काठमाडौं- हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र सञ्जाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले 'छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स' २०२६ आगामी डिसेम्बर ४ र ५ (मंसिर १८-१९, २०८३ विसं) मा ऐतिहासिक सहर जनकपुरधाममा आयोजना हुने भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मधेस सरकार र मधेस इन्स्टिच्युट अफ हेल्थ साइन्सेससँगको सहकार्यमा तथा नेपाल सरकार, मधेस प्रदेशस्थित स्थानीय तहहरू एवं अन्य संघसंस्थाको सहयोगमा मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजना उक्त सम्मेलन आयोजना गर्न लागेको हो।
सम्मेलनको मुख्य नारा ‘रिभर्स माइग्रेसन विथ ग्लोबल कोल्याबरेसन’ र मूल सन्देश नेपाल अब ‘ब्रेन ड्रेन’बाट ‘ब्रेन सर्कुलेसन’ हुँदै ‘ब्रेन गेन’तर्फ अघि बढ्नुपर्ने रहेको छ। सम्मेलनमा नेपाली स्वास्थ्यकर्मीहरूको विदेश पलायनलाई मानव स्रोतको क्षतिका रूपमामात्र नहेरी ज्ञान हस्तान्तरण, क्षमता विकास, नवप्रवर्तन, लगानी र स्वास्थ्य प्रणाली सुदृढीकरणको अवसरका रूपमा उपयोग गर्ने विषयमा छलफल गरिने जनाइएको छ।


सम्मेलनबारे जानकारी दिन बुधबार 'भर्चुअल' माध्यमबाट आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै 'छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६' आयोजक समितिका अध्यक्ष प्रा.डा. सुनिल साहले नेपाल र विश्वभर रहेका स्वास्थ्य क्षेत्रका विज्ञलाई जनकपुरमा सहभागी हुन आह्वान गर्दै विदेशमा कार्यरत नेपाली जनशक्तिलाई स्वदेश फिर्ता गर्ने उपयुक्त वातावरण बनाएर नेपालको स्वास्थ्य प्रणाली बलियो बनाउनेबारे सम्मेलनमा छलफल गरिने जनाए। उनले सम्मेलनलाई दुई दिनको छलफलमामात्र सीमित नगरी दीर्घकालीन साझेदारी र मापनयोग्य प्रतिबद्धतामा परिणत गर्ने प्रयास गरिनुका साथै भिजिटिङ फ्याकल्टी कार्यक्रम, विशेषज्ञ तालिम, अनुसन्धान सहकार्य, अस्पताल तथा विश्वविद्यालयबिच साझेदारी, मेन्टरसिप कार्यक्रम, डिजिटल हेल्थ पहल तथा डायस्पोरा लगानीका अवसर सिर्जना गर्ने विषयलाई पनि अघि बढाइने बताए।
यसैगरी ग्लोबल हेल्थ कन्फरेन्स वैज्ञानिक समितिका अध्यक्ष तथा बेलायतस्थित युनिभर्सिटी अफ चेस्टरका डीन प्रा.डा. पदम सिम्खडाले सम्मेलनमार्फत विश्वभर रहेका नेपाली स्वास्थ्य विज्ञ र नेपालको स्वास्थ्य क्षेत्रबिच दीर्घकालीन सहकार्यको आधार तयार हुने अपेक्षा व्यक्त गरे। उनले सम्मेलनमा प्रख्यात जनस्वास्थ्यविद् प्रा जेनी ह्यारिस लगायत ५० जना भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ तथा वैज्ञानिकहरू सहभागी हुने पुष्टि भइसकेको जानकारी दिए। उनले मधेस प्रदेशका कतिपय स्वास्थ्य सूचकहरू पूरै देशको तुलनामा न्यून रहेकाले तिनलाई कसरी सुधार्न सकिन्छ भन्नेबारे पनि सम्मेलनमा छलफल गरिने बताए।
वैज्ञानिक समितिका सहअध्यक्ष तथा युनिभर्सिटी अफ हडर्सफिल्डमा जनस्वास्थ्य विषयका एसोसियट प्राध्यापक डा राजीव कुमार साहले मधेसका लागि, जन्मभूमिका लागि के गर्न सकिन्छ भन्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताए। स्थानीय आयोजक समितिका अध्यक्ष एवं मधेस इन्स्टिच्युट अफ हेल्थ साइन्सेसका उपकुलपति प्रा. डा. अंकुर शाहले सम्मेलनले मधेस प्रदेश र जनकपुर क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पनि मदत पुग्ने विश्वास व्यक्त गर्दै सबैलाई सम्मेलनमा भाग लिन निमन्त्रणा गरे।
एनआरएनएका अध्यक्ष डा हेमराज शर्माले संघले विश्व ज्ञान सम्मेलन तथा विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेर संसारभरि रहेका नेपाली विज्ञहरूसँग रहेको ज्ञान, सीप र सञ्जाल नेपाल र नेपालीको हितमा उपयोग गर्ने प्रयास गरिरहेको बताए। उनले यस सम्मेलनले विश्वभर फैलिएको नेपाली स्वास्थ्य जनशक्तिको ज्ञान, सीप, अनुभव र स्रोतलाई स्वदेशको स्वास्थ्य प्रणालीसँग जोड्न सके नेपालमा थप सक्षम, समतामूलक र दिगो स्वास्थ्य प्रणाली निर्माणमा योगदान पुग्ने अपेक्षा पनि व्यक्त गरे।
अध्यक्ष शर्माले संघले आगामी जनवरी २०२७ मा काठमाडौंमा विश्व ज्ञान सम्मेलन, विश्व महिला सम्मेलन तथा एनआरएन दोस्रो पुस्ता सहभागी सम्मेलन आयोजना गर्न लागेकाले सबैलाई भाग लिन आमन्त्रण गरे।