काठमाडौं- ‘शून्य समय’ घोषणा गरेर आन्दोलनमा उत्रिएका वैदेशिक रोजगार व्यवसायीहरुले मंगलबार कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आह्वानमा जारी आन्दोलनको दोस्रो दिन व्यवसायीहरुले कालोपट्टी बाँधेर काम गरेका हुन् ।
संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले सिफलस्थित संघको कार्यालयमा कालो पट्टी बाँधेर विरोध जनाएका थिए । संघले १५ बुँदे माग सम्बोधन गर्न सरकारलाई दबाब दिन चरणबद्ध आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएको छ । जसअन्तर्गत मंगलबारका लागि कालोपट्टी बाँधेर विरोध जनाउने कार्यक्रम तय गरिएको थियो । अघिकांश व्यवसायीले आफ्नो संस्थाका सबै कर्मचारीले कालोपट्टी बाँधेको फोटो सामाजिक सञ्जालमा राख्दै सांकेतिक विरोध जनाएका छन् ।
व्यवसायीहरुले वैदेशिक रोजगार क्षेत्रका जायज माग सम्बोधन गर्न र यसलाई व्यवस्थित, पारदर्शी तथा सम्मानित बनाउन सरकारसँग माग गर्दै आएका छन् । अहिलेको आन्दोलन व्यवस्थाको सुधारका साथै यस क्षेत्रका उज्ज्वल भविष्यका लागि गरिएको व्यवसायीहरुको भनाइ छ । शुक्रबारसम्म यसरी नै सांकेतिकरुपमा मौन दबाब दिइने संघले जनाएको छ । त्यसपछि अनसनलगायतका कडा आन्दोलनमा जाने संघका महासचिव हिराबहादुर डाँगीले बताए ।
‘बुधबारको कार्यक्रमअन्तर्गत व्यवसायीलाई मर्यादित बनाउन के-के गर्न सकिन्छ भनेर सामाजिक सञ्जालमा स्लोगनहरु राख्छौं,’ उनले भने, ‘शुक्रबारदेखि कसले काम गरेको छ कि छैन भनेर अनुगमनसमेत गर्दै कडा रुपमा जान्छौं ।’ संघले सरकारलाई नीतिगत सुधारका लागि दबाब दिने उद्देश्यले साउन २२ गते राति १२ बजेदेखि सरकारले दिने पूर्ण तथा अन्तिम श्रम स्वीकृति नलिने घोषणा गरेको थियो ।
यसबीचमा आफ्ना माग सम्बोधन नभए भदौ १ गतेबाट देशभरबाट समग्र व्यवसाय बन्द गर्ने व्यवसायीको चेतावनी छ । संघर्षको पहिलो दिन सोमबार वैदेशिक रोजगार विभागमा धर्ना दिइएको थियो । वैदेशिक रोजगार विभागले भारतीय विमानस्थल प्रयोग गरेर श्रमिक पठाएको आरोपमा ७६१ म्यानपावर कम्पनीमाथि कारबाही गरेपछि व्यवसायीहरु आन्दोलित भएका हुन् ।