रूपन्देही- रूपन्देहीका तरकारी तथा फलफुल व्यवसायीहरूले निजी क्षेत्रका बजारहरूले किसान, उपभाेक्ता र व्यवसायीबीच महत्त्वपूर्ण भूमिका खेल्दै आए पनि सरकारले निजी क्षेत्रका बजारकाे महत्त्व बुझ्न नसकेकाे गुनासाे गरेका छन्।
लुम्बिनी कृषि उपज थाेक बजार मणिग्राम रूपन्देहीको छैटौं बार्षिक साधारसभामा बाेल्ने व्यवसायीहरूले निजी क्षेत्रकाे कृषि थाेक बजारले सरकारले गर्ने काम गर्दै आएपनि यस्ता बजारप्रति सरकारकाे खासै ध्यान जान नसकेकाे बताएका हुन्।
चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पाेखरेलले निजी क्षेत्रका कृषि बजारकाे निकै महत्त्व रहेकाे बताउदै बजार सफल पार्न सबैकाे साथ, सहयाेग र सामूहिक प्रयास आवश्यक रहने बताए। उनले एक अर्कामा आराेपप्रत्याराेप र गुनासाे भन्दा पनि बजार चलाउन एक सूत्रीयरूपमा व्यवसायीकाे ध्यान जानपर्ने सुझाव दिए। नयाँ प्रविधिसँगै उत्पादन, बजारीकरणमा जाेड दिन आवश्यक रहेकाे पनि उनले बताए।
लुम्बिनी कृषि उपज थाेक बजारका अध्यक्ष कृष्णप्रसाद पाेखरेलले संस्थामा भए गरेकाे गतिविधिबारे प्रकाश पार्दै निजी क्षेत्रकाे यस्ता बजारलाई सरकारले साथ र सहयाेग दिन आवश्यक रहेकाे बताए। उनले सरकार, स्थानीय तह र सराेकारवाला निकायसँग छलफल गरेर अगाडि बढ्ने पनि बताए। बजारभित्र कृषि उपजमात्र नभई अन्य वस्तुकाे विविधीकरण गरी व्यवसाय सञ्चालन गर्ने लक्ष्य रहेकाे अध्यक्ष पाेखरेलले जानकारी दिए। बजारभित्र रहेकाे किसान चाैतारी सञ्चालन गराउने, सुन्तला काराेबार गराउन विशेष पहल गर्ने, कृषक र किसान समूह तथा सहकारीका उत्पादनलाई जाेड दिनेसमेत कार्यक्रम रहेकाे उनले बताए।
निवर्तमान अध्यक्ष भीमकान्त पन्थीले याे बजार नमूनाकाे रूपमा स्थापना गर्ने उद्देश्यका साथ सुरू गरिएकाे र पछिल्लाे समय बजारमा चहलपहल बढ्दै गएकाले सबैकाे साथ सहयाेगबाट नै यस्ता बजार सफल हुने धारणा राखे।
रुपन्देहीको तिलाेत्तमा नगरपालिकाकाे मणिग्राममा तीन विघा क्षेत्रफलमा फैलिएकाे लुम्बिनी कृषि उपज थाेक बजारमा साना-ठूला गरी १७८ वटा आधुनिक व्यावसायिक सटर रहेका छन्। याे निजी क्षेत्रकाे लगानी रहेकाे नेपालकै ठूलाे कृषि थाेक बजार मध्येकाे एक हाे।
यस्ता थाेक बजारलाई विद्युत्, खानेपानी, फाेहोर व्यवस्थापन, काेल्ड स्टाेरलगायतका क्षेत्रमा सहयाेग दिनसके आमउपभाेक्तालाई लाभ र व्यवसायीलाई हाैसला पुग्ने वक्ताहरूले बताए। यस्ता सुविधा सम्पन्न कृषि थाेक बजार कृषि उत्पादन बढाउन र बजारीकरणका लागि निकै उपयोगी हुने पनि व्यवसायीले बताए।
सोही अवसरमा इन्जिनियर ज्ञानप्रसाद अर्याललाई सम्मान गरिएकाे थियाे। कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्री, इन्जिनियर ज्ञानप्रसाद अर्याल, व्यवसायी बाबुराम भुषाल, गाेपाल भुषाल, टेकराज पन्थी, दामाेदर खनाललगायतले आ-आफ्ना धारणा राखेका थिए।