नेपालमा मनाइने पर्वहरूमा महिलाहरूको उत्सव र भावनासँग गहिरो रूपमा जोडिएको पर्व हो तीज । तीज भनेको श्रावण शुक्ल तृतीयादेखि मनाइने हिन्दू महिलाहरूको विशेष पर्व हो जसलाई हरितालिका तीज पनि भनिन्छ । यस पर्वको प्रारम्भिक दिनलाई ‘दर खाने दिन’ भनेर विशेष महत्त्व दिइन्छ । यो दिनमा महिलाहरू आ-आफ्नो माइती घर जान्छन्, प्रियजनहरूसँग भेटघाट गर्छन्, दर खाने परम्परा पूरा गर्छन् र आगामी दिनको उपवास तथा पूजा तयारी गर्छन् । समयको परिवर्तनसँगै दर खाने दिनको स्वरूप, महत्त्व र प्रस्तुत गर्ने तरिका पनि बदलिँदै गएको छ ।
दर खाने परम्परा हिन्दू संस्कृतिसँग गहिरो रूपमा गाँसिएको छ । तीज पर्व शिव र पार्वतीको मिलनसँग जोडिन्छ । कथन अनुसार पार्वतीले कठोर तपस्या गरेर भगवान शिवलाई पति रूपमा पाएको स्मरणमा महिलाहरूले तीजमा व्रत बस्ने परम्परा बनाएको मानिन्छ । व्रत बस्नुअघि एक दिन अघिल्लो रात दर खाई पेट भरी खाने चलन छ, जसले उपवास सहज बनाउन मद्दत गर्छ । धार्मिक दृष्टिले दर खाने दिनमा खाने परिकारलाई ‘ऊर्जा सञ्चय गर्ने माध्यम’ को रूपमा लिइन्छ । दूध, दही, मासु, माछा, मिठाई, फलफूल लगायत ऊर्जा दिने पदार्थ खाने प्रचलन छ । यसरी दर खाई भोलिपल्ट महिलाहरूले कठोर व्रत पूरा गर्ने आधार तयार हुन्छ ।
परम्परागत रूपमा दर खाने दिनलाई अत्यन्तै रमाइलो उत्सवको रूपमा लिइन्थ्यो । माइती जाने प्रथाः छोरीचेलीहरू तीज अघिल्लो दिन माइती घर जान्थे । माइतीले छोरीलाई दर खुवाउने, मायाले सरसामान दिने चलन थियो । साथै गानाबजाना र मेलमिलापः माइती घर पुगेपछि दिदीबहिनीबीच गीत गाउने, नाच्ने, रमाउने परम्परा थियो । तीजका गीतमा सामाजिक व्यथा, दुःख, अधिकार र जीवनका संघर्षहरू प्रकट हुने गर्थे । दरका परिकारः परम्परागत रूपमा दरमा खासगरी घिउमा पकाइएका परिकार, सेलरोटी, पुरा, मासु, दही, मिठाई र मौसमी फलफूल अनिवार्य मानिन्थे। यी परिकारले व्रत बस्न सजिलो बनाउँछन् भन्ने विश्वास थियो ।
दर खाने दिनलाई केवल खाने मात्र नभई सामाजिक र सांस्कृतिक दृष्टिले पनि ठूलो महत्त्व दिइन्छ । मायाको प्रतीकका रुपमा माइतीले छोरीलाई मायाले खुवाउने दर सम्बन्धको गहिरो अभिव्यक्ति हो । महिलाको स्वतन्त्रताका लागि विवाहपश्चात दिदीबहिनीलाई माइती घर बोलाउने, स्वतन्त्र रूपमा रमाउने अवसर दिनु नै यस दिनको खास विशेषता रहेको पाइन्छ । सांस्कृतिक निरन्तरता लिनकै लागि भए पनि दर खाने चलन छ । जसले परम्परागत गीत–संगीत, नाचगान र संस्कृतिलाई जोगाइराखेको छ । तर, समय बदलिएसँगै दर खाने दिनको स्वरूप पनि परिवर्तन हुँदै गएको छ। यसको पहिलो कारण सहरीकरण र व्यावसायिकता रहेको छ । अघिल्ला वर्षका दिनहरूमा घरघरमै दर खाने चलन थियो भने अहिले होटल र पार्टी प्यालेसमा दर खाने कार्यक्रम हुने गरेको पाइन्छ । साथै सामाजिक सञ्जालको प्रभावले पनि परिवर्तल ल्याएको छ । पल्लिा केहि वर्ष यता फेसबुक, टिकटक, इन्स्टाग्राममा दर खाने दिनका तस्बिर र भिडियो पोस्ट गर्ने प्रचलन बढेको छ । परिकारमा परम्परा र आधुनिकताबीचको मिश्रण भएको छ । आधुनिक परिकारहरु पिज्जा, पास्ता, मोमो पनि दरको थालीमा देखिन थालेका छन्, तर परम्परागत सेलरोटी र मिठाई अझै पनि मुख्य रहँदै आएको छ ।

आधुनिक समाजमा दर खाने दिनले विभिन्न आयाम समेट्न थालेको छ । एकता र भेटघाटको अवसर दिएको छ । विदेश वा अन्यत्र व्यस्त दिदीबहिनीहरूले यस दिन छुट्टी मिलाएर भेटघाट गर्ने परम्परा अझै पनि कायम छ । सांस्कृतिक प्रदर्शले प्रतिस्पर्धाको वातावरण सिर्जना गरेको छ । विभिन्न संस्थाहरूले दर खाने दिनलाई सांस्कृतिक कार्यक्रममार्फत पनि मनाउन थालेका छन् । फेसन र पहिरन पनि पछिल्लो समय एउटा प्रचलन बनेको छ । रातो सारी, सुनका गहना, मेहन्दी, चुरा आदि आधुनिक ढंगमा प्रस्तुत गर्ने चलन बढेको गएको छ ।
दर खाने दिनसँगै केही आलोचना र बहसहरू पनि छन् । होटल, पार्टी प्यालेसमा दर खाने गर्दा ठूलो खर्च हुने भएकाले यसलाई ‘फजुल खचृ’ भनेर आलोचना गरिन्छ । मौलिकताको हस्तक्षेप गरी परम्परागत संस्कृतिभन्दा देखावटीपन, प्रतिस्पर्धा र फोटो सेसनमा जोड दिइनु आलोचनाको विषय बनेको छ । वर्गीय असमानता निम्त्याएको छ । सम्पन्न परिवारले महँगो दर खाँदा विपन्न महिलाहरू त्यसरी सहभागी हुन नसक्ने भएकाले विभेद उत्पन्न गरेको देखिन्छ ।
यद्यपि आलोचना भए पनि दर खाने दिनलाई सकारात्मक रूपमा लिन सकिन्छ । यसले महिलालाई रमाइलो गर्ने अवसर दिन्छ । दिदीबहिनीबीचको माया, सम्बन्ध र भावनालाई जोड्ने माध्यम हो । परम्परा र आधुनिकतालाई सन्तुलनमा राख्दै संस्कृतिको संरक्षण र नयाँ स्वरूप दिन सकिन्छ ।दर खाने दिन केवल खाने दिन मात्र नभई महिला, परिवार र समाजबीचको सम्बन्ध बलियो बनाउने विशेष पर्व हो। यसले परम्परागत मूल्यलाई जोगाउँदै आधुनिक समाजसँग तालमेल मिलाउन सिकाउँछ। समयको परिवर्तनसँगै यस दिनले आफ्नो स्वरूप बदले पनि यसको मूल भावना अझै जीवित छ- माया, सम्बन्ध र एकताको अभिव्यत्ति । त्यसैले, दर खाने दिनलाई हामीले संस्कृतिको धरोहरका रूपमा लिएर आधुनिक जीवनसँग सन्तुलन मिलाउँदै अघि बढाउनु आवश्यक छ। परम्परा र आधुनिकताको यो मिश्रण नै नेपाली समाजको विशेषता हो र यही विशेषताले दर खाने दिनलाई अझ अर्थपूर्ण बनाइरहेको छ ।