- व्यवसायीका मागबारे मन्त्रालयमा छलफल गर्ने विभागकी महानिर्देशक मीरा आचार्यको आश्वासन
काठमाडौं- नीतिगत सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका वैदेशिक रोजगार व्यवसायीहरुले वैदेशिक रोजगार विभागमा धर्ना दिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आह्वानमा सोमबार व्यवसायीहरुले काठमाडौंको ताहाचलस्थित विभागको कार्यालयमा शान्तिपूर्ण धर्ना दिएका हुन् ।
विभागको गेटदेखि सोल्टिमोडसम्म उभिएर ५०० भन्दा बढी व्यवसायीले करिब डेढ घण्टा धर्ना दिएका थिए । संघले घोषणा गरेको संघर्षको कार्यक्रमअन्तर्गत पहिलो दिनको मौन प्रदर्शनमा व्यवसायीहरुले ‘प्लेकार्ड’ देखाउँदै आफ्नो माग राखेका छन् । संघले गत शुक्रबार रातिदेखि पूर्व र अन्तिम श्रम स्वीकृति नलिने घोषणा गर्दै भदौ १ गतेसम्म हरेक दिन दबाबमूलक कार्यक्रम गर्ने घोषणा गरेको थियो ।
धर्नामा उत्रिएका व्यवसायीहरुले झण्झटिलो होइन पारदर्शी प्रक्रिया लागू गर, नीतिगत सुधार व्यवसायीको आवाज, व्यवसायीको सम्मान हाम्रो अभियान, वैदेशिक रोजगार बाध्यता होइन आवश्यकता हो, व्यावहारिक र न्यायपूर्ण नीति सम्मानित व्यवसाय, श्रमिक मारा सिण्डिकेट खारेज गर, श्रमिकको हकहित व्यवसायीको जिम्मेवारी, वैदेशिक रोजगार राष्ट्रको आवश्यकता, न्यायपूर्ण श्रमबजार-श्रमिक सुरक्षाको आधारलगायत नारा लेखिएका प्लेकार्ड देखाएका थिए ।
व्यवसायीले श्रमिकको हितलाई ध्यानमा राखेर प्रदर्शन गरेको संघका अध्यक्ष डिकबहादुर खत्रीले बताए । यो अभियानले वैदेशिक रोजगार क्षेत्रको शुद्धीकरण र व्यवस्थापन गर्ने उनको भनाइ छ । ‘यो आन्दोलन होइन । समग्र क्षेत्रको शुद्धीकरण र व्यवस्थापन गर्न आएको अभियान हो,’ उनले भने, ‘लामो समयदेखि असम्मानित पेसाका रुपमा चित्रित यो पेसालाई सम्मानित बनाउनपर्छ । न्यून शुल्कमा श्रमिकहरु जान पाउनुपर्छ । बजारमा भएको बेथिति अन्त्य गर्ने अभियान हो ।’
राज्यले चाहे व्यवसायीका माग तत्काल सम्बोधन गर्न सक्ने संघका प्रथम उपाध्यक्ष तथा संघर्ष समितिका संयोजक महेशकुमार बस्नेतले बताए । व्यवसायीका माग सम्बोधन भए समग्र वैदेशिक रोजगारीसँग जोडिएका सबै क्षेत्रलाई लाभ पुग्ने उनको भनाइ छ ।
‘राज्यले चाहे हाम्रा मागहरु तत्काल सम्बोधन गर्नसक्ने खालका छन् । हामीले हाम्रो सेवा शुल्क निर्धारण गरियोस्, करोडौं धरौटी राखेर काम गरिरहेका व्यवसायीलाई अपराधीसरह कारबाही गर्नुभएन, ऐन कानुनको समयसापेक्ष संशोधनलगायतका माग राखेको होे । हाम्रा मागहरु सम्बोधन हुँदा श्रमिक, राज्य र व्यवसायी सबैको हित हुने छ,’ बस्नेतले भने ।
धर्नापछि संघले विभागकी महानिर्देशक मीरा आचार्यलाई १५ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको थियो । विशेषगरी विभागले विभिन्न समयमा ७६१ म्यानपावर कम्पनीमाथि कारबाही गरेपछि व्यवसायीमा अन्योलता, असुरक्षा र नकारात्मक प्रभाव परेको संघको दाबी छ । विभागको व्यवहारले व्यवसायीको मनोबल गिराउनुका साथै मिहेनतले आर्जन गरेको प्रतिष्ठामा आँच पु¥याएको भन्दै उक्त कारबाही अविलम्ब फिर्ता हुनुपर्ने संघको माग छ ।
ज्ञापनपत्र बुझ्दै महानिर्देशक आचार्यले व्यवसायीका मागका विषयमा मन्त्रालयमा छलफल गर्ने आश्वासन दिएको संघका महासचिव हिराबहादुर डाँगीले बताए । ‘उहाँले हामीले राखेका मागको विषयमा छिट्टै मन्त्रालयमा छलफल गरेर फेरि हामीलाई छलफलका लागि बोलाउँछु भन्नुभएको छ,’ डाँगीले भने ।
रोजगारीमा जाने श्रमिकको लागतलाई पारदर्शी बनाउँदै वैज्ञानिक सेवा शुल्क लागू, गन्तव्य मुलुकको हवाइ भाडादर न्यूनीकरण, मागपत्र प्रमाणीकरण सञ्चालन गर्नुपर्ने, रोजारदाता मुलुकसँग श्रमिकमैत्री श्रम सम्झौता, वैदेशिक रोजगारीका उजुरीको न्यायोचित फरफारकलगायत मागसमेत संघले अगाडि सारेको छ ।
दबाबमूलक कार्यक्रमअन्तर्गत आज व्यवसायीहरुले आ-आफ्नो कार्यालयमा कालोपट्टी बाँधेर काम गर्ने कार्यक्रम तय गरिएको संघले जनाएको छ । ‘संघको कार्यसमितिले केन्द्रीय कार्यालयमा कालो पट्टी बाँधेर सामूहिक तस्बिर खिचेर विरोध गर्छौं । साथै, सम्पूर्ण व्यवसायीज्यूले आफ्नो कार्यालयमा कालो पट्टी बाँधेर काम गर्नुहुन्छ,’ महासचिव डाँगीले भने ।