काठमाडौं। अमेरिकास्थित तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्र (ट्रष्ट)का प्रमुख इन्द्र तामाङले कोषको रकम सुरक्षित रहेको बताएका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै केन्द्रका प्रमुख तामाङले कोषको रकम सुरक्षित रहेको बताएका हुन्।
२०१३ देखि सञ्चालनमा रहेको सेन्टरको छुट्टै बैंक खातासम्बन्धी कागजात बैंकमा पेश गरी एक पक्षले उक्त खातालाई आफ्नो नियन्त्रणमा लिएको उल्लेख गर्दै तामाङले ३ लाख ३० हजार डलर भने सेन्टरसँगै सुरक्षित रहेको बताएका हुन्। 'सन् २०१३ देखि सञ्चालनमा रहेको तामाङ कल्चर एन्ड बुद्धिस्ट सेन्टरको छुट्टै बैंक खातासम्बन्धी कागजात बैंकमा पेश गरी एक पक्षले उक्त खातालाई आफ्नो नियन्त्रणमा लिएको अवस्था रहेको छ,' तामाङले फेसबुकमा जारी गरेको विज्ञप्तिमा लेखेका छन्, 'यद्यपि, ट्रस्टअन्तर्गत रहेको बाँकी करिब ३ लाख ३० हजार अमेरिकी डलर रकम भने म प्रमुखको जिम्मेवारीमा रहेको टीसीबीसीकै अधीनमा सुरक्षित रहेको छ।'
सेलोगायक सन्जोग योञ्जनले यसबारे सामाजिक सञ्जालमा स्टाटस राख्दै गुम्बा बनाउन दिएको रकम तामाङलगायत व्यक्तिले अवैधानिक तवरले निकालेको आरोप लगाएका थिए। 'तामाङ सोसाइटी अफ अमेरिकाको गुम्बा बनाउनको लागि दिएको चन्दा रकम ३ लाख ४६ हजार डलर अबैधानिक एबम गैरकानुनी काम गरेर ईन्द्र तामाङ, तुलबहादुर तामाङ, बिष्णुमाया तामाङ र सानुमाया तामाङ बैंकको पैसा झिकेर बेपत्ता,' गायक तामाङले भनेका छन्।

यो विषय असत्य भएको इन्द्र तामाङको दाबी छ। आफु अमेरिका आएदेखि समुदायको हित, एकता, संस्थागत विकास तथा सामाजिक सेवाका क्षेत्रमा आफूले सक्ने योगदान गर्दै आएको उल्लेख गेदृ तामाङले उक्त रकम दुरुपयोग नगरिएको बताएका छन्। 'कुनै प्रकारको भ्रम नहोस् भन्ने उद्देश्यले पुनः स्पष्ट पार्न चाहन्छु, उक्त रकम सुरक्षित छ। रकम हराएको छैन, दुरुपयोग भएको छैन र अनधिकृत रूपमा खर्च गरिएको छैन,' प्रमुख तामाङले भने।
अमेरिकामा बौद्ध केन्द्र बनाउने उद्देश्यसहित सन् २०१२ बाट विभिन्न कार्यक्रम गरी यो कोष स्थापना भएको हो। केन्द्र बन्न नसकेपछि बेलाबेला तामाङमाथि यस्तो आरोप लाग्दै आएको छ। यद्यपि तामाङलाई चिनेजानेकाहरु तामाङको सोझोपनको फाइदा उठाएर उनीमाथि आरोप लगाएको बताउँछन्।