- संघ भन्छ- विभागको ज्यादतीकै कारण व्यवसाय बन्द गर्नुपर्ने अवस्था आयो
काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभागका कारण व्यवसाय बन्द गर्ने स्थिति आएको जनाएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलमा व्यवसायीलाई सहजीकरण गर्ने आश्वासन दिए पनि त्यसको केहीबेरमै विभागले कारबाहीको सूचना निकालेपछि व्यवसायीहरु थप रुष्ट भएका जनाइएको छ ।
‘मन्त्रीज्यूले व्यवसायीलाई गरेको कारबाही पुनरावलोकन गर्नका निम्ति विभागलाई भनेका छौं, पुनरावलोकन गरेर केही बेरमा सूचना आउँछ भने । हामी ढुक्क भएर निस्कियौं । त्यसको १५ मिनेटमा सूचना त आयो तर कारबाही गरिएको । त्यसबाट व्यवसायी झन् रुष्ट भए,’ संघका अध्यक्ष डिकबहादुर खत्रीले भने ।
विभागले मंगलबार ३९ वटा इजाजतपत्र प्राप्त संस्थालाई भारतीय विमानस्थल प्रयोग गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना गरिएको सूचना जारी गरेको छ । त्यस्तै, १२४ वटा संस्थाले विभागलाई श्रमिकको उडान विवरण नबुझाएको र गत असार २६ गते पुनः विवरण माग गर्दासमेत कुनै जवाफ नपठाएकाले ५० हजार रुपैयाँ जरिवाना किन नलिने ? भन्ने स्पष्टीकरण सात दिनभित्र बुझाउन निर्देशनसमेत दिएको छ । असार २६मै विभागले भारतीय विमानस्थलबाट श्रमिक पठाएको भन्दै ५९८ व्यवसायीलाई कारबाही गरेको थियो ।
विगतमा व्यवसायीका पनि समस्या बुझेर निर्णय गर्दै आएको विभाग पछिल्लो समय व्यवसायीमाथि ज्यादतिमा उत्रिएको संघका महासचिव हिराबहादुर डाँगीले बताए । विभागले मन्त्रालयको कुरा पनि नसुनेकाले चरणबद्ध आन्दोलनमा जान बाध्य भएको उनको भनाइ छ । ‘हामीलाई अरू ठाउँबाट असहयोग भएको छैन । तर विभागको ज्यादती असह्य भयो । विभागले मन्त्रालयको कुरा पनि नसुनेको देखियो । शुक्रबार पत्रकार सम्मेलन गरेर चरणबद्ध आन्दोलनमा जान्छौं,’ डाँगीले भने ।

के भन्छन् व्यवसायी ?
वैदेशिक रोजगार व्यवसायीहरुले वैदेशिक रोजगार विभागले पछिल्लो समय म्यानपावर कम्पनीहरुमाथि गरेको अनुगमन तथा कारबाहीका कारण काम गर्ने अवस्था नरहेको बताएका छन् । धेरैजसो व्यवसायीले केही समयअघि नै काम रोक्न सुझाव दिएको थियो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई गत साउन ८ गते १५ दिनको ‘अल्टिमेटम’ दिएको थियो । तर यसबीचमा विभागको व्यवहारमा कुनै सुधार नभएकाले आन्दोलनमा जाने भनिरहँदा व्यवसायीको भने आ-आफ्नै धारणा पाइएको छ । विभागले व्यवसायीलाई अपराधीसरह व्यवहार गरेकाले अब सहन नसक्ने व्यवसायी रविन कोइरालाले बताए । ‘विभागले हामीलाई अवराधि जस्तो बनाएको छ । हामीलाई अर्थतन्त्र धान्न योगदान पु¥याउने व्यवसायी भनेर कहिल्यै कदर गरिएन । अब सहन सक्ने अवस्था छैन,’ उनले भने ।
अर्का व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्षसमेत रहेका हरिबहादुर पाण्डेले भने संघले सम्बन्धित निकायमा समस्या नराखी आन्दोलनको घोषणा गरेर अपरिपक्व निर्णय गरेको बताए । ‘आन्दोलन समाधान होइन । विगतमा संघको नेतृत्वले सरकार प्रमुखसँग भेटेर पहल कदमी गथ्र्यो । अहिले सरकार प्रमुख र सरकार चलाउने पार्टीको अध्यक्षसँग संघले हाम्रो कुरा पु¥याएको छैन,’ उनले भने, ‘प्रधानमन्त्रीले सबै व्यवसायीसँग भेट गरिरहँदा वैदेशिक व्यवसायीसँग किन वार्ता भएन ?’
संघको आह्वान नमानेर काम बन्द नगरेको अवस्थामा अर्कै परिणाम आउनेतर्फ पनि संघ सचेत हुनपर्ने पाण्डेको सुझाव छ । ‘आन्दोलनमा सबै व्यवसायीले साथ दिन्छन् भन्ने छैन । अहिले बल्ल व्यवसायीले भिसा ल्याइरहेका छन् । चाडबाड नजिकिँदै छ,’ उनले भने, ‘आज श्रम स्वीकृति, टिकट सबै घरबाटै लिन मिल्छ । अफिस खोल्नै पर्दैन । व्यवसायीले भित्रभित्रै काम गरेर आन्दोलन असफल भयो भने व्यवसायीलाई राज्यले गर्ने व्यवहार कस्तो हुन्छ ?’
व्यवसायी सोमबहादुर तामाङले भने सरकारले अप्ठ्यारो बनाएकाले व्यवसाय बन्द गर्नुको विकल्प नभएको बताए । ‘व्यवसाय बन्द गर्नैपर्छ । विगतदेखिकै नीति नियमका कारण अप्ठ्यारो भएको हो,’ उनले भने, ‘तर अहिलेको सरकारले अक्षरशः पालना गर्ने नाममा हामीलाई समस्यामा पा¥यो । व्यवसाय नै गर्न नसक्ने नीति नियम कसरी पालना गर्ने ?’