वीरगञ्ज- भारतको महावाणिज्य दूतावास, वीरगञ्जले भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साह, उमंग साथ मनाइएको छ। समारोहमा भारतीय समुदायका सदस्य, भारतका मित्रहरू, स्थानीय प्रशासन तथा सुरक्षा निकायका अधिकारी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागितामा शनिबार मनाइएको हाे।
समारोहको सुरुवात ‘वन्दे मातरम्’को प्रस्तुतिबाट भएको थियो। त्यसपछि भारतको महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मीनाले राष्ट्रिय झण्डा फहराएका थिए । झण्डोत्तोलनपछि सहभागीहरूले सामूहिक रूपमा राष्ट्रिय गान गाएका थिए।सो अवसरमा महावाणिज्यदूतले भारतका राष्ट्रपतिको स्वतन्त्रता दिवसका अवसरमा जारी सम्बोधन वाचन गरेका थिए ।
समारोहमा वीरगञ्जका विभिन्न विद्यालयका विद्यार्थी तथा विशेष क्षमता भएका बालबालिकाले देशभक्तिपूर्ण गीत, नृत्य र नाटक प्रस्तुत गरेका थिए। उनीहरूका प्रस्तुतिले भारतको सांस्कृतिक विविधता, राष्ट्रिय एकता र देशप्रेमको भावना झल्काएको थियो। सांस्कृतिक प्रस्तुतिलाई उपस्थित दर्शकले उत्साहपूर्वक स्वागत गरेका थिए।

कार्यक्रममा पर्सा र बारा जिल्लाका वरिष्ठ प्रशासनिक तथा प्रहरी अधिकारीहरूका साथै वीरगञ्ज उद्योग वाणिज्य संघ, नेपाल–भारत मैत्री संघ, नेपाल युवा उद्यमी मञ्च, नेपाल-भारत वाणिज्य तथा उद्योग परिसंघ, पतञ्जलीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा प्रबुद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
यस अवसरमा महावाणिज्यदूत मीनाले सांस्कृतिक कार्यक्रममा सहभागी विद्यार्थी तथा विशेष क्षमता भएका बालबालिकालाई प्रमाणपत्र प्रदान गर्दै उनीहरूको प्रतिभाको प्रशंसा गरे। साथै, भारत सरकारको परराष्ट्र मन्त्रालयद्वारा आयोजित ‘भारतलाई चिनौँ’ प्रश्नोत्तरीका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो।
त्यसैगरी, भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले विभिन्न विद्यालयसँगको सहकार्यमा आयोजना गरेको चित्रकला प्रतियोगिताका विजेतालाई प्रशंसापत्र प्रदान गरिएको थियो। विद्यार्थी तथा बालबालिकाका सांस्कृतिक प्रस्तुति, पुरस्कार वितरण र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिताले स्वतन्त्रता दिवस समारोहलाई विशेष र स्मरणीय बनाएको थियो। समारोहले भारत र नेपालबीचको जनस्तरको घनिष्ठ सम्बन्ध, मैत्रीपूर्ण सहकार्य तथा आपसी सद्भावलाई समेत उजागर गरेको थियो।