सरकारले हरेक वर्ष बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम ल्याउँछ । नीति तथा कार्यक्रम बजेटको जगजस्तै हो । यसैबाट सरकारले आगामी बजेट कस्तो ल्याउँदै छ भन्ने अनुमान गर्न सकिन्छ । बजेट अंक हो भने नीति तथा कार्यक्रम कार्ययोजना । तर यसपटक झण्डै दुईतिहाइको सरकारले जनतामा आशा जगाउने खालको नीति तथा कार्यक्रम ल्याउन सकेन । राष्ट्रपति रामचन्द्र पौडेलले पौने एक घण्टा लगाएर पढेको यो दस्तावेजलाई दलबलसहित उपस्थित सत्तारुढ दलका सांसदहरुले एकपटक पनि टेबल ठोकेनन् । पहिलेपहिलेका नीति तथा कार्यक्रममा सांसदहरुले टेबल ठोक्थे ।
टेबल ठोक्नुको कारण हो कार्यक्रम मन परेर । सरकारको नीति तथा कार्यक्रम आएपछि विषय विज्ञहरुले प्रतिक्रिया दिने गर्छन् । यसपटक कसैले पनि सकारात्मक प्रतिक्रिया दिएको देखिएन न त आलोचना नै । सरसर्ती हेर्दा यो नीति कार्यक्रम भूकम्पबाट चर्किएर भत्किन लागेको घरलाई रेट्रोफिट गरी जोगाउन लागेको जस्तोमात्र देखिन्छ । देशले झेलिरहेकाको विभिन्न समस्या समाधान गर्ने गरी बिग्रँदो आर्थिक अवस्था, रोजगारी र परराष्ट्र सम्बन्धलाई सुधार गर्ने भन्दै कार्यक्रमहरु पेस गरेको छ । ५५ पृष्ठमा समेटिएको १५५ बुँदे नीति तथा कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरुसँग भएको खराब कर्जा व्यवस्थापन गर्न कम्पनी खोल्ने भनिएको छ ।
यसअघिदेखि नै अघि सारेको डिजिटलमैत्री नारा पनि यो कार्यक्रममा समावेश गरिएको छ । बजेट अधिवेशनबाटै नौ वटा कानुन बनाउने घोषणा गरेको छ । यी कार्यक्रमहरु हेर्दा सरकार निकै दबाबमा भएझैं देखिन्छ । त्यसो त सरकारले जेन–जी पुस्तालाई विशेष प्राथमिकतामा राखेर स्टार्टअप कार्यक्रम ल्याउने भनेको छ । नेपालमा स्टार्टअप कार्यक्रम हेर्ने हो भने अधिकांश असफल छन् । कारण अध्ययन अनुसन्धानविनाको लगानी र फस्टमनीको आशा । सरकारले नीति तथा कार्यक्रम गहन अनुसन्धान गरी ल्याउनुपर्ने हो । तर हचुवाको भरमा कार्यक्रमहरु ल्याउँदा अधिकांश कार्यक्रमले हावा खाएको देखिन्छ ।
हुन त यो नीति तथा कार्यक्रममा नयाँ कार्यक्रमहरु खासै छैनन् । यसको मुख्य कारण राखिएका नयाँ कार्यक्रमहरुको असफलताले होला । तर पनि लामो अध्ययन र अनुसन्धानपछि सफल भएका कार्यक्रमहरु राख्नुपर्छ । यसका लागि राज्यले अनुसन्धानमा लगानी गरोस् र आशा जगाउने खालका कार्यक्रमहरु ल्याओस् । नीति तथा कार्यक्रममा देखिएका खाल्डाहरु बजेटमार्फत पुरिने आशा गरौं ।