भारतको एकै विश्वविद्यालयमा फेरि पनि नेपाली छात्राको मृत्यु भएको छ । एउटै विश्वविद्यालयमा उस्तै प्रकृतिको मृत्युले नेपाली विद्यार्थीहरुको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ । भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल (किट)मा वैशाख १८ गते वीरगञ्जकी १८ वर्षीया प्रिशा साह मृत भेटिइन् । सोही विश्वविद्यालयमा गत फागुन ४ गतेमात्र नेपालगञ्जकी २० वर्षीया प्रकृति लम्सालको पनि मृत्यु भएको थियो ।
प्रकृतिको मृत्यु शंकास्पद् भन्दै नेपाली विद्यार्थीले विरोध गरेका थिए । परिणामस्वरुप उनीहरु विश्वविद्यालयबाट लखेटिए । सामाजिक सञ्जालमा इन्स्टिच्युटको चौतर्फी विरोध भएपछि उनीहरुलाई फिर्ता बोलाइयो । सायद यही घटनाले त्रसित भएर होला प्रिशा मृत्यु प्रकरणमा नेपाली विद्यार्थीहरुले आवाज उठाएनन् । यद्यपि, सदनमा भने उनको मृत्युको विषयमा आवाज उठेको छ । तर नेपालमा हिजोको कुरा आज बिर्सन्छ । आवाज उठाउनेहरुले आफूले आफ्नो काम गरिहाले, म बोलिहाले भन्ने किसिमले अर्को दिनबाट दबाब दिनै छाड्छन् ।
यसले भारतमा पढ्न जाने विद्यार्थीको मानसिक अवस्था कस्तो छ ? उनीहरु कति दबाबमा पढ्छन् भन्ने अनुमान गर्न सकिन्छ । हुन त बेलाबेला भारतीय फिल्महरुमा देखिन्छ पढाइका लागि परिवार र विश्वविद्यालयको पेलानका कारण कति विद्यार्थीले आफ्नै ज्यान लिन्छन् । कतै यस्तै फिल्मको झल्को दिनेगरी अभिभावक र विश्वविद्यालयको चर्को दबाव उनीहरुले धान्न नसकेको त हैन ?
यसबारे सरकारले गम्भीर भएर अध्ययन गर्नुपर्छ । आफ्नै ज्यान लिनुका विभिन्न कारणमध्ये पढेपछि पास हुनैपर्ने, परिवारको जबरजस्तीकरण पनि हुनसक्छ । अथवा विश्वविद्यालयले जसरी पनि विद्यार्थीले रोजेको विषयमा भनेकै जति नम्बर ल्याउनैपर्छ भन्ने दबाव पनि दिएको हुनसक्छ । अथवा मन नपरेको विषय जबरजस्ती पढाउँदा पनि यस्तो परिस्थितिहरु सिर्जना हुन्छन् ।
यस्तो विषयमा सरकारले मनोपरामर्शको व्यवस्था गर्नुपर्छ । विश्वमा पढाइ सबैथोक होइन । स्वस्थ जीवन सबैभन्दा ठूलो कुरा हो । जो मानसिकरुपमा स्वस्थ रहन्छ उही व्यक्ति शिक्षा, ज्ञान र आर्थिक हिसाबले बलियो हुँदै जान्छ । सामाजलाई देखाउने नाममा चर्को दबाब झेलेर पढ्नैपर्ने, भनेकै श्रेणी ल्याउनुपर्नेजस्ता दबाव किशोर अवस्थामा धान्नै सकिँदैन । यसलाई अभिभावक र विश्वविद्यालयले बुझ्ने बेला भइसकेको छ । यसैले प्रकृति र प्रिशाको मृत्यु प्रकरण के हो ? विश्वविद्यालयसँग समन्वय गरी सरकारले चाँडो कारण पत्ता लगाउनुपर्छ ।