काठमाडौं- साउदी अरेबियामा कार्यरत विदेशी कामदारहरुले रोजगार परिवर्तन गर्न पाउने भएका छन् । त्यहाँको मानव स्रोत र सामाजिक विकास मन्त्रालयले सुरु गरेको नयाँ विद्युतीय सेवाअनुसार श्रमिकहरु निजी क्षेत्रका संस्थाबाट व्यक्तिगत रोजगारदाताकोमा स्थानान्तरण हुन पाउने भएका हुन् । तर यसका लागि विशेष योग्यता आवश्यक पर्ने जनाइएको छ ।
गल्फ न्युजका अनुसार सेवा लिनका लागि विदेशी कामदारसँग वैध ‘वर्क परमिट’ (काम गर्ने अनुमति) आवश्यक पर्ने छ । तर शिक्षा, प्राविधिक, स्वास्थ्य सेवा, विशेषज्ञलगायत उच्च दक्ष पेसामा कार्यरतहरुका लागि भने यो नियम लागू नहुने समाचारमा उल्लेख छ । त्यससैगरी, पूर्णरूपमा साउदीकरण गरिएका पेसाका कामदार पनि स्थानान्तरण सुविधाबाट बाहिर राखिएका छन् । साउदीकरण गरिएका पेसाहरु साउदीका नागरिकका लागिमात्र छुट्याइएका उच्च तहका पेसाहरु हुन् । घरेलु पेसाको वर्गमा पर्ने काममा ट्रान्सफर हुन मिल्ने छ ।
कामदार ल्याउन चाहने आवेदनकर्ताले केही कागजहरु विद्युतीय माध्यमबाट प्रदान गर्नुपर्ने छ । जसमा कामदारले हाल कार्यरत रोजगारदाताबाट काम छोडेको प्रमाणपत्र लिनुपर्ने छ र त्यसलाई सम्बन्धित चेम्बर अफ कमर्सले प्रमाणित गरेको हुनपर्ने समाचारमा भनिएको छ ।
आवेदनकर्ताले कामदारलाई रोजगार दिन सक्षम आर्थिक स्थिति पनि देखाउनपर्ने छ । यसका लागि तलब प्रमाणपत्र वा बैंक स्टेटमेन्ट पेस गर्नुपर्ने छ । त्यस्तै, कामदारको औंठाछाप र हस्ताक्षर भएको आवास अनुमतिपत्रको प्रतिलिपि, कामदारले गर्न चाहेको काम र नयाँ नियोक्ताको नाम तथा राष्ट्रिय परिचय नम्बर पनि आवश्यक पर्ने जनाइएको छ ।
आवश्यक कागजातहरु तोकिएको ढाँचामा तीन एमबीभन्दा बढी नहुनेगरी अपलोड गर्नुपर्ने छ । यो नियम घरायसी कामदारका लागि ज्याला संरक्षण गर्ने कार्यक्रमसँगै कार्यान्वयनमा आएको हो । यस कार्यक्रमले आधिकारिक च्यानलबाट मात्र तलब भुक्तानी गर्नुपर्ने भनेको छ । यसले श्रमिकको ज्याला पारदर्शिता सुधार गर्दै घरेलु श्रमबजारको अवस्थालाई बलियो बनाउने विश्वास लिइएको छ ।
साउदी नेपालीहरुको प्रमुख रोजगार गन्तव्य हो । त्यहाँ जाने आधाभन्दा बढी नेपाली श्रमिक अदक्ष र अर्धदक्ष श्रमिकका रुपमा कार्यरत रहेको बताइन्छ । नयाँ सेवाले विदेशी कामदारको भर्ना प्रक्रियालाई नियमन गर्दै पारदर्शिता ल्याउने उद्देश्य राखेको छ । त्यस्तै, औपचारिक डिजिटल प्रणालीले स्थानान्तरण प्रक्रियालाई सरल बनाउने जनाइएको छ ।
जापानमा विदेशी श्रमिकको बसाइ अवधि पाँच वर्ष पु¥याउने तयारी
प्रभाव संवाददाता
काठमाडौं– जापान सरकारले निश्चित सीपयुक्त श्रमिक (स्पेसिफाइड स्किल्ड वर्कर)को ‘टाइप–२’ अन्तर्गत काम गर्ने विदेशी श्रमिकको अधिकतम बसाइ अवधि पाँच वर्ष पु¥याउने तयारी गरेको छ । हाल यस्तो श्रमिकलाई अधिकतम तीन वर्षसम्मको बसाइ अनुमति दिइँदै आएको छ ।
जापानको अध्यागमन सेवा निकायले आगामी जनवरीदेखि लागू गर्ने प्रस्तावसहित अगस्ट ४ मा मन्त्रीस्तरीय नियमावलीको मस्यौदा सार्वजनिक गरेको जापानी सञ्चारमाध्यम माइग्रेन्ट टाइम्सले जनाएको छ । उक्त व्यवस्थामाथि सर्वसाधारणबाट सुझावसमेत मागिएको समाचारमा भनिएको छ ।
हाल टाइप–२ स्पेसिफाइड स्किल्ड वर्करलाई रोजगारीको स्थायित्व, निरन्तरता तथा अन्य परिस्थितिका आधारमा छ महिनादेखि तीन वर्षसम्मको बसाइ अनुमति दिइँदै आएकोे छ । लामो अवधिको अनुमति लिने श्रमिकको रोजगारीको अभिलेख, कर भुक्तानीको अवस्थालगायतको परीक्षण हुँदै आएको छ ।
प्रस्तावित व्यवस्थाअनुसार टाइप–२ श्रमिकले पाँच वर्षसम्म बस्न पाउने छन् । यसले टाइप–२ श्रमिकको बसाइ अवधिलाई अन्य क्षेत्रका श्रमिककोसरह बनाउने छ । जापानमा नर्सिङ केयरलगायत क्षेत्रमा काम गर्ने विदेशी श्रमिकका लागि यसअघि नै पाँच वर्षसम्म बस्न पाउने व्यवस्था गरिएको छ ।
नयाँ बसाइ अवधिका लागि आवश्यक मापदण्ड भने पछि तय गरिने भएको छ । यो मापदण्ड कार्यान्वयनमा आए कामदारहरु स्थायी बसोबासका लागिसमेत योग्य हुने सम्भावना रहेको जनाइएको छ ।