काठमाडौं- ‘शून्य समय’ घोषणा गर्दै आन्दोलनमा उत्रिएका वैदेशिक रोजगार व्यवसायीहरुले आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्ने भएका छन् । व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा प्रदर्शन गर्न लागिएको हो ।
संघले शुक्रबार पत्रकार सम्मेलन गरी वैदेशिक रोजगारीमा ‘शून्य समय’ घोषणा गरेको थियो । सरकारसमक्ष नीतिगत सुधारको माग राख्दै संघले शून्य समयमा वैदेशिक रोजगारीमा श्रमिक पठाउने काम बन्द गर्ने जनाएको छ । सरकारले नीतिगत सुधार नगरेसम्म श्रमिक नपठाउने अडान संघको छ ।
आफ्नो संघर्षका कार्यक्रमको पहिलो दिन संघले तहाचलस्थित विभागमा आज शान्तिपूर्ण प्रदर्शन गर्ने जनाएको छ । संघले वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित समसामयिक विषय, म्यानपावरसँग सम्बन्धित पछिल्ला घटनाक्रम, यस क्षेत्रका गलत क्रियाकलापका साथै श्रमिक तथा व्यवसायीका हकहित नीतिगत सुधारका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन लागिएको जनाएको छ ।
हामी हरेक दिन संघर्षका कार्यक्रम गर्छौं । सोमबार विभागमा शान्तिपूर्ण ढंगले ‘प्ले कार्ड’मात्र देखाएर विरोध गर्छाैं । ज्ञापनपत्र पनि बुझाउँछौं ।
महेशकुमार बस्नेत
प्रथम उपाध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ
संघले वैदेशिक रोजगार विभागले विभिन्न समयमा गरी ७५० भन्दा बढी म्यानपावर कम्पनीलाई गरेको कारबाही फिर्ता हुनुपर्ने, श्रमिकको वैज्ञानिक सेवा शुल्क तोकिनुपर्नेलगायत १५ बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएको थियो । त्यस्तै, श्रमिक लक्षित श्रम गन्तव्य मुलुकको हवाई भाडादर न्यूनीकरण, कृत्रिम अभावको अन्त्य, नयाँ श्रम गन्तव्यको मागपत्र प्रमाणीकरण सञ्चालन गरिनुपर्ने, युरोपका विभिन्न गन्तव्य मुलुकसहित गणतन्त्र कोरियाका ई-७ भिसा, जापानको इएसडी कार्यक्रम तथा महिला घरेलु कामदारका समस्या पनि समाधान गरिनुपर्नेलगायत माग अघि सारिएको छ ।
संघले दिएको १५ दिनको समयमा सरकारले व्यवसायीलाई गर्ने व्यवहार र नीतिगत सुधारमा कुनै प्रगति नभएपछि आन्दोलनको घोषणा गरिएको हो । जसअन्तर्गत भदौ १ गतेसम्म हरेक दिन राज्यका निकायलाई दबाब दिने कार्यक्रम हुने संघका प्रथम उपाध्यक्ष तथा संघर्ष समितिका संयोजक महेशकुमार बस्नेतले बताए । संघका घटक संस्थाहरुलाई पनि संघर्षमा सहभागी गराइने उनको भनाइ छ ।
‘हामी हरेक दिन संघर्षका कार्यक्रम गर्छौं । सोमबार विभागमा शान्तिपूर्ण ढंगले ‘प्ले कार्ड’मात्र देखाएर विरोध गर्छाैं । ज्ञापनपत्र पनि बुझाउँछौं,’ बस्नेतले भने, ‘त्यसपछिका कार्यक्रमका लागि विभिन्न उपसमितिमा घटक संस्थाहरुको सक्रिय सहभागिताको साथ अगाडि बढ्छौं ।’
आइतबार संघले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चलगायतका घटक संस्थाहरुसँग आन्दोलनको रणनीतिबारे छलफल गरेको थियो । ‘आन्दोलनलाई सफल बनाउन घटक संस्थासँग आबद्ध संस्थाको प्रतिबद्धता लिन आह्वान गरिएको छ । घटक संस्थाहरुसँग संघर्षको कार्यक्रमलाई कसरी उत्कृष्ट र सफल बनाउने भन्ने रणनीतिबारे छलफल भएको छ । उहाँहरुको राय सल्लाह, सुझाव लिएका छौं,’ संघका महासचिव हिराबहादुर डाँगीले भने, ‘घटक संस्थामा आबद्ध सदस्य संस्थाहरुको जिम्मेवारी उहाँहरुले लिएर आफ्नो सदस्य संस्थाहरुलाई आवश्यक पर्दा आह्वान गर्नुहुन्छ ।’
संघले हाललाई शून्य समय मानेर साउन २२ गतेसम्म श्रम स्वीकृति लिएका श्रमिकलाई भदौ १ गते सम्ममा उडाइ सक्नुपर्ने बताएको छ । यसबीचमा प्रधानमन्त्रीका साथै युवा, श्रम तथा रोजगार मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, वार्ता तथा संवाद गर्ने, विभागमा शान्तिपूर्ण विरोध जनाउने, कालोपट्टी बाँध्ने, विभागले गरेको कारबाही फिर्ता लिन दबाब दिने, कार्यालयको तालाचाबी र लाइसेन्सको प्रतिलिपि विभागलाई बुझाउनेजस्ता कार्यक्रम तय गरिएको छ ।
यति गर्दा पनि माग सम्बोधन नभए भदौ १ गतेदेखि बृहत् आन्दोलनमा उत्रिने संघले जनाएको छ । उक्त आन्दोलनका लागि आवश्यक विभिन्न उपसमिति गठनलगायतको तयारी पनि भइरहेको संयोजक बस्नेतले बताए ।