शक्ति र सत्ता भएर पनि एक्लो ! हुनै सक्दैन । भर्खरै जन्मिएकी छोरी र श्रीमती छन् । आफूलाई चाहिएकाजति सल्लाहकार छन् । जे गरे पनि, जे बोले पनि मुटु चोरेर लग्यौं भन्ने प्रशंसक छन् । तर पनि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले स्टाटस लेखे, ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन ।’
नेपालको राजनीति यति सजिलो भएको भए त्यो स्टाटस पढेर सबैले धैर्य गर्थे । तर यहाँ एउटा नेताले ‘म एक्लो छु’ भन्यो भने त्यसको अर्थ बुझ्न निकै कठिन हुन्छ । त्यसमाथि पनि प्रधानमन्त्रीजस्तो शक्तिशाली मानिसले एक्लै हिँड्ने कुरा गरेपछि अवस्था के पो भएको होला ? अर्धांगिनीले त पक्कै साथ दिनुपर्ने ! दिनन् कि कसो ? त्यसो भए पनि नआत्तिनु, त्यो त परालको आगो हो निभिहाल्छ । जे होस् उनका वरिपरि धेरै मानिस भए पनि मानसिकरूपमा एक्लो महसुस गरे छन् ।
उनी साधारण मान्छे होइनन् । युवा पुस्ताले रुचाएका नेता । पुरानो राजनीतिक शैलीलाई चुनौती दिने अनुहार । सामाजिक सञ्जालमा एउटा शब्द लेख्दा बहस चल्ने । त्यही लेखाइलाई नै आफूलाई ठूलो सञ्चारमाध्यम भन्नेहरुले ठूलै समाचार बनाउने । भर्खरै भेटेर आएजस्तै गरी लेख्ने ! एउटा भिडियो आएपछि समर्थक र विरोधी दुवै सक्रिय हुने । त्यसो भए प्रश्न उठ्छ- यत्रो शक्तिशाली, लोकप्रिय र चर्चित मान्छे कसरी एक्लो भए ? मट्याङ्ग्रो यही प्रश्नले रातभरि सुत्नै सकेन । विचरा ! बालेन दाइ, हाइहाइ भन्दै हिँडेको मान्छे । आफ्ना दाइ एक्लो भएँ भनेर राति स्टाटस लेखेपछि किन निद्रा लाग्थ्यो र ? हुन त दाजुले कहिल्यै भेटेका पनि होइनन् । उनी भेट्ने मान्छे पनि होइनन् । तर पनि उसको त्यो रात उसको दाइभन्दा पनि छटपटी भएर बिहानै साथी बैरीलाई भेट्न पुग्यो । र, भन्यो, ‘बैरी ! बालेन त एक्लो भएछन् त !’
मट्याङ्ग्रोको शब्द खस्न नपाउँदै बैरीले भन्यो, ‘किन बूढीले छाडिछ ?’ मट्याङ्ग्रो बोल्नै सकेन । केहीबेर चुप लाग्यो । बैरीले भन्यो, ‘राजनीतिमा वरिपरि दुई किसिमका मान्छे हुन्छन् । एउटा विचारमा विश्वास गर्ने, अर्को कुर्सीमा विश्वास गर्ने ।’ शक्तिशाली मान्छेको वरिपरि सत्य बोल्ने मानिसभन्दा प्रशंसा गर्ने मानिस बढ्दै गए भने त्यो शक्ति विस्तारै आफ्नै प्रतिध्वनिमा फस्छ । नेताले जे बोल्यो, सही । जे ग¥यो, सही । जे सोच्यो, दूरदर्शी । अनि कसैले प्रश्न ग¥यो भने, विरोधी !
हिजो शाही शासनकालमा पनि दरबार वरिपरि ‘सबै ठीक छ’ भन्नेहरूको कमी थिएन । राजा रिसाउलान् भनेर वास्तविकता लुकाउने, जनताको असन्तुष्टि कम देखाउने, विरोधलाई षडयन्त्र बताउने र आफ्नो स्वार्थअनुसार सूचना पु¥याउने संस्कार थियो । आज राजतन्त्र छैन । गणतन्त्र छ । तर छोटेराजाहरु टोलटोलमा छन् नि, त्यही भएर एक्लो महसुस गरेका होलान् ! मट्याङ्ग्रोको काम सुन्नेमात्र हुनेजस्तो भयो ।
बैरीले थप्दै गयो, ‘कुरा सुन । अब दरबार ठूलो भवनमामात्र हुँदैन । कहिलेकाहीँ पार्टी कार्यालय दरबार हुन्छ, कहिलेकाहीँ मन्त्रालय दरबार हुन्छ, कहिलेकाहीँ मेयरको कार्यालय दरबार हुन्छ, कहिलेकाहीँ त सामाजिक सञ्जालको टाइमलाइन नै दरबार बन्छ । अनि हरेक दरबारमा केही दरबारीय हुन्छन् । दरबारीयको काम सरल छ । राजालाई कहिल्यै गलत नदेखाउनु ।’ मट्याङ्ग्रोेले भन्यो, ‘त्यसो भए बालेनको वरिपरि पनि त्यस्तै स्यालहरू छन् होला ?’ बैरीले उत्तर दियो, ‘त्यो त उनका नाममा गरेका कामले नै प्रमाणित गर्छ नि । राजनीतिमा सत्ताको वरिपरि स्याल नभएको ठाउँ खोज्न गाह्रो छ साथी । स्यालको एउटा विशेषता हुन्छ । ऊ एक्लै कम हिँड्छ, समूहमा बढी हिँड्छ । तर समूहमा हिँड्दा पनि आफ्नो स्वार्थको हिसाब भने आफैं गर्छ । उ बेला र अहिलेका राजनीतिका स्यालहरू उस्तै हुन् ।’
‘खै के, खै के ! मैले त कुरै बुझिनँ । चुपचाप घण्टी छाप, बालेन आए सबै टाप भन्ठानेको !,’ मट्याङ्ग्रोले थप्यो । बैरी हाँस्यो र भन्यो, ‘सत्ता आयो भने नजिक । सत्ता गयो भने टाढा । टिकटको सम्भावना भयो भने आफ्नै । मन्त्री बन्ने सम्भावना भयो भने अझ आफ्नै । ठेक्काको कुरा आयो भने परिवारकै । यस्तो पो हुन्छ त ।’ हिजो जसलाई गाली गरिएको थियो, आज उसैसँग हात मिलाउन सकिन्छ । हिजो भ्रष्ट भनिएको व्यक्ति आज सहयात्री बन्न सक्छ । हिजो असम्भव भनिएको सम्झौता आज राष्ट्रिय आवश्यकता बन्न सक्छ । यसलाई भनिन्छ राजनीति । जनताले यसलाई अवसरवाद भन्छन् । नेताले यसलाई परिस्थितिजन्य निर्णय भन्छन् । शब्दको खेल यति राम्रो छ कि गल्ती पनि सिद्धान्तजस्तो सुनिन्छ । बालेनले भनेको पनि त्यस्तै हो बुझिस् !
मट्याङ्ग्रो ट्वाँ प¥यो । ‘सायद यो केवल भावनात्मक अभिव्यक्ति हो । वरिपरिका मानिसप्रति असन्तुष्टि होला । आफूले विश्वास गरेका मानिसबाट धोका पाएको अनुभूति पनि हुन सक्छ । अथवा शक्तिको केन्द्रमा पुगेपछि राजनीतिक एक्लोपन होला कि के हो ?,’ उसले फेरि सोध्यो । बैरीले सम्झाउने प्रयास गर्दै भन्यो, ‘लोकप्रियता र साथ फरक कुरा हुन् । सामाजिक सञ्जालमा हजारौं कमेन्ट आउँछ तर संकटमा को आउँछ ? फेसबुकमा ‘सपोर्ट बालेन’ लेख्नु सजिलो छ । तर कुनै कठिन निर्णयको जिम्मेवारी लिनु कठिन छ । ताली बजाउनु सजिलो छ । आलोचना सहनु कठिन । प्रशंसा गर्नु सजिलो छ । सत्य बोल्नु कठिन । त्यसैले कहिलेकाहीँ नेता हजारौं मानिसको बीचमा बसेर पनि एक्लो हुन्छ । सायद उनलाई त्यस्तै भयो ।’
मट्याङ्ग्रोेले सोध्यो, ‘तर सत्ता वरिपरि झुमेर नियुक्ति खाने खरानी ग्याङ त टन्नै भए त ?’ बैरीले हाँस्दै भन्यो, ‘हो त । सत्ता भनेको फूल हो । फूलको रस चुसिरहन माहुरी झुम्मिएजसरी झुम्छन् ! जब कुनै नेता लोकप्रिय हुन्छ, उ नै सर्वेसर्वा हो भनेर आउँछन् । पुराना सबै छाड्छन् । राजनीतिक मौसम बदलिएपछि ती फेरि अन्तै पुग्छन् । अहिले सबै उनै एक्लो भएका जस्तै ।’ ‘त्यसैले बालेनले साँच्चिकै एक्लोपन महसुस गरेका हुन् भने त्यो असम्भव कुरा होइन । तर एक्लोपनको उपचार सबैलाई हटाउनु होइन । कसलाई नजिक राख्ने र कसलाई टाढा राख्ने भन्ने छुट्याउनु हो । नेतालाई सबैभन्दा बढी चाहिने मानिस त्यो होइन जसले हरेक कुरामा ताली बजाउँछ । सबैभन्दा बढी चाहिने मानिस त्यो हो जसले गलत निर्णयमा ‘गलत’ भन्न सक्छ । तर के गर्नु पुरानालाई जस्तै नयाँलाई पनि तालीमात्र चाहिने भो ।’ मट्यांग्रोले फेरि भन्यो, ‘अनि जनता ?’
राजनीतिमा नेता एक्लो भए पनि जनता एक्लो हुँदैनन् । जनताको करले सरकार चल्छ । जनताको मतले नेता आउँछन् । जनताको प्रश्नले सरकारको हिसाब माग्छ । त्यसैले ‘म एक्लै लड्छु’ भन्ने भावना व्यक्तिगतरूपमा साहसपूर्ण भए पनि लोकतन्त्रमा नेता पूर्णतः एक्लो हुन सक्दैन । उसको माथि संविधान हुन्छ । उसको अगाडि जनता हुन्छन् । उसको छेउमा संस्था हुन्छन् । उसको निर्णयमाथि प्रश्न गर्ने अधिकार नागरिकसँग हुन्छ । एक्लै हिँड्नु व्यक्तिगत यात्रा हुन सक्छ । तर राज्य सञ्चालन सामूहिक जिम्मेवारी भएकाले एक्लै हिँड्न खोज्दा धोका हुन्छ । भएको त्यही हो । बैरीले बुझाउन खोज्यो ।
मट्याङ्ग्रो सोध्यो, ‘अब बालेनलाई के भन्नुपर्छ ?’
बैरीले भन्यो, ‘धैर्य गर्नू । उनले धैर्य गर भनेका छन् । स्वार्थी समूह वरपर टन्नै छन् । वरिपरि हेर्नू । ताली बजाउने को हो, सल्लाह दिने को हो, स्वार्थ खोज्ने को हो, सत्य बोल्ने को हो चिन्नू ।’ मट्याङ्ग्रोेले टाउको हल्लायो । अनि सोध्यो, ‘अनि यदि सबै स्याल नै भेटिए ?’ बैरीले हाँस्दै भन्यो, ‘त्यसो भए स्यालको बीचमा सिंह बनेर बस्नुभन्दा पहिले आफ्नो ऐना हेर्नू । कतै सिंहको दरबारमा स्याल जन्माउने वातावरण त बनेको छैन ? सिंह नै नभएको ठाउँको नाम सिंहदबार किन भनेर प्रश्न गरेजस्तै हो ।’यो प्रश्न गम्भीर थियो । प्रश्न गर्नेलाई दुश्मन ठान्ने नेता वरिपरि स्वार्थी बढाउँछ । सबै निर्णय आफूले मात्र गर्ने नेता वरिपरि ‘हो’ भन्नेहरूको भीड बनाउँछ । अनि एक दिन त्यही नेता मध्यरातमा लेख्छ, धैर्य गर, एक्लो लड्छु ।
सत्तामा पद हुन्छ, मित्रता हुँदैन । दरबारमा प्रशंसा हुन्छ, सत्य हुँदैन । राजनीतिमा नारा हुन्छ, आत्मा हुँदैन । त्यसैले बैरीले भन्यो, ‘चिन्ता नगर्नू । हिजो पनि तपाईं एक्लै हुनुहुन्थ्यो । बीचमामात्र माहुरीहरू झुम्मिएका हुन् । आज वरिपरि भीड छ । भोलि फेरि एक्लै हुन सकिन्छ ।’ ‘बा’ को ‘लेन’ समातिसकेका छौं । सत्ताको वरिपरि नेपोबेबीहरूलाई सम्हाल्न दिइसकेका छौं । अब जे हुन्छ, ठीकै हुन्छ । गीतामा भनिएको छ नि, हिजो जे थियो, ठीकै थियो । आज जे छ, ठीकै छ । भोलि जे हुने छ, त्यो पनि ठीकै होला । तिमी एक्लो भए तिम्रा कर्मले हुन्छ । कर्मअनुसारको फल प्राप्त हुन्छ ।
बैरीको कुरा सुनेर मट्याङ्ग्रो ट्वाँ !