सेयरबजारको भविष्यबारे ठ्याक्कै भविष्यवाणी गर्न सकिँदैन । नेप्से भोलि कति अंक बढ्छ वा घट्छ भन्ने कुरा कसैले निश्चितरूपमा भन्न सक्दैन । तर इतिहास, वर्तमान आर्थिक परिसूचक र नीतिगत वातावरणलाई एकै ठाउँमा राखेर हेर्दा अहिलेको बजारमा निराश हुने कारण देखिँदैन । यदि ब्याजदर अनुकूल रहीरह्यो, कर्जा विस्तार भयो, सरकारको पुँजीगत खर्च बढ्यो, निजी क्षेत्रको लगानी बढ्यो र कम्पनीहरुको आम्दानीमा सुधार भयो भने त्यसको सकारात्मक प्रभाव सेयरबजारमा पर्न सक्छ ।
अर्थतन्त्रका बाह्य सूचकहरु राम्रो रहँदा, आन्तरिकरुपमा तरलतायोग्य रकम बैंकहरुमा पर्याप्त रहँदा र ब्याजदर निरन्तर घट्दा पनि लगानीकर्ताहरुको मनोबल उठ्न सकेको छैन । वित्तीय बजारमा कर्जाको माग अत्यन्त न्यून छ । व्यवसायी तथा सेयर लगानीकर्ता त्रस्त छन् । खासगरी नयाँ सरकारको अपरिपक्व शैली, सुशासनको नाममा निजी क्षेत्रका उद्यमी व्यवसायीहरुमाथिको धरपकडले व्यावसायिक वातावरणमा खलल पुगेको छ ।
विश्वमा कहीँ पनि त्यस्तो देश छैन, जहाँ हजारौंलाई रोजगारी दिने र करोडौं राजस्व तिर्ने व्यवसायीहरुमाथि राज्यनै लागेर कैदीझैँ व्यवहार गरोस् । व्यवसायीहरु भनेका कुनै पनि देशका गहना हुन् । जसले समृद्धिको उज्यालो भित्र्याउन सक्छन् । त्यसकारण तिनीहरुबाट विगतमा गल्ती नै भएका रहेछन् भने पनि उनीहरुलाई तर्साएर होइन, धरपकड गर्ने होइन, शोधपुछ गरेर, सम्मानपूर्वक आर्थिक जरिवानाको दण्ड गरिनुपर्छ, यदि कानुनबेगरको काम भएका रहेछन् भने । तर विनाप्रमाण, विनाआधार होहल्लाको भरमा उनीहरुमाथि प्रहरी लगाएर समात्ने, मुद्दा मामिलामा अल्झाइदिने काम गलत हो । त्यस्तो कामले न त राज्यमा उद्यमशील वातावरण बन्छ, न त रोजगारी सिर्जना हुन्छ, न त राज्यको राजस्व आय नै बढ्छ ।


त्यस्तो कामले पूरै देशको व्यावसायिक वातावरण भत्कन्छ । अनि त बैंकहरुमा पैसा थुप्रिने र ऋणको माग नहुने भइहाल्छन् । यस्तो अवस्था लामो समय रहिरहँदा पुँजी पलायन हुन सक्छन् । नेपालमा नभएर व्यवसायीहरुले विदेशमा लगानी गर्न सक्छन् । त्यसकारण व्यावसायिक वातावरण भनेको आर्थिक समृद्धिको महत्वपूर्ण आधार हो । व्यावसायिक वातावरण प्रगाढ भयो भने बैंकहरुमा ऋणको माग बढ्छ, नयाँ-नयाँ उद्यमीहरु जन्मन सक्छन् । तिनले राज्यमा रोजगारी सिर्जना गर्छन् । आर्थिक गतिविधि बढ्छन् । निर्यात बढ्छ । र, देश धनी हुने बाटोमा अघि बढ्छ । अनि न सेयरबजारमा रौनक आउँछ ।
राजनीति र सेयरबजार
सेयरबजारमा राजनीतिले जहिल्यै प्रभाव पार्छ । खासगरी राजनीतिक दलहरु विभिन्न विचारधारा बोकेर अस्तित्वमा छन् । कोही उदार अर्थतन्त्रको पक्षमा छन् त कोही नियन्त्रित अर्थतन्त्रको पक्षमा । कतिपय दलहरु पछिल्लो समय उदार र नियन्त्रित दुवै खालका नीतिको बीचबाट अघि बढिरहेका छन् । त्यसकारण कुन राजनीतिक दल सरकारमा छ, उसले कस्तो आर्थिक नीति लिन्छ, निजी क्षेत्र र पुँजीबजारलाई कसरी हेर्छ भन्ने कुराले सेयरबजारमा प्रत्यक्ष तथा परोक्षरुपमा प्रभाव पार्दछ ।
राजनीतिका कारण आर्थिक र व्यावसायिक वातावरणलाई प्रभाव पार्ने समाचारहरु सेयरबजारका लागि उत्तिकै महत्वपूर्ण हुन्छन् । सरकार परिवर्तन हुने संकेत, अर्थमन्त्रीको नियुक्ति, बजेट वा करका दर हेरफेर, नियामकीय नीतिमा परिवर्तन, सार्वजनिक खर्च, निजी क्षेत्रप्रतिको सरकारको दृष्टिकोण वा राजनीतिक स्थायित्वसँग जोडिएका समाचारहरुले लगानीकर्ताको मनोविज्ञानलाई तत्काल प्रभावित गर्छन् । जसले बजारलाई बढाउने तथा घटाउन भूमिका खेल्छ । त्यसकारण सेयरबजार अलिकति अनिश्चितताको बजार पनि हो ।
राजनीतिले बजारलाई हल्लाउन सक्छ, तर बजारलाई दीर्घकालमा टिकाउने भनेकोचाहिँ अर्थतन्त्र र कम्पनीहरुको वास्तविक आर्थिक अवस्थाले नै हो । यही कुरा नेपालको सेयरबजारको इतिहासले पनि देखाउँछ । नेपालको सेयरबजारमा विगत दुई दशकमा पटक-पटक ठूला बुल र बियर साइकल आएका छन् ।
सन् २००८ मा नेप्सेले करिब १२ सयको तह छोएको थियो । त्यसपछि लामो समय बजार घट्यो र २०१२ तिर ३०० को आसपाससम्म झर्यो । त्यसपछि फेरि बजारले लामो उकालो यात्रा तय गर्दै सन् २०१६ मा १८ सय बिन्दुभन्दा माथिको उच्च तह परीक्षण गर्यो । त्यसपछि पुनः करेक्सन आयो र २०१९ मा नेप्से परिसूचक करिब ११ को बिन्दु आसपास झर्यो ।
त्यसपछि भने बजारले अर्को ठूलो यात्रा तय गर्यो । सन् २०१९ को अन्त्यतिर करिब ११ सयको आसपास रहेको नेप्से कोरोनाकालमा बैंकिङ प्रणालीमा आएको अधिक तरलता, घटेको ब्याजदर, घरमै बसेर लगानी गर्नुपर्ने बाध्यता, डिजिटल कारोबारको विस्तार तथा लगानीकर्ताको बढ्दो सहभागिताका कारण सन् २०२१ मा ३२ सयभन्दा माथिको ऐतिहासिक उचाइसम्म नेस्से पुग्यो । यसरी हेर्दा नेपालको सेयरबजारमा बजारको चक्र नयाँ कुरा होइन । एउटा चरणमा अत्यधिक उत्साह आउँछ, त्यसपछि करेक्सन हुन्छ, बजार केही समय सुस्त रहन्छ र फेरि नयाँ आधारमा अर्को यात्रा तय हुन्छ ।
त्यसकारण अहिले २६ सयको आसपासमा चक्कर लगाइरहेको सेयरबजारलाई त्यही ऐतिहासिक चक्रको एउटा चरणका रूपमा हेर्न सकिन्छ । त्यसमाथि अहिले नै नेपालमा डिम्याट खाता खोल्नेहरु ८० लाख पुगेका छन् । सेयरबजारका लागि यो पनि एउटा सकारात्मक कुरा हो । त्यसले बजारप्रति मानिसहरुको आकर्षण बढिरहेको प्रमाणित गर्छ । सेयर लगानीकर्तामात्र होइन, पछिल्ला वर्षहरुमा नेप्सेमा सूचीकृत संस्थाहरु पनि बढिरहेका छन् । हाल २८४ वटा संस्था नेप्सेमा सूचीकृत छन् भने झण्डै ७०-८० वटा व्यावसायिक संस्थाहरु आइपिओ निष्कासनको प्रक्रियामा छन् । तिनीहरुको आइपिओ निष्कासनले झन् सेयरबजारप्रति सर्वसाधारणको आकर्षण व्यापक बढाउने छ । किनकि, १० कित्ते गोलाप्रथा चिट्ठा नीतिले सर्वसाधारणलाई बजारप्रति आकर्षण बढाएको छ ।
राजनीति र बजारको सम्बन्ध
राजनीतिका कारण बजारमा आउने उतारचढावलाई हामीले विगतमा धेरैपटक देखेका छौं । कुनै राजनीतिक घटनाले दुई दिनमै बजार ठूलो अंकले घट्न सक्छ । कुनै सकारात्मक राजनीतिक संकेतले केही दिनमै बजारलाई उकालो लगाउन सक्छ । तर त्यस्तो प्रभावको आयु प्रायः छोटो हुन्छ । जस्तो कि कुनै सरकार सेयरबजारमैत्री देखिएपछि बजारमा उत्साह आउन सक्छ । तर केही समयपछि कम्पनीको नाफा बढेन, बैंकको कर्जा विस्तार भएन, ब्याजदर बढ्यो र अर्थतन्त्र सुस्त भयो भने राजनीतिक उत्साहलेमात्रै बजारलाई लामो समय माथि लैजान सक्दैन ।
यसको उल्टो पनि सत्य हो । राजनीतिक वातावरणमा केही नकारात्मकता भए पनि कम्पनीको व्यवसाय राम्रो भइरहेको छ, बैंकिङ प्रणालीमा तरलता पर्याप्त छ, ब्याजदर घटिरहेको छ र अर्थतन्त्र विस्तार भइरहेको छ भने बजारले अन्ततः त्यसलाई मूल्यमा समेट्छ । यसरी हेर्दा राजनीतिक घटनाक्रमले सेयरबजारमा छोटो अवधिका लागि अस्थिरता निम्त्याउँछ । तर दीर्घकालमा आर्थिक तत्व, व्यावसायिक वातावरण, आर्थिक नीति र कम्पनीको वित्तीय अवस्था नै महत्वपूर्ण हुन्छ ।
के बजार अब लम्कन्छ ?
सेयरबजारको भविष्यबारे ठ्याक्कै भविष्यवाणी गर्न सकिँदैन । नेप्से भोलि कति अंक बढ्छ वा घट्छ भन्ने कुरा कसैले निश्चितरूपमा भन्न सक्दैन । तर इतिहास, वर्तमान आर्थिक परिसूचक र नीतिगत वातावरणलाई एकै ठाउँमा राखेर हेर्दा अहिलेको बजारमा निराश हुने कारण देखिँदैन । सन् २००८ पछि बजारले ३०० को तह देख्यो । त्यही बजार केही वर्षपछि १८ सय माथिको बिन्दुमा पुग्यो । सन् २०१९ मा ११ सयको आसपास आएको बजारले दुई वर्ष नपुग्दै ३२ सय माथिको ऐतिहासिक उचाइ बनायो । यसले एउटा कुरा के प्रस्ट पार्दछ भने आजको नेप्सेको अंकलाई हेरेर भोलिको बजारको सम्पूर्ण कथा लेख्न सकिँदैन ।
अहिले २६ सयभन्दा केही माथि रहेको बजार भोलि यही अंकमा रहला वा तलमाथि होला, त्यो बजारको स्वभाव हो । तर यदि ब्याजदर अनुकूल रहीरह्यो, कर्जा विस्तार भयो, सरकारको पुँजीगत खर्च बढ्यो, निजी क्षेत्रको लगानी बढ्यो र कम्पनीहरुको आम्दानीमा सुधार भयो भने त्यसको सकारात्मक प्रभाव सेयरबजारमा पर्न सक्छ ।
त्यसकारण अहिलेको सुस्ततालाई पनि बजार बढने तयारीका रूपमा हेर्न भने सकिन्छ । सेयरबजार सधैं उत्साहको चरम बिन्दुबाट मात्र उकालो लाग्दैन । धेरैपटक बजारले निराशा र अन्योलको समयमा नयाँ आधार बनाउँछ । अहिलेको २६ सय आसपासका घनचक्कर लगाइरहेको सेयरबजार पनि त्यस्तै एउटा चरणमा हुनसक्छ ।