रौतहट- बृन्दावन नगरपालिकामा एकै दिन दुई वटा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ। मंगलबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले वडा नं. ५ अन्तर्गत नरकटिया र वडा नं. ८ अन्तर्गत आकडपाथडमा निर्माण सम्पन्न वडा कार्यालय भवनको उद्घाटन गरेका हुन्।
नगरपालिकाले वडा कार्यालयका लागि आफ्नै भौतिक पूर्वाधार निर्माण गरेसँगै लामो समयदेखि भाडाका कोठा तथा अन्य संघ-संस्थाका भवनबाट सञ्चालन हुँदै आएका वडा कार्यालय अब आफ्नै भवनबाट सञ्चालन हुने भएका छन्। कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्ष फेकु दास र रबिन्द्र प्रसाद साह, जनप्रतिनिधि, नगरपालिका तथा वडा कार्यालयका कर्मचारी, स्थानीय अगुवा तथा सर्वसाधारणको सहभागिता थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख कुर्मीले करिब नौ वर्षदेखि भाडाका कोठा तथा अन्य संघ-संस्थाका भवनबाट वडा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता अब अन्त्य भएको बताए। आफ्नै भवन निर्माण भएपछि नागरिकलाई प्रशासनिक सेवा, विभिन्न सिफारिस, जन्मदर्ता, बसाइँसराइ, सामाजिक सुरक्षा लगायतका सेवा लिन थप सहज हुने उजको भनाइ छ ।
स्थानीय सरकारको सेवा प्रवाहलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधार आवश्यक रहेको बताउँदै नगर प्रमुख कुर्मीले वडा कार्यालयका आफ्नै भवन निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे। उनले भने,'व्यवस्थित कार्यालयबाट कर्मचारीलाई काम गर्न सहज हुने र सेवाग्राहीले पनि एउटै स्थानबाट आवश्यक सेवा प्राप्त गर्ने वातावरण बनेको छ ।'
नगरपालिकाका अनुसार नवनिर्मित एकतले वडा कार्यालय भवनमा सभा हल, स्टोर कोठा, प्राविधिक कोठा, कार्यालय सचिवको कार्यकक्ष, वडा अध्यक्षको कार्यकक्ष, दुई वटा शौचालय तथा बाथरुमलगायतका संरचना रहेका छन्। पर्याप्त भौतिक सुविधासहितको भवन निर्माण भएपछि वडा कार्यालयका दैनिक प्रशासनिक काम थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
नगर प्रमुख कुर्मीले आफू निर्वाचित भएदेखि नगरवासीको आवश्यकता, माग र प्राथमिकताका आधारमा विकास निर्माणका कामलाई अगाडि बढाउँदै आएको बताए। सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, नाला, विद्यालय तथा वडा कार्यालयजस्ता आधारभूत पूर्वाधारलाई प्राथमिकतामा राखेर नगरपालिका अघि बढिरहेको उनको भनाइ थियो।
वडा नं. ५ का वडाध्यक्ष फेकु दासले आफ्नो वडाको विकासमा नगर प्रमुख कुर्मीले देखाएको सक्रियता र तदारुकताको प्रशंसा गरे। विगतमा वडा नं. ५ दुर्गम क्षेत्रजस्तै रहेको स्मरण गर्दै उनले सडक, शिक्षा, खानेपानी, नाला तथा स्वास्थ्य सेवाजस्ता आधारभूत सुविधाबाट स्थानीयवासी लामो समयसम्म वञ्चित हुनुपरेको बताए।
आफूहरू निर्वाचित भएपछि वडावासीको आवश्यकता र मागअनुसार सडक, नाला, विद्यालय भवन, स्वास्थ्यसम्बन्धी पूर्वाधारलगायत विभिन्न विकास योजनालाई प्राथमिकताका साथ अगाडि बढाइएको वडाध्यक्ष दासले बताए । आफ्नै वडा कार्यालय भवन निर्माण भएपछि वडाको प्रशासनिक काम अझ व्यवस्थित हुने र सेवाग्राहीलाई सेवा लिन सहज हुने उनले विश्वास व्यक्त गरे।
त्यस्तै, वडा नं. ८ का वडाध्यक्ष रबिन्द्र प्रसाद साहले नगर प्रमुख कुर्मी तथा नगरपालिकाप्रति धन्यवाद व्यक्त गरे। नगर प्रमुखको पहल तथा नगरपालिकाको सहयोगमा वडा नं. ८ मा सडक, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत विभिन्न क्षेत्रमा करिब १२ करोड रुपैयाँ बराबरका विकास निर्माणका काम सम्पन्न तथा सञ्चालनमा रहेको उनले जानकारी दिए।
वडाध्यक्ष साहले आगामी दिनमा पनि वडाको आवश्यकता र प्राथमिकतालाई आधार बनाएर थप विकासका योजना सञ्चालन गर्न नगरपालिकासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। आफ्नै वडा कार्यालय भवन निर्माण भएपछि स्थानीयवासीलाई सेवा लिन सहज हुनुका साथै वडा कार्यालयको प्रशासनिक कामसमेत प्रभावकारी बन्ने उनको भनाइ थियो।
दुवै वडा कार्यालय भवन निर्माण सम्पन्न भएसँगै स्थानीयवासीले वडा कार्यालयबाट सेवा लिन भाडाका कोठा तथा अस्थायी संरचनामा निर्भर हुनुपर्ने अवस्था अन्त्य भएको छ। आफ्नै भवनमा कार्यालय सञ्चालन भएपछि कर्मचारीलाई काम गर्न सहज हुने, कार्यालयका कागजात तथा अभिलेख सुरक्षित राख्न सुविधा पुग्ने र सेवाग्राहीका लागि पनि व्यवस्थित वातावरण बन्ने अपेक्षा गरिएको छ।
बृन्दावन नगरपालिकाले पछिल्लो समय वडा कार्यालय भवनसँगै सडक, नाला, विद्यालय, स्वास्थ्य संस्था तथा खानेपानीजस्ता आधारभूत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। नवनिर्मित वडा कार्यालय भवनलाई स्थानीय सरकारको सेवा प्रवाहलाई थप संस्थागत, व्यवस्थित र नागरिकमैत्री बनाउने महत्वपूर्ण पूर्वाधारका रूपमा लिइएको छ।
नगरपालिकाका अनुसार आगामी दिनमा पनि आवश्यक पूर्वाधारको पहिचान गरी नागरिकको प्रत्यक्ष आवश्यकता र मागका आधारमा विकास योजनालाई अगाडि बढाइनेछ। आफ्नै वडा कार्यालय भवनबाट नियमित सेवा सञ्चालन भएपछि वडा नं. ५ र वडा नं. ८ का नागरिकले सरकारी सेवा प्राप्त गर्न थप सहज र प्रभावकारी वातावरण पाउने विश्वास गरिएको छ।