कोलम्बो- दक्षिण एसियामा चक्रीय अर्थतन्त्रको विकास तथा क्षेत्रीय सहकार्यलाई अघि बढाउने उद्देश्यले श्रीलंकाको कोलम्बोमा आयोजित क्षेत्रीय मञ्चले साझा कार्यसूचीलाई अगाडि बढाएको छ।
‘दक्षिण एसियामा चक्रीय अर्थतन्त्रसम्बन्धी क्षेत्रीय रूपरेखा तथा कार्ययोजना’ विषयक उक्त मञ्चमा सरकारी निकाय, निजी क्षेत्र, उद्योग, विज्ञ तथा विकास साझेदारका प्रतिनिधिहरू सहभागी भएका थिए। असोज २९ र ३० (अक्टोबर १९ र २०) मा आयोजित कार्यक्रममा चक्रीय अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने व्यावहारिक उपाय, नीतिगत सुधार र क्षेत्रीय साझेदारीबारे छलफल गरिएको थियो।
कार्यक्रममा उत्पादन तथा उपभोग प्रणालीलाई थप दिगो बनाउने, स्रोतसाधनको प्रभावकारी उपयोग गर्ने, पुनःप्रयोग तथा पुनर्चक्रणलाई प्रोत्साहन गर्ने र वातावरणीय चुनौतीलाई आर्थिक अवसरमा रूपान्तरण गर्ने विषयमा जोड दिइएको थियो।
कार्यक्रममा प्रस्तुत अवधारणाअनुसार चक्रीय अर्थतन्त्र फोहोर व्यवस्थापन र पुनर्चक्रणमामात्र सीमित छैन। यसले उत्पादनको डिजाइनदेखि सामग्रीको पुनःप्रयोग, स्रोतको संरक्षण, उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा नयाँ रोजगारी र लगानीका अवसर सिर्जना गर्नेसम्मका विषय समेट्छ।
दक्षिण एसियाका देशहरूबीच नीतिगत समन्वय, प्रविधिको आदानप्रदान र निजी क्षेत्रको सहभागिता बढाउन सके चक्रीय अर्थतन्त्रलाई क्षेत्रीय आर्थिक विकासको महत्त्वपूर्ण आधार बनाउन सकिने सहभागीहरूको धारणा थियो।
मञ्चमा अन्तर्राष्ट्रिय अभ्यासबाट सिक्दै दक्षिण एसियाको आवश्यकता र सम्भावनाअनुसार क्षेत्रीय रूपरेखा तयार गर्ने तथा सन् २०२६ देखि २०३० सम्मका लागि प्रस्तावित कार्ययोजनालाई अघि बढाउने विषयसमेत समेटिएको छ।
प्रस्तावित कार्यदिशाले दिगो उत्पादन तथा उपभोग, स्रोतको कुशल उपयोग, वातावरणीय जिम्मेवारी, लगानी विस्तार र समावेशी आर्थिक वृद्धिलाई प्राथमिकतामा राखेको छ।
कार्यक्रमले दक्षिण एसियाली देशहरूबीच सहकार्य विस्तार गर्दै चक्रीय अर्थतन्त्रलाई वातावरण संरक्षणसँगै औद्योगिक विकास, उद्यमशीलता र रोजगारी सिर्जनाको अवसरका रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।