काठमाडौं। लेखापढी व्यवसायी एसोसिएसन बागमती इकाई समितिको अध्यक्षमा रामकृष्ण बस्नेत निर्वाचित भएका छन्। शनिबार ललितपुरको डिलाइट पार्टी भेन्युमा भएको चौथो अधिवेशनबाट बस्नेत अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।
त्यसैगरी सचिवमा मदनकुमार लामा निर्विरोध निर्वाचित भएका छन्।
समितिको उपाध्यक्ष र सहसचिव चयनमा भने मतदान भएको थियो। उपाध्यक्षमा विनोद प्याकुरेलले ८० मत पाउँदै निर्वाचित हुँदा प्रतिद्वन्द्वी इन्द्र दाहालले १७ मत पाएका थिए।
सहसचिवमा ४३ मत पाउँदै बासुदेव चौलागाई सालिकराम निर्वाचित भएका छन्। उनको प्रतिस्पर्धी नरेन्द्र अर्याल र पूर्णवीर श्रेष्ठले ३९ र १५ मत पाए।
समितिको कोषाध्यक्षमा लक्ष्मण तिमल्सिना र सहकोषाध्यक्षमा पार्वतीकुमारी निरौला निर्विरोध निर्वाचित भए।
सदस्यहरुमा सबिना कपाली, विद्यासागर वाग्ले, डुकमान पुरी, ज्ञानेन्द्र कुमार श्रेष्ठ, सरोज अर्याल, मनिषा खत्री र विष्णुप्रसाद ढुंगेल निर्विरोध निर्वाचित भए।
कार्यक्रमको उद्घाटन समारोहमा सांसद डा तोसिमा कार्कीले लेखापढी व्यवसायीको हरेक कार्यालयमा महत्वपूर्ण भूमिका हुने बताएकी थिइन्। 'लेखापढी व्यवसायीले हरेक कार्यालयका संवेदनशील मानिने कागजपत्रमा महत्वपूर्ण भूमिकासहित काम गरेकै कारण सर्वोच्च अदालतलेसमेत रिकगनाइज गरेको छ,' प्रमुख अतिथिका रुपमा उपस्थित डा कार्कीले भनिन्।
कार्यक्रममा विशेष अतिथिका रुपमा बागमती प्रदेश सभाका सदस्य प्रेमभक्त महर्जन, लेखापढी व्यवसायी एसोसिएसनका केन्द्रीय अध्यक्ष सिताराम दाहाल, ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी नरहरि आचार्यलगायत उपस्थित थिए।