काठमाडौं- प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले तीन वटा इजाजतपत्र प्राप्त संस्थालाई साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेको छ । कारवाहिमा मीलन कट्टेल सञ्चालक रहेको एसिया लिंक ओभरसिज प्रा.लि., रघुनाथ पुरिको द रिभर ओभरसिज प्रा.लि. र रबिन गुरुङको ट्रस्ट नेपाल ओभरसिज प्रा.लि.लाई कारवाही गरिएको मञ्चले जनाएको छ ।
उल्लेखित संस्थाहरुको नाम मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसिएमएस)मा सूचिकृत छ । सूचिकृत संस्थाहरुलाई २४ घण्टाभित्र लिखित स्पष्टिकरण दिन मञ्चले गत भदौ सात गते पत्राचार गरेपनि तोकिएको समयसीमाभित्र कुनै पनि संस्थाले जवाफ नपठाएको विषयलाई गम्भीरतापूर्वक लिएको जनाइएको छ । मञ्चको निर्देशनको अवज्ञा गरेकाले ती संस्थाहरुलाई मञ्चको विधान तथा संस्थागत अनुशासन बमोजिम मञ्चसँगको आवद्धता समाप्त गरिएको जनाइएको छ ।
मञ्चले एफडब्लूसिएमएसमा कुन प्रक्रियाबाट समावेश भएको र नाम समावेश गराउन कुनै निकायसँग पत्राचार, सम्झौता आदि भएको भए सोको विवरण पनि उपलब्ध गराउन भनेको थियो । तर, उल्लिखत संस्थाहरुबाट आवश्यक सहयोग नभएकाले मञ्चबाट हटाइएको अध्यक्ष जनक रावलले बताए ।