काठमाडाैं -नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नवनिवार्चित अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले आज पदभार गरेका छन् । करिब डेढ महिनाको विभिन्न उतारचढावपूर्ण अवस्थापछि विशेष साधारण सभाले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व संघका पूर्वउपाध्यक्ष डिकबहादुर खत्री ‘कुमार’को काँधमा सुम्पेको हाे ।
नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका उम्मेदवार खत्रीले ३४७ मत प्राप्त गरेका छन् ।संघको १७ सदस्यीय कार्यसमितिमा सात पदाधिकारीमध्ये छ जना र १० सदस्यमध्ये आठ जना खत्री नेतृत्वको संयुक्त व्यवसायी प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नवनिर्वाचित अध्यक्ष डिकबहादुर खत्री यस क्षेत्रका विज्ञका रुपमा चिनिन्छन् । उनी नेतृत्वको प्यानललाई स्पष्ट बहुमत दिएसँगै व्यवसायीहरुले संघबाट सुधारको ठूलो अपेक्षा राखेका छन् । नवनिर्वाचित अध्यक्ष खत्रीले व्यवसायीको अपेक्षाअनुसार संघलाई अगाडि बढाउने प्रतिबद्धता जनाए । नीतिगत सुधारका लागि आफूले प्रभावकारीरुपमा सरकारसँग पहल गर्ने बताए ।
‘नीतिगत सुधार नभए व्यवसाय गर्ने अवस्था छैन । सरकार त्रुटियुक्त ऐनहरु संशोधन गर्न लागिपरेका बेला यसपटकको संशोधनमा पूर्ववत् त्रुटिहरु नहोस् भनेर सरकारसँग संवाद गर्ने सोचेका छौं,’ उनले भने, ‘अहिलेको सरकारले हाम्रा समस्यालाई सुनेर कार्यान्वयनमा ल्याउने ठूलो अपेक्षा छ । मन्त्रालयमा पछिल्लो समय भएका छलफलले पनि त्यो दिशानिर्देश गरेको छ ।’
लोकतान्त्रिक एसोसिएसनले पूर्वमहासचिव मेघनाथ भुर्तेल र स्वतन्त्र व्यवसायी प्यानलले पूर्वद्वितीय उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीलाई अध्यक्षका प्रत्याशीका रूपमा चुनावी मैदानमा उतारेका थिए ।
नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको एक पक्ष तथा वैदेशिक रोजगार गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीच तालमेलका आधारमा बनेको संयुक्त व्यवसायी समूहले अध्यक्षमा व्यवसायी खत्रीलाई अघि सारेको थियो ।