काठमाडौं- ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा ‘हिमाली शिखरदेखि समुद्री तटसम्म’ शीर्षकमा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ।
युरोपेली संघ र संयुक्त राष्ट्रसंघका प्रतिनिधि, बेल्जियमस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधि, नेपाललगायत सहभागी देशका शुभेच्छुक र सञ्चारकर्मीसहित करिब १०० जनाको सहभागितामा भएको कार्यक्रममा बेल्जियम, द नेदरल्याण्ड्स र लग्जेम्बर्गका लागि नेपालका राजदूत सेवा लम्सालले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, साहसिक पर्यटन, समृद्ध सम्पदा तथा आरोग्य पर्यटनका विशेषताबारे जानकारी गराए।
नेपालले सन् २०२७ लाई अन्तर्राष्ट्रिय आरोग्य वर्षका रूपमा मनाउन लागेको जानकारी दिँदै नेपालको आध्यात्मिक तथा आरोग्य पर्यटनको अनुभव लिन उनले सहभागीलाई आग्रह गरे।
कार्यक्रमका प्रमुख अतिथिका युरोपेली बाह्य कार्य सेवाका उपमहानिर्देशक डोमिनिक पोर्टरले नेपालसहित दक्षिण एसियाली देशसँग युरोपेली संघको सहकार्यबारे चर्चा गर्दै दिगो पर्यटन प्रवर्द्धनमा जोड दिए उक्त दूतावासले जनाएको छ।
कार्यक्रममा भुटानका राजदूत छोक्की छोडेन, श्रीलंकाका राजदूत चन्दना वीरसेना र माल्दिभ्सका राजदूत उज्मा फतिमथ धियाना आआफ्ना देशका पर्यटकीय विशेषताबारे जानकारी गराए।
औपचारिक कार्यक्रमपछि चारै देशका मौलिक संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति गरिएको थियो। नेपालको लाखे नाच र परम्परागत धिमे बाजाको प्रस्तुतिले सहभागीको ध्यान आकर्षित गरेको थियो।
कार्यक्रममा नेपालसहित चारै देशले आ-आफ्ना पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि छुट्टाछुट्टै प्रदर्शनी कक्ष राखेका थिए। नेपाली कक्षमा पर्यटनसम्बन्धी पुस्तिका, पोस्टर, नक्सा, मिथिला कला तथा हस्तकलाका सामग्रीका साथै पश्मिना, चिया र कफीलगायत नेपाली उत्पादन प्रदर्शन गरिएको थियो। नेपाली पर्यटनसम्बन्धी श्रव्यदृश्य सामग्री पनि प्रदर्शन गरिएको थियो।
नेपाली पर्यटन कक्षमा सहभागीले विशेष चासो देखाउँदै दूतावासका प्रतिनिधिसँग नेपालको भ्रमणका अवसर र प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी लिएका थिए।
कार्यक्रममा सहभागी चारै देशले आ-आफ्ना परम्परागत परिकार पनि प्रस्तुत गरेका थिए। प्रत्येक देशले दुई प्रकारका परिकार प्रस्तुत गरेकामा नेपालका तर्फबाट सेलरोटी र छोइला प्रस्तुत गरिएको थियो। ती परिकार सहभागीले रुचाएका थिए।