सहराँ अहिले हड्डीको चर्चा छ । देशभरिका ठेकेदारहरु जिमखानामा आफ्नो हड्डी बलियो बनाउन अभ्यास गर्दै छन् अरे ! किनभने, नेपालको कुनै पनि ठेकेदारहरुले सरकारी पैसा असुलेर भनेको समयमा काम नै गरेका छैनन् । त्यही भएर पनि अहिले पूर्वाधारको जिम्मा लिएका मन्त्रीले हड्डी भाँच्न उर्दी जारी गरिसकेका छन् नि त ?
जेन-जी आन्दोलनपछि देशमा ठूलो परिवर्तनको हावा चल्यो । पुराना दलका पुराना अनुहारलाई जनताले धेरै गाली गरे, नयाँलाई धेरै ताली बजाए । परिवर्तनको गीत गाउँदै चुनाव भयो । चुनावमा जनताले यति धेरै विश्वास गरेर मत हाले कि सरकार दुईतिहाइको बलियो खम्बामा उभियो । जनताले सोचेका थिए अब देश बन्छ, सडक बन्छ, पुल बन्छ, अस्पताल बन्छ, विद्यालय बन्छ, रोजगारी चल्छ ।
तर अहिले सरकारले हनिमुन मनाउँदै गर्दा नयाँ कुरा पो पत्ता लगाए । विकासका योजनाभन्दा मन्त्रीहरूको बोली चर्चाको विषय बन्दो रहेछ । कसैले नक्साको कुरा गर्यो, कसैले सीमाको कुरा गर्यो, कसैले कर्मचारीलाई हप्कायो, कसैले ठेकेदारलाई धम्क्यायो । अस्तितिर डाँडाघरे चौतारोमा बसेर अस्ट्रेलियामा भाकी छोरीले पठाइदिएको हातेफोनमा मट्यांग्रोले मुहार पुस्तिकामा भिडियो हेर्दै थियो । हेर्दा हेर्दै एउटी मुइयाँले चिच्याएर बोलिन्, ‘मन्त्रीको आक्रोशः काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू ।’
मट्यांग्रोको चोरी औलाले पाँचपटकसम्म तलमाथि गर्दै हेर्यो । अनि मन्त्रीको महावाणी पनि सुन्यो । अनि एक्लै भतभताउन थाल्यो । ‘हे भगवान् ! मन्त्रीको बोली हो कि फिल्मको खलनायकको संवाद हो ?’ त्यत्तिकैमा चौतारीमा बैरी आइपुग्यो र भन्यो, ‘के भयो मट्यांग्रो ? तीनछक्क परेका छन् त ?’ ‘देश विकास हुँदै छ कि भोजपुरी फिल्मको सुटिङ भइरहेको छ छुट्याउन गाह्रो भो के मलाई,’ मट्यांग्रोले उत्तर दियो । ‘किन ?,’ बैरीले सोध्यो ? ‘यहाँ हेर न । मन्त्रीज्यूले काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू भन्नुभएछ ।’ बैरी हाँस्यो ।

‘तेरो हाँसोले मेरो दिमागमा एउटा कुरा आयो, अहिले भटाभट मन्त्रालयको नाम परिवर्तन भएको छ क्यार, एउटा नयाँ नाम थप्न लगाउनुपर्यो,’ मट्यांग्रोले भन्यो । ‘कुन मन्त्राललय ? अनि किन ?’ ‘कुन हुनु नि ! भौतिक पूर्वाधार मन्त्रालयको नाम परिवर्तन गरी जेन-जी पुस्ताको सपना साकार गर्दै सो मन्त्रालयको नाम, अर्थोपेडिक मन्त्रालय राख्नुपर्छ ।’ दुवै पेट मिचिमिची हाँस्न थाले । मट्यांग्रो केही दिनपछि सिंहदरबार पुगेको थियो । जीवनमा पहिलोपटक यति ठूलो सरकारी भवन छिर्न पाउँदा ऊ दंग परेको थियो । भित्र छिरेपछि उसले सोध्यो, ‘सर, नयाँ संसद् भवन कहिले बन्छ ?’ सुरक्षाकर्मीले लामो सास फेर्यो । ‘ठेकेदारले काम गरिरहेको छ ।’
‘कति वर्षदेखि ?,’ मट्यांग्रोले सोधे । ‘त्यो त मलाई पनि थाहा छैन ।’ बनेको बन्यै छ तर के बनेको छ पत्तै छैन । ‘ए ! त्यसो भए यी ठेकेदारको पनि खैरात ठीक छैन ।’ सुरक्षाकर्मीले सोधे, ‘किन ?’ ‘मन्त्रीले खुट्टा भाँचिदिने भनेका छन् नि ?,’ मट्यांग्रो भन्यो, ‘त्यही भएर अहिले ठेकेदारहरू हड्डी बलियो बनाउने अभियानमा लागेका रहेछन् त ।’ ‘कस्तो अभियान ?,’ मट्यांग्रोले सोध्यो । ‘क्याल्सियम ट्याब्लेट, माछाको तेल, भिटामिन डी, घाम ताप्ने योग, दूध खाने कार्यक्रम,’ सुरक्षाकर्मीले उत्तर दिए । मट्यांग्रो झस्कियो, ‘काम नगरी हड्डी बनाउँदै छन् ?’ ‘हो नि ! पहिले शरीर बचाउनुपर्यो नि ।’
सिंहदरबारबाट फर्किएपछि मट्यांग्रोले एउटा युट्युबमा ठेकेदार संघको आपत्कालीन बैठकको समाचार हेर्दै थियो । होचो कदको त्यो युट्युबमा बोल्दै थियो । ‘हेर्नुस्, यस्तो भयो चमत्कार, बालेन सरकारका पालामा चमत्कारै चमत्कार । पुल, बाटो बनाउने ठेकेदारहरु पुल बनाउनेभन्दा पनि हड्डी बलियो बनाउनेतर्फ लागे ।’ वैठकको प्रत्यक्ष प्रसारण भइरहेको थियो । बैठकका एक सदस्य उठे अनि भने, ‘मैले त दैनिक दुई लिटर दूध खान थालेको छु ।’ अर्कोले भन्यो, ‘म त बिहान बेलुका क्याल्सियम चपाइरहेको छु ।’ तेस्रोले भन्यो, ‘मैले त भारतबाट विशेष हड्डी बलियो बनाउने औषधि मगाएको छु ।’ त्यसपछि पछाडिबाट आवाज आयो, ‘भारतबाट आएको आँप खाएर त हेर विषादीले गर्दा सब पक्का कोही हुँदैन कच्चा ।’
हलमा सन्नाटा छायो । अध्यक्षले टेबल ठोक्दै भने, ‘साथीहरू, आँप खान बन्द गरौं । अहिले मुख्य कुरा पुल होइन, खुट्टा बचाउनु हो ।’ मट्यांग्रोले सुनेपछि बैरीलाई फोन गर्यो, ‘ए बैरी, अब ठेकेदार संघले नयाँ नीति ल्याएछ ।’ ‘के नीति ?’ ‘काम समयमै सम्पन्न गर्ने होइन, हड्डी बलियो बनाउने ।’ मट्यांग्रो हाँस्दा हाँस्दा लड्नै लाग्यो । ‘देश विकासको नयाँ मोडल यही हो कि क्या हो ?’ केही समयपछि अर्को समाचार आयो । ‘टेकुको पुल अझै पूरा भएन । बागबजारको कल्भर्ट पनि पूरा भएन । चैतमा सकिएको म्याद थपिएको थपियै । बागबजार जानेहरु सावधान ! टुकुचामा पौडी खेलिएला !’ मट्यांग्रोले भन्यो, ‘अब पुल नबनाउने ठेकेदारको खुट्टा भाँच्ने हो भने कल्भर्ट नबनाउनेको के गर्ने ?’ बैरीले जवाफ दियो, ‘करङ भाँच्ने ।’ ‘सडक नबनाउनेको ? ढाड भाँच्ने ।’ ‘अनि संसद् भवन नबनाउनेको ?,’ मट्यांग्रोले सोध्यो ।
बैरी एकछिन सोच्यो, ‘त्यो त खतरनाक विषय हो । त्यसको सजायबारे बोल्दा पनि डर लाग्छ ।’ देशमा विकासको बहस हराउँदै गयो । कुन मन्त्रीले के भने ? कसलाई धम्की दिए ? कसलाई चेतावनी दिए ? जनताले विकासको प्रगतिभन्दा मन्त्रीको संवाद कण्ठ गर्नु पर्ने भो । मट्यांग्रोले एकदिन गम्भीर प्रश्न गर्यो । ‘बैरी, मन्त्री भनेको के हो ?,’ उसले भन्यो, ‘जनताको सेवक ।’ ‘अनि डन भनेको नि ?’ ‘अरूलाई तर्साएर काम गराउने ।’ ‘त्यसो भए अहिले जनताले किन छुट्याउन नसकेको ?,’ मट्यांग्रो सोध्यो । ‘किनकि, विकासको भाषा हराएर धम्कीको भाषा आयो ।’
उता ठेकेदारहरू पनि कम थिएनन् । १० वर्ष लाग्ने काम २० वर्षसम्म तन्काउने कला उनीहरूमा थियो । दुई वर्षमा बन्ने पुल आठ वर्षसम्म अधुरो राख्ने प्रतिभा उनीहरूमा थियो । जनताले दुःख पाएका थिए । त्यसैले मन्त्रीको रिसमा केही जनताले ताली पनि बजाए ।तर मट्यांग्रोले भन्यो, ‘रिस गर्नु ठीक हो ?’ ‘अनि ?’ ‘कानुन छोडेर खुट्टा भाँच्ने कुरा गर्नु ठीक होइन ।’ ‘किन ?’ ‘किनभने राज्य कानुनले चल्छ, रिसले होइन ।’ त्यसपछि मट्यांग्रोले कल्पना गर्यो । यदि सबै मन्त्रालयले यस्तै शैली अपनाए भने ? शिक्षामन्त्रीले भन्न सक्छन्- होमवर्क नगर्ने विद्यार्थीको कान काटिदिनू ! स्वास्थ्यमन्त्रीले भन्न सक्छन्- औषधि नखाने बिरामीलाई सलाइनले बाँधिदिनू । कृषिमन्त्रीले भन्न सक्छन्- मल नहाल्ने किसानलाई खेतमै उभ्याइदिनू ।
अर्थमन्त्रीले भन्न सक्छन्- कर नतिर्ने व्यापारीको गोजी सिलाइदिनू । गृहमन्त्रीले भन्न सक्छन्- हेल्मेट नलगाउनेको मोटरसाइकललाई जेल हालिदिनू । बैरीसँग बात गर्दागर्दै बाटोमा एक पत्रकारले मट्यांग्रोलाई सोध्यो, ‘सरकारको काम कस्तो लाग्यो ?’ मट्यांग्रोले भन्यो, ‘काम कस्तो भयो थाहा छैन ।’ ‘किन ?’ ‘किनकि कामभन्दा बोली धेरै सुनियो ।’ ‘मट्यांग्रो, समस्या मन्त्रीको बोलीमामात्र होइन, ठेकेदारको काममा पनि छ ।’ ‘त्यो त हो ।’
तर देश कानुनले चल्नुपर्छ । ठेकेदारले काम नगरे कारबाही गर । कालोसूचीमा राख । जरिवाना गर । सम्पत्ति जफत गर । खुट्टा भाँच्ने काम नगर । खुट्टा भाँच्ने कुरा राज्यको भाषा होइन । जनताले मन्त्रीलाई डन बनाउन होइन, देश बनाउन चुनेका हुन् । पुल बनोस्, सडक बनोस्, संसद् भवन बनोस्, अस्पताल बनोस् । मट्यांग्रोको कुरा सुनेर चमत्कार भन्दै फलाक्ने पत्रकार हेरेको हेर्यै !