बानेश्वरको छक्कुबक्कु छेउमा रहेको गोपाल दाइको चिया पसल बिहानदेखि नै भरिभराउ थियो । गोपाल दाइको पसलमा चिया अनि तात्तातो दुनोट खाने पारखीहरु झुरुप्पै थिए । कोही चिया खाँदै थिए, कोही मोबाइलमा फेसबुक चलाउँदै थिए, कोही देश बनाउने जिम्मा सरकारलाई दिएर चुरोट सल्काउँदै थिए ।
मट्याङ्ग्रो पनि चिया दुनोटको पारखी खल्तीमा पैसा भएपछि गोपाल दाइको पसलमा पुगि हाल्छ । सोमबार बिहान पनि भेँडा भाको नोट बोकेर मट्याङ्ग्रो पसलभित्र छिर्यो । ‘गोपाल दाइ ! एउटा चिनी कडा चिया बनाइहाल्नुस् त अनि तात्तातो दुनोट । आज देशकै हालत कडा छ !’ गोपाल दाइले चिया बसाउँदै भने, ‘के भयो फेरि ? ग्यासको भाउ बढ्यो कि दुईतिहाइको सरकारमा पनि संकट आइलाग्यो ?’
मट्यांग्रोले कुर्सी तानेर बस्दै भन्यो, त्योभन्दा ठूलो कुरा भयो । मन्त्रीज्यूलाई चिसोले रुघा लागे छ ! हेलिकप्टरबाटै उद्धार गर्नु परेछ अनि !’ बैरी पनि त्यहीँ चिया खाँदै थियो । उसले चियाको कप मुडाको तल राख्यो । रुघा त मलाई पनि लागेको थियो । ‘कसैले हेलिकप्टर पठाएन त !’ मट्याङ्ग्रोलाई व्यंग्य गर्यो । गएको फागुन २१ गतेको चुनाउपछि बैरी र मट्याङ्ग्रो राम्रोसँग खुलेका छैनन् । अनि छेडछाड गर्न पनि छाडेका छैनन् । मट्याङ्ग्रोले यसो घुर्दै भन्यो, ‘तँ मन्त्री होस् त पहिला !’
गोपाल दाइ हाँसे । ‘रुघा लाग्दा मन्त्रीलाई हेलिकप्टर, जनताको मुटु नै फुट्न लागे पनि स्ट्रेचर छैन । कति फरक छ है नेता र जनतामा ।’ मट्याङ्ग्रोेले तुरुन्तै जवाफ दियो, ‘हुन्छ नि गोपाल दाइ ! ठूलो फरक हुन्छ । सर्वसाधारणलाई रुघा लाग्यो भने सिटामोल खोज्छ । मन्त्रीलाई रुघा लाग्यो भने हेलिकप्टर खोजिन्छ । यही त हो हिजोको लोकतन्त्रदेखि जेन-जी विद्रोहले ल्याएको अहिलेको भोगतन्त्रसम्मको उपलब्धि !’
पसलमा सबै हाँसे । मट्याङ्ग्रोे रोकिएन । ‘हामी सानोमा गीत गाउँथ्यौं- ‘गाउँमा कोही छैन...’ भनेर । अहिले गाउँमा गएर हेरेको त मान्छे नै मान्छे ! बूढाबूढी, किसान, महिला, बालबालिका, युवा सबै छन् । गाउँमा नभएको त उपचार गर्न राम्रो अस्पताल र बच्चा पढाउन निजी स्कूल पो हो त !’ बैरीले भन्यो, ‘त्यसो भए गाउँमा मान्छे नभएको होइन रहेछ ?’ ‘किन नहुनु नि ! छन् नि । कहाँ छन् भन्ने कुरा पो हो त ! संघीयतामा मान्छे बस्ने भनेकै आफ्नो ठाउँमा त हो ।’
गोपाल दाइले चिया दिँदै सोधे, ‘अनि मन्त्रीज्यू हेलिकप्टरमा चढेको कुरामा यत्रो हल्ला किन ?’मट्याङ्ग्रोे देब्रे हातमा लिएको दुनोट टोकेर दाहिने हातको चियाको गिलासबाट चिया सुरुप्प पियो । ‘यही सामाजिक सञ्जालका झोलेहरू ! मन्त्री हेलिकप्टर चढेको पनि देख्न नसक्ने । अरे, युवा मन्त्री हुन् । त्यत्रो ठूलो रुघा लागेपछि हेलिकप्टर नचढेर स्ट्रेचर चढ्छन् त ?’ बैरीले तुरुन्तै भन्यो, ‘तर गाउँको सुत्केरी महिला उपचार नपाएर मर्नुपर्दा ?’
मट्यांग्रो एकछिन चुप भयो । ‘भिरबाट खसेको मान्छेले अस्पताल पुग्न नसक्दा ? सिटामोल नपाएर बिरामीले दुःख पाउँदा ?’ मट्याङ्ग्रोेले कप टेबलमा राख्यो । ‘गोपाल दाइ, यो बैरीले आज मेरो राजनीतिक दर्शन नै बिगार्ने भयो !’ गोपाल दाइ हाँस्दै बोले, ‘दर्शन होइन मट्याङ्ग्रोे प्रश्न हो ।’ मट्यांग्रोले गम्भीर हुँदै भन्यो, ‘ठीक छ । मन्त्रीलाई उपचार चाहिन्छ । हेलिकप्टर चाहिन्छ भने चढून् । तर जनतालाईचाहिँ उपचार नपुग्ने, अस्पताल नहुने, एम्बुलेन्स नपुग्ने अनि सरकारको हेलिकप्टरचाहिँ आकाशमा उड्ने । यो प्रश्नचाहिँ जनताले सोध्न पाउनुपर्दछ ।’
त्यत्तिकैमा मोबाइल चलाइरहेको एक युवकले भन्यो, ‘मट्याङ्ग्रोे दाइ, सामाजिक सञ्जालमा मन्त्रीको हेलिकप्टरको फोटो राखेर आलोचना गर्नेहरूलाई पनि गाली गरिएको छ नि ! हेर्नुहुन्छ ?’ ‘सरकारलाई प्रश्न गर्यो भने झोले, पत्रकारले प्रश्न गर्यो भने विरोधी, सामाजिक सञ्जालमा लेख्यो भने देशद्रोही ! अनि सरकारले जे गर्यो त्यही सही ?’ गोपाल दाइले मुस्कुराउँदै भने, ‘त्यसो भए लोकतन्त्रमा जनताले के गर्ने ? जेन-जीको नाममा देश खरानी भएको एक वर्ष पुग्दै छ । दिन नजिकिँदै छ । तर त्यही बलमा बनेको सरकार मौन छ ।’
बैरीेले औंला उठाउँदै भन्यो, ‘प्रश्न गर्ने ! गुनासो गर्ने ! हिसाब माग्ने ! गाउँ जाने ! दुई-चार जनाको खुट्टा भाँच्न होइन, व्यवस्थाको खुट्टा कहाँ भाँचिएको छ भनेर हेर्ने !’ बैरीले भन्यो, ‘मन्त्री भइसकेपछि दुई-चार जनाको गालामा मालिस गर्यो, दुई-चार जनालाई हप्कायो, फोटो खिचायो अनि आफूलाई जनताको मसीहा सम्झिने होइन । गाउँमा गएर सुत्केरीले उपचार पाइन् कि पाइनन्, बच्चाले पढ्न पाए कि पाएनन्, किसानले मल पाए कि पाएनन् त्यो हेर्नुपर्छ ।’ गोपाल दाइले सोधे, ‘तर जनताले पनि त चुनावमा सोचेर भोट हाल्नुपर्यो नि ?’
मट्याङ्ग्रोेले पुर्पुरोमा हात राख्यो । ‘त्यही त सबैभन्दा ठूलो दुःख हो दाइ ! जनता चुपचाप ड्यामड्याम, सुझबुझ नगरी, मान्छे नै नचिनी हिजो घण्टीमा छाप हाने । अनि अहिले आएर सरकारले काम गरेन भनेर हुन्छ ?’ मट्याङ्ग्रोे भन्यो, ‘काम त भइरहेको छ नि ! चार महिनामा नै चार वर्षको काम हुन्छ त ? चित्त नबुझे बोट फिर्ता लैजानुस् भनेर गृहमन्त्रीले भनिसके त !’ गोपाल दाइले हाँस्दै भने, ‘तर नेताहरूको हैसियत पनि त हुन्छ नि !’
मट्याङ्ग्रोे फेरि जोसियो । ‘हैसियत हुनुपर्छ नि !’ उसले थप्यो, ‘सयौं तोला सुन भएको युवा मन्त्री बनेपछि रुघा लाग्दा हेलिकप्टर चढ्ला । दिशा लाग्दा पनि हेलिकप्टर चढ्ला । रिस गरेर हुन्छ ?’ बैरीले सोध्यो, ‘अनि गरिब जनता नि ? भोट बैंक बनेका सुकुमबासी, अनि अहिले ग्यासको लाइनमा रोएर बसेका नागरिकहरु नि ?’ मट्याङ्ग्रा अलि गम्भीर बन्यो । मलिन स्वरमा भन्यो, ‘जसको जति भाग्य हुन्छ, त्यसले त्यति नै पाउने हो !’
गोपाल दाइले भने, ‘यो वाक्यचाहिँ अलि खतरनाक भयो ।’ मट्याङ्ग्रोेले हाँस्दै भन्यो, ‘व्यंग्य हो दाइ ! यही त हाम्रो राज्यको वास्तविक व्यंग्य हो ।’ ‘कहिलेकाहीँ नचाहेर पनि समर्थन गर्नुपर्ने रैछ । कसैलाई रुघा लाग्दा हेलिकप्टर तयार हुन्छ, कसैलाई सुत्केरी व्यथा लाग्दा स्ट्रेचर खोज्दै गाउँ डुल्नुपर्छ । पदमा भएकालाई सामान्य चोट लाग्दा विशेषज्ञ विदेशी अस्पताल, जनतालाई गम्भीर चोट लाग्दा स्वास्थ्य चौकीमै भगवान् भरोसा !’ गोपाल दाइले चियाको गिलास अगाडि सार्दै भने, ‘ल, अर्को चिया खा । आज त तेरो व्यंग्य अलि गम्भीर भयो । यो चियाचाहिँ मेरो तर्फबाट अनुदान !’
मट्याङग्रोले चिया उठायो । ‘गम्भीर नहुने हो भने हाम्रो व्यंग्य पनि हेलिकप्टरजस्तै हुन्छ, माथिबाट उड्छ, तलको दुःख देख्दैन ।’ मट्याङ्ग्रोले बैरीलाई भन्यो, ‘तर मन्त्रीको हेलिकप्टरप्रति तेरो रिसचाहिँ अझै छ ।’ बैरीले हाँस्दै भन्यो, ‘रिस छैन यार ! सके आफू पनि चढ्नु ! नसके घरभित्र मर्नु ! समस्या हेलिकप्टर चढ्नु होइन । समस्या के हो भने, कसैका लागि हेलिकप्टर तुरुन्तै आउँछ, कसैका लागि एम्बुलेन्स पनि आउँदैन भन्नेमात्र हो ।’ गोपाल दाइले टेबल ठटाउँदै भने, ‘वाह ! यही हो कुरा !’ बैरीले उठ्दै भन्यो, ‘अब म जान्छु । बबरमहलमा गएर लाइन बस्नु छ । आज ग्यास बाँड्ने रुटिन छ ।’
मट्याङ्ग्रोले सोध्यो, ‘केमा जाने ?’‘बसमा,’ बैरीले सहज उत्तर दियो । ‘हेलिकप्टरमा होइन ?,’ मट्याङ्ग्रो हाँस्यो । बैरीले फेरि झट्का हान्यो, ‘त्यो हेलिकप्टर तेरो मन्त्रीका लागि छोडिदे । हामी त जनता । ग्यासको लाइन, बसको लाइन, अस्पतालको लाइन, पासपोर्टमा लाइन, जहाँ लाइन हुन्छ, त्यहीँ हाम्रो लोकतन्त्र भेटिन्छ !’ गोपाल दाइ टेबुलको गिलास उठाउँदै बोले, ‘जय होस् युवा पुस्ताको ! जय होस् युवा सरकारको ! अनि सबैभन्दा ठूलो जय होस् । चुपचाप ग्यासको लाइनमा बसेर पनि कर तिर्ने नेपाली जनताको !’