समाजवाद केवल सामाजिक न्यायको दृष्टिकोणबाट मात्र होइन । यस कारण पनि अनिवार्य हुन्छ कि यसबाट राष्ट्रिय साधनहरूको दुरूपयोगसमेत बन्द हुन जान्छ । समाजवादमा साधनहरूमाथि सरकारी स्वामित्व हुने भएकोले आम्दानीको वितरण धेरै मात्रामा समान हुन सक्दछ । त्यसो हुनाले उपभोक्ताहरूको इच्छामा पनि समानता हुन्छ र तिनीहरूको इच्छा पूर्ति हुन जान्छ । समाजवादमा उत्पादनका साधनको वितरण गर्नमा उपभोक्ताहरूको स्वतन्त्रता हुँदैन भन्ने कुरामा सत्यता छैन ।
समाजवाद शब्दको उत्पत्ति ल्याटिन भाषाको ‘सोसियस’ शब्दबाट भएको हो । यसको अर्थ समाज हो । यसको मुख्य लक्ष्य समाजको सुधार गर्नु हो । समाजवादको जन्म पुँजीवादको अन्तरविरोधीको कारणबाट भएको हो । समाजवादको आधारभूत स्वरुपचाहिँ समाजको उन्नतिका लागि आर्थिक अवसर सिर्जना गरेर आर्थिक न्याय प्रदान गर्नु रहेको छ । यसको मतलब सबै जनताले समान आम्दानी गर्नुपर्दछ भन्ने होइन किनभने उत्पादनमा उत्साह जगाउने हो भने उत्पादकहरुलाई ध्यान दिनै पर्छ । त्यसैले आयमा समानता भन्नुको अर्थ आयको अन्तरलाई ज्यादै साँघुरो पार्नुमात्र हो । अतः समाजवादमा आयको असमान वितरण पुँजीवादमाभन्दा बढी अंकुश लगाइएको हुन्छ ।
खास भन्ने हो भने समाजवाद त्यो आन्दोलन हो, जसले निजी पुँजी र त्यसमाथिको प्रभुत्व सत्ता खाली गरी व्यक्तिगत जोखिम र प्रतिस्पर्धा हटाई यसको ठाउँमा समानता त्यो पनि आर्थिक समानता कायम गरी शोषण बन्द गर्न चाहने एउटा युगको माग हो भनेर भन्न सकिन्छ । यसबाट नै देशले राम्ररी उत्पादन गर्न सक्दछ । समाजवादको बारेमा वरट्रेण्ड रसेलसमेतले पनि उत्पादनको वितरणको पक्ष लिएर समानरुपको वितरणलाई बढी जोड दिएको पाइन्छ ।
समाजवादको रुप विश्वव्यापी छ । यसको लक्ष्य निजी सम्पत्ति नहुनु हो । निजी सम्पत्तिलाई यस व्यवस्थामा छुट छैन । समाजवाद एक अमूर्त ठोस सैद्धान्तिक, व्यावहारिक, आदर्शवादी, भौतिकवादी हुनाको साथै अति प्राचीन र पूर्ण आधुनिकता दुवैको संगम हो । यसमा एक कोरा भावनादेखि एक स्पष्ट धर्म, एक धार्मिक नियम, एक आर्थिक प्रणाली, एक ऐतिहासिक तह र एक न्यायिक सिद्धान्तको रुपमा मानिएको छ । यसप्रकार समाजवादको रुप विश्वव्यापी छ । लक्ष्य निजी सम्पत्ति नहुनु हो । यस व्यवस्थामा समाजको सांस्कृतिक, राजनीतिक र आर्थिक तत्वहरुसँग मिलेर रहेका हुन्छन् । समाज जस्तो छ, त्यस समाजको सांस्कृतिक परम्परामा पनि त्यसैको प्रतिविम्ब हुन्छ ।
समाजवादी व्यवस्थाको मुख्य आधार आर्थिक व्यवस्था हो । यसको केन्द्रीय समस्या आर्थिक नै हो । आर्थिक तत्वको चारैतर्फ राजनीतिक, सामाजिक, सांस्कृतिक धार्मिक तथा अन्य तत्वहरुको घेरा हुन्छ । त्यस्तो महत्वपूर्ण केन्द्रीय आर्थिक समस्याको मुख्य लक्ष्य समाज कसरी उपलब्ध आर्थिक वस्तुहरुको उत्पादन, वितरण उपभोग गर्न चाहन्छ, त्यसरी नै ती आर्थिक क्रियाकलापहरुको सञ्चालन गर्नु हो ।
विश्वमा देखिने राजनीतिक तथा सामाजिक घटनाहरुको जन्म आर्थिक कारणद्वारा नै हुने कुरा ऐतिहासिक तथ्यद्वारा सावित गरेको छ । कार्लमाक्र्सले इतिहासलाई क्रमबद्ध तथा तर्कसंगत ढाँचाबाट हेर्ने गरेका छन् । ऐतिहासिक घटनाको मुख्य कारण आर्थिक तत्व हो । सम्पन्न व्यक्तिबाट कमजोर व्यक्तिलाई शोषण गरिन्छ र यो नै वर्ग संघर्षको जड या मुल कारण हो भन्नु पर्दछ । ऐतिहासिक ढंगबाट माक्र्सले इतिहासको भौतिक व्याख्या गरेका छन् । अर्काे, माक्र्सले पुँजीपतिहरुद्वारा श्रमिक वर्गलाई शोषण गरिरहेका छन् भन्ने विषयलाई मूर्त रुप दिने कार्य अतिरिक्त मूल्यको सिद्धान्तलाई बढी महत्व दिएका छन् । यस सिद्धान्तको मूल उद्देश्य पुँजीपतिले श्रमजीवीहरुको श्रमको शोषण कसरी गर्दछन् भन्नेबारे सर्वसाधारणमा स्पष्ट गर्नु हो । तर माक्र्सको सिद्धान्तलाई पनि धेरै आधुनिक विचारकहरुले आलोचना गरेका छन् । कार्लमाक्र्सले भविष्यवाणी गरेझैं राष्ट्रिय आम्दानी बढेपछि ज्याला घटेको पाइँदैन र पश्चिमी युरोप तथा संयुक्त राज्य अमेरिकामा श्रमिक वर्गको रहनसहनको स्तरमा सुधार भएको छ ।
समाजवादले उत्पादनका साधनहरुमाथि सामूहिक स्वामित्व र व्यवस्थापनलाई लागू गर्दछ तर समाजवादमा मूल्य र बजारको स्थापना हुँदैन । यस व्यवस्थाले उपयोग र कृषिलाई राज्यको हातमा राख्छ तर उपभोग्य वस्तुउपर निजी स्वामित्वलाई खल्बल्याइरहन्छन् । प्रत्येक व्यक्ति आफूले चाहेअनुसारको उपभोग्य वस्तु रोज्न स्वतन्त्र हुन्छ । यस व्यवस्थाअन्तर्गत राज्य केन्द्रीय सत्ताको रुपमा कार्य गर्दछ । राज्यको आज्ञाअनुसार नै देशमा उत्पादन, उपभोग र वितरण प्रणालीको व्यवस्था गरिएको हुन्छ । उद्यमी वा लगानीकर्ता वा ‘साहसी’को कार्य राज्य आफैं गर्दछ । साहसीले उत्पादनका सबै साधनहरूलाई एकत्रित गर्दछ र उत्पादन गरिन्छ तथा सबै साधनहरूले उचित पुरस्कार लिएपछि जुन वचेको हुन्छ, त्यही राज्य संगठन रहन्छ । राज्यले यसरी प्राप्त गर्ने लाभलाई लोकहित कार्यहरूमा खर्च गरिन्छ, राज्य त्यो केन्द्र हो, जसबाट समाजवादी व्यवस्थाको सिद्वान्तलाई व्यवहारमा ल्याउने कार्य गर्दछ ।
उत्पादनका सबै साधनहरूमा व्यक्तिगत अधिकार हुँदैन, व्यक्ति समाजको अधिकार हुन्छ । उत्पादनका सबै साधन समाजका प्रतिनिधि राज्यद्वारा नियन्त्रित गर्ने गरिन्छ भने समाज अधिकारको सिद्वान्तअनुसार प्रतिफलको वितरण गरिन्छ । राज्यद्वारा उत्पादन, लाभ प्राप्त गर्ने दृष्टिबाट नगरेर जनहितको दृष्टिबाट गरिन्छ । समाजवादी अर्थव्यवस्थामा आर्थिक नियोजनका महत्वपूर्ण स्थान प्राप्त भएको हुन्छ । किनभने समाजवादको सफलता आर्थिक नियोजनमा नै आधारित हुन्छ । राज्य आफ्नो निश्चित् र निर्धारित नीतिका आधारमा केही प्रमुख विषयहरूको प्रमुखता दिएको हुन्छ र त्यसैको आधारमा देशमा उत्पादन, उपभोग, वितरण र विनिमय गरिन्छ ।
आर्थिक नियोजन गर्ने काम राज्य आफैं गर्दंछ । समाजवादमा समाज पूर्णतया वर्गसहित हुन्छ । यस व्यवस्थामा न त कुनै व्यक्ति मालिक हुन्छ न त कुनै व्यक्ति नोकर हुन्छ । यस्तै प्रकार न कुनै पुँजीपति नै हुन्छन् । हरेक व्यक्तिलाई आफ्नो उन्नति गर्न समान अवसर र अधिकार प्राप्त हुन्छ । यसबाट स्पष्ट हुन्छ कि समाजवादी समाजमा जन्मजात कुनै अधिकार र पद हुँदैन तर प्रत्येक व्यक्ति आफ्नो प्रतिभा र योग्यताद्वारा माथिल्लो पद प्राप्त गर्न सकिन्छ । व्यक्तिगत सम्पत्तिको अधिकार नहुनुको कारणले गर्दा समाजमा विस्तार विस्तारै असमानता समाप्त भएर समानता पैदा हुन्छ र सम्पूर्ण समाज एक वर्गरहित समाजमा परिणत हुन्छ ।
समाजवादी व्यवस्थामा वर्गरहित समाज हुन्छ । सबै मानिस समान हुन्छन् र व्यक्तिगत पुँजी तथा सम्पत्ति राख्ने अधिकार हुँदैन । कुनै पनि व्यक्तिले परिश्रम नगरी कुनै प्रकारको प्रतिफल प्राप्त गर्न सक्दैनन् । समाजवादमा शोषणको कुनै स्थान प्राप्त हुँदैन । अतः कुनै व्यक्तिद्वारा गरेको परिश्रमको फलको उपभोग अरु व्यक्तिले गर्न सक्दैन । समाजवादी अर्थव्यवस्थामा प्रतिस्पर्धा गर्न सम्भव हुँदैन । उत्पादनका सबै साधनहरूमा राज्यको अधिकार हुन्छ । राज्य आफैं साहसी र पुँजीपतिको कार्य गर्दछ र सम्पूर्ण उत्पादनको व्यवस्थाको कार्य सञ्चालन गर्दछ । उत्पादनसँग सम्बन्धित व्यवस्था विभिन्न संस्थाहरू जस्तोः यातायातको साधन, बैंक, बिमा आदि सबैको राष्ट्रियकरण गरिन्छ । यसप्रकार यस व्यवस्थामा कुनै प्रकारको प्रतिस्पर्धा हुँदैन ।
यस व्यवस्थाले आफ्नो श्रमबाट कमाउने धनलाई मात्र राख्न पाइने अधिकार तथा अनुमति दिइन्छ । तर यसको मतलब निजी सम्पत्तिको स्वामित्व पूरा हटाउने होइन । यस व्यवस्थामा सबै मानिसहरूलाई लुगा, फर्निचर, घर आदि राख्ने मौका दिइएको हुन्छ । तर देशको भूमि र मौलिक भारी उपयोगमा राज्यको स्वामीत्व हुन्छ । पुँजीवादी अर्थव्यवस्थामा श्रमिक र पुँजीपतीमा पारस्परिक सहयोग नहुनुको कारणले गर्दा मजदुर र पुँजीपती वर्ग दुई भागमा विभाजित हुन जान्छ । यस व्यवस्थामा मानव–मानवमा असमान व्यवहार हुन्छ र पुँजीपतीले श्रमिक वर्गलाई शोषण गर्ने कार्य गर्दछ । तर समाजवादी व्यवस्थामा यस किसिमको शोषण र भेदभाव कहिल्यै हुँदैन । किनभने यस व्यवस्थाले सबैलाई समान व्यवहार गर्दछ र धनी, गरिब, ठूलो, सानो सबैलाई समान किसिमले व्यवहार गर्दछ र मानव समानताको उद्देश्य र अर्थ मानसिक योग्यताको समानता होइन ।
समाजवादी अर्थव्यवस्थामा सम्पूर्ण अर्थव्यवस्थाको कार्यान्वयन सरकारद्वारा नियन्त्रित हुन्छ र सम्पूर्ण कार्यहरू सार्वजनिकरूपमा हुन्छन् । अतः सार्वजनिक क्षेत्रले राष्ट्रिय आयको अधिकांश भागको उत्पादन र उपभोग आफैंले गर्ने हुन्छ र अर्थव्यवस्थाका मूल बिन्दुहरू पनि सरकारी नियन्त्रणमै रहेको हुन्छ । अतः समाजवादीहरू अर्थव्यवस्थामा बचतको निर्माण र सरकारी बजेट तथा सरकारी कार्यहरूद्वारा नै गरिने हुन्छ । केन्द्रीकृत योजनाबाट अर्थव्यवस्थामा सरकारी बजेट नै त्यो हतियार हो, जसले प्रत्यक्ष रूपमा अर्थव्यवस्थाको प्रत्येक कार्यक्रमको रूपरेखा र बजेट सीमांकनको निर्धारण गर्दछ । त्यहाँ सम्पूर्ण कार्यक्रमको वित्तीय र अन्य क्षेत्रहरूलाई समष्टी रूपमा सरकारी बजेटले दर्शाएको हुन्छ ।
निष्कर्षमा हामी भन्न सक्छौं कि, समाजवाद केवल सामाजिक न्यायको दृष्टिकोणबाट मात्र होइन । यस कारण पनि अनिवार्य हुन्छ कि यसबाट राष्ट्रिय साधनहरूको दुरूपयोगसमेत बन्द हुन जान्छ । समाजवादमा साधनहरूमाथि सरकारी स्वामित्व हुने भएकोले आम्दानीको वितरण धेरै मात्रामा समान हुन सक्दछ । त्यसो हुनाले उपभोक्ताहरूको इच्छामा पनि समानता हुन्छ र तिनीहरूको इच्छा पूर्ति हुन जान्छ । समाजवादमा उत्पादनका साधनको वितरण गर्नमा उपभोक्ताहरूको स्वतन्त्रता हुँदैन भन्ने कुरामा सत्यता छैन ।