यी मन्दिरका देवदेवीसँग आफ्नो कामका लागि भाकल गर्दा सो भाकल पुग्ने जनविश्वास पनि कायमै छ । समुद्र सतहदेखि करिब १२०० मिटरको उचाईमा अति नै स्वच्छ र रमणीय वातावरण भएको हुँदा जो कोहीलाई पनि यस ठाउँले लोभ्याउँछ । मन्दिरको वरपर विभिन्न प्रकारका रुख तथा सल्ला सुसाउँदा एक प्रकारको संगीतमय वातावरण सृजना हुन्छ । यसैगरी ऋतुअनुसारका फलफूल फल्ने, फूल फुल्ने र केही माथि कालिकादेवी डामडाँडा वरपर फागुन महिनामा फुल्ने गुराँसले त झन मनै लोभ्याउने वातावरण बन्छ ।
- इतिहास, आस्था र संरक्षणको पर्खाइ
ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका-६ मा अवस्थित दुईवटा मन्दिरको संक्षिप्त इतिहास र हालको अवस्था यो लेखमा समावेश गरेको छु । एकै ठाउँमा स्थापित यी दुई मन्दिरको महत्व, जनश्रुति, मन्दिरप्रतिको श्रद्धाभाव र जनविश्वास, यसको संरक्षणमा गरिँदै आएका प्रयासहरु र आगामी दिनमा यसको संरक्षण तथा प्रवद्र्धनमा गर्नुपर्ने कामहरु यहाँ प्रस्तुत गरेको छु । कुनै पनि मठमन्दिरको आफ्नै महत्व रहन्छ । पुर्खाहरुले स्थापना गरेका मठमन्दिरको संरक्षण गर्ने जिम्मेवारी हामी सबैको हो भन्ने सन्देश सरोकारवाला सबैमाझ पु¥याउने उद्देश्य लेखको रहेको छ ।
संक्षिप्त इतिहास
जालपादेवी मन्दिर
कोशी प्रदेशअन्तर्गत ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका-६ (साविकको पूmलबारी गाउँपालिका-६) जल्किनीमा बसोबास गर्ने घिमिरे वंशका नवौं पुस्ताका जयनारायण घिमिरेका तीन भाइ छोरा (प्रतिमान घिमिरे, षडानन्द घिमिरे र भक्तिविलास घिमिरे) थिए । जनश्रुतिअनुसार प्रतिमान र षडानन्दलाई बेलाबेलामा काम्ने वा लामो समयसम्म शरीरमा देउता चढेजस्तो भएको महसुस हुँदो रहेछ ।
यसरी बेलाबेलामा शरीर काम्ने भएको हँुदा सिमेभूमे वा अन्य देवदेवीको पूजा गर्दासमेत निको नभएपछि जान्ने धामीको खोजी भएछ । धामी खोज्दै जाँदा ओखलढुंगा जिल्लाको लेक, खिजी कात्तिकेतिरका सुनार जातिका धामी बोलाएर पूजापाठ गरी देवी स्थापना गरी देवीको नाम ‘जालपा’ राखी यस मन्दिरको स्थापना भएको पाइन्छ । यसरी धामीले विधिपूर्वक पूजापाठ गरी देवी स्थापना भएपछि शरीर काम्न रोकिएको बताइन्छ ।
देवीको शक्तिअनुसार १०औं पुस्ताका प्रतिमान, ११औं पुस्ताका नारायणप्रसाद, लिलानाथ, भवनाथ घिमिरेलगायतबाट गाउँघरका मानिस वा पशुहरूमा बेचैनी भएमा झारफुक वा भूत पे्रत पन्छाउने चलनसमेत रहेको पाइन्छ । यस मन्दिरलाई स्थापना गरी धार्मिक आस्था राख्ने प्रतिमानले जल्किनीमा आफ्नै घरमा धार्मिक कार्यलाई निरन्तरता दिएका थिए । उनको घरमा बेलाबेलामा भजनकीर्तन, नाचगान हुने गर्दथ्यो ।
धार्मिक कार्यमा अग्रसर रहने प्रतिमानले टाढा टाढाबाट हिँडेर आवतजावत गर्ने बटुवाहरूका लागि आराम होस् भन्ने उद्देश्य राखी यसै जल्किनी गाउँको भालटाडमा वर-पीपल रोपेर चौतारासमेत निर्माण गरेका थिए । उनले रोपेका वर-पीपल एकआपसमा अग्लो भई त्यस ठाउँको शोभा बढाउनुका साथै वातावरणीय पर्यावरणमा ठूलो टेवा पुगेको छ । साथै, उक्त ठाउँमा पहिरोको रोकथामका लागि पनि वर-पीपलको रुखले महत्वपूर्ण टेवा पुगेको पाइन्छ ।
प्रतिमान घिमिरे धार्मिक कार्यमामात्र सीमित रहेको भन्न मिल्दैन । उनी काष्ठकलामा वास्तुकला मिलाई विभिन्न किसिमका स्थानीयस्तरमा प्रयोग हुने घरायसी फर्निचर बनाउने कामसमेत गर्थे । स्वच्छ पानी पिउन सजिलो होस् भन्ने उद्देश्य राखी उनले काठको धारालाई कलात्मक बुट्टा भरी निर्माण गरेको धारा ठाउँ-ठाउँमा राखिएको थियो ।
त्यसैगरी यो मन्दिरका जानकार देवीबहादुर खत्री घिमिरेको भनाइ तथा जनश्रुतिअनुसार करिब ७५ वर्ष अगाडि (वि.सं. २००८) तिर मन्दिर स्थापना भएको अनुमान छ । अहिले यो मन्दिर स्थापनापश्चात् चार पुस्तामा कायम रहेको छ ।
सुकुमालादेवी मन्दिर
चम्पादेवी गाउँपालिका-६ जल्किनीमा बसोबास गर्ने घिमिरे खत्री वंशका नवौं पुस्ताका पे्रमबहादुर खत्री घिमिरेका चार भाइ छोरामध्ये देवीबहादुर खत्री घिमिरेलाई बेलाबेलामा काम्ने वा लामो समयसम्म शरीरमा देउता चढेजस्तो महसुस भएको हुँदा सिमेभूमे वा अन्य देवदेवीको पूजा गर्दासमेत निको नभएपछि जान्ने धामीको खोजी गर्दै जाँदा यसै ओखलढुंगा जिल्लाको फेदीखोलाका कार्की थरका धामी बोलाएर पूजापाठ गरी देवी स्थापना गरेर मन्दिरको नाम सुकुमालादेवी राखिएको पाइन्छ । यसरी धामीले विधिपूर्वक पूजापाठ गरी देवी स्थापना भएपछि काम्ने भएन भनिन्छ ।
जनश्रुतिअनुसार यी मन्दिरमा भाकल गर्दा आपूmले चिताएको पुग्ने पनि जनविश्वास रहेको छ । यो मन्दिर निर्माण तथा संरक्षक वा जानकार स्वयं देवी बहादुरखत्री घिमिरेको भनाइ तथा जनश्रुतिअनुसार करिब ५० वर्ष अगाडि (वि.सं. २०३३) तिर स्थापना भएको अनुमान छ । अहिले यो मन्दिर स्थापनापश्चात् तीन पुस्तामा कायम रहेको छ ।
मन्दिर स्थापना भएको स्थान
जालपा र सुकुमालादेवीका मन्दिर एकै ठाउँमा रहेका छन् । तर मन्दिरलाई छुट्टाछुट्टै तरिकाले ढुंगाको गारो लगाएर संरक्षण गरिएको पाइन्छ । यी मन्दिर दुईवटा खोल्सीको संगमस्थानको बीचमा खुला ठाउँको रमणीय वातावरण भएको ठाउँमा स्थापना गरिएको छ । गाउँपालिकाको केही रकम र जनश्रमदानबाट जालपा र सुकुमालादेवीको मन्दिरमा केही वर्ष अगाडिमात्र पर्खालले घेराबारा गरिएको छ । बजेट कम भएको हुँदा मन्दिरलाई उचित तरिकाले निर्माण गर्न सकिएको छैन । यी मन्दिरलाई निर्माण गर्न गाउँपालिकाका बजेटका लागि माग गरिएको छ ।
मन्दिरमा पूजापाठ गर्ने प्रथा
जालपा र सुकुमालादेवी मन्दिरमा नियमितरूपमा पूजापाठ गर्ने समय, तिथि, मिति तोकिएको छैन । यद्यपि, बेलाबेलामा पूजापाठ गर्ने चलन कायमै छ । यी मन्दिरमा बलि दिने चलन छैन । दूध-घिउजन्य पदार्थबाट पूजा गरिन्छ । महिनावारी भएका महिला त्यस समयमा उक्त मन्दिर जान मिल्दैन भन्ने परम्परा कायमै रहेको पाइन्छ ।
मन्दिरमा कसरी पुग्ने ?
संघीय राजधानी काठमाडौंबाट यो मन्दिरमा जान अरनिको यातायातको बसमामार्फत काठमाडौबाट सीधै घोराखोरीमा पुगिन्छ । बसबाट ओर्लेपछि करिब ४० मिनेट पैदल हिँडेर मन्दिरमा पुग्न सकिन्छ ।
मन्दिरमा जान अझै सहज बन्दै
अहिले चम्पादेवी गाउँपालिकास्थित नवलपुरघाट-सिल्खुवेसी-जल्केनी-घोराखोरी जोड्ने सडक विस्तार हुँदै छ । उक्त सडक निर्माणपश्चात् त्यहाँबाट चल्ने सवारीसाधनबाट जल्केनीमा ओर्लेपछि सहजैसँग मन्दिरमा पुग्न सकिने छ । जल्किनीको जुनसुकै ठाउँबाट मन्दिरमा १५ मिनेटमा पुग्न सकिन्छ ।
प्रचारप्रसार तथा जनविश्वास कायम गर्ने
यस पवित्र ठाउँका पुर्खाहरुले स्थापना गरेका जालपा र सुकुमालादेवीको बारेमा व्यापक प्रचारप्रसार गर्न आवश्यक देखिन्छ । यस मन्दिरको बारेमा प्रचारप्रसार गरी धार्मिक भक्तजनहरूसमक्ष जानकारी पु¥याउन सकेमा भविष्यमा भक्तजनहरूको आगमन बढ्ने अनुमान गर्न सकिन्छ ।
यहाँ अवस्थित मन्दिरका देवदेवीसँग आफ्नो कामका लागि भाकल गर्दा सो भाकल पुग्ने जनविश्वास पनि कायमै छ । समुद्र सतहदेखि करिब १२०० मिटरको उचाईमा अति नै स्वच्छ र रमणीय वातावरण भएको हुँदा जो कोहीलाई पनि यस ठाउँले लोभ्याउँछ । मन्दिरको वरपर विभिन्न प्रकारका रुख तथा सल्ला सुसाउँदा एक प्रकारको संगीतमय वातावरण सृजना हुन्छ । यसैगरी ऋतुअनुसारका फलफूल फल्ने, फूल फुल्ने र केही माथि कालिकादेवी डामडाँडा वरपर फागुन महिनामा फुल्ने गुराँसले त झन मनै लोभ्याउने वातावरण बन्छ ।
यी पवित्र मन्दिरलाई आधुनिक संरचना निर्माण गरेर संरक्षण तथा प्रवद्र्धन गर्नुपर्ने देखिन्छ । विगतमा स्थानीय तहबाट मन्दिर निर्माणका लागि छुट्याएको बजेटले निर्माण सम्पन्न हुन सकेन । त्यसैले स्थानीय तहसँग बजेट माग गरेर बाँकी निर्माण कार्यका लागि पहल गर्नुपर्ने देखिन्छ । यस्ता मन्दिरको संरक्षण गर्ने दायित्व गाउँपालिकाको पनि भएको हुँदा स्थानीय जनप्रतिधिहरुको ध्यान यसतर्फ जानु आवश्यक छ ।