आक्रमणमा परी २६ जनाको मृत्यु भएको थियो । उक्त घटनाको दोष भारतले पाकिस्तानलाई लगाउँदै उचित समयमा जवाफ फर्काउने भनेको थियो । नभन्दै भारतले बुधबार बिहानैबाट पाकिस्तानी सीमामा हवाई हमला थाल्यो ।
इजरायल प्यालेस्टाइन भिडन्तको झल्को दिनेगरी भारत र पाकिस्तान बिहानैबाट आक्रमणमा उत्रिएका छन् । जसका कारण सीमा क्षेत्रका मानिसहरु निकै त्रसित बनेका छन् । पछिल्ला दिनहरुमा राजनीतिक त्रासबाहेक दक्षिण एसिया शान्त थियो । श्रीलंका, अफगानिस्तान र बंगलादेशको राजनीतिक उथलपुथलपछि शान्त रहेको दक्षिण एसिया फेरि युद्धले तातेको छ ।
भारत र पाकिस्तान दशकौंदेखि शत्रुतापूर्वक लडिरहेका छन् । उनीहरुले मुख्य विषय धर्मलाई बनाएको छ । पहलगाम आक्रमणमा केही नसोधि धर्म सोधेर हत्या गरेको भन्दै यसलाई अतिरञ्जित बनाइयो । जसकारण पनि भारतलाई यो हमला गर्न जनताबाट पनि साथ पायो । यद्यपि भारतीय पक्षको हमलापछि पाकिस्तानले पनि आक्रमण गर्दा दुवै पक्षको क्षति भएको छ ।
समाचार एजेन्सीहरुको रिपोर्ट सत्य हो भने यो घटनामा ४० जना भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ । भारतीय पक्षको १५ जना र पाकिस्तानी पक्षका २६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । घटनामा परी १०० जनाभन्दा बढी घाइते भएका छन् । यस्तो अवस्थामा एसियाको शक्तिशाली मुलुकहरुले संयमता अपनाउन पहल गर्नुपर्छ । नेपालले पनि यस विषयमा संयमता अपनाउन आग्रह गर्न सक्छ । तर नेपालले यसबारे केही बोलेको छैन ।
सार्क राष्ट्रको एक सदस्य र शान्तिको संवाहक देश भएकोले पनि नेपालले यस विषयमा भारत र पाकिस्तानलाई युद्धविरामका लागि आग्रह गर्नुपर्छ । कुनै बेला एक रहेको देश अहिले विविध कारण फुटेको छ । यही दुई देशबीच भाइचारा कायम हुनुपर्नेमा भने युद्ध भड्किएको छ ।
जसकारण एसियाका कमजोर मुलुकहरुलाई सकस पर्ने देखिन्छ । युद्धका कारण व्यापार व्यवसायमा असर पर्ने कुरा त छँदै छ । यसले बसाइँसराइँदेखि यी क्षेत्रमा बस्ने बासिन्दाको असुरक्षा बढेर जाने देखिन्छ । सीमा क्षेत्रमा बसोबास गर्नेहरु तेस्रो मुलुकमा जानुपर्ने बाध्यता यस्तै घटनाबाट सिर्जना गराउँछ । भुटानी शरणार्थी, रोहिंग्या शरणार्थी यस्तै घटनाका कारण सिर्जना भएका हुन् ।
यस्तो द्वन्द्व जारी रहे नेपाल आफैंलाई पनि असर हुन सक्छ । यसैले यस्तो विषयमा नेपालले पनि कूटनीतिक पहल गरेर युद्ध रोक्न र संयमता अपनाउन आग्रह गर्न सक्नुपर्छ । युद्धले हैन शान्तिले संसार बदल्ने हो ।