पूर्वनिर्धारित मितिमै सुरू भएको भए कक्षा १२ को परीक्षा आजसम्म सकिसकेको हुने थियो । विद्यार्थीहरु परीक्षा सकेर फुर्सदिला भइसक्थे । तर, शिक्षक आन्दोलनको मारमा परे विद्यार्थी । परीक्षाको अन्तिम तयारीमा रहेका बेला परीक्षा स्थगित हुन पुग्यो । त्यसो त शिक्षकहरु नै आन्दोलनमा भएपछि परीक्षा सञ्चालन नहुने लगभग निश्चित नै थियो । सरकार भने शिक्षकलाई बाइपास गरेर परीक्षा जसरी पनि चलाउन कस्सियो । निजामती कर्मचारीलाई परीक्षामा खटाउने निर्णय गर्यो । तर, त्यो सम्भव थिएन । अन्तमा भयो नै त्यस्तै । वैशाख ११ बाट सुरु हुने परीक्षा केही घण्टा अघि अर्थात् १० गते साँझतिर मात्र स्थगित गरियो । त्यसरी स्थगित भएको परीक्षा आजदेखि सुरु हुँदै छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा देशभरबाट पाँच लाख ११ हजार ५२५ जना परीक्षार्थी सहभागी हुँदै छन् । नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना परीक्षार्थी परीक्षामा सामेल हुँदै छन् । परीक्षाका लागि एक हजार ५९१ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा यस वर्ष जापानबाट ३७ जनाले सहभागिता जनाउँदै छन् ।
परीक्षामा यस वर्ष सबैभन्दा थोरै मनाङबाट ४५ जना परीक्षार्थी छन् । सर्वाधिक काठमाडौंबाट ६८ हजार १३३ जना परीक्षार्थी सहभागी हुने छन् । प्रदेशगत रूपमा हेर्दा कर्णाली प्रदेशबाट यस वर्ष सबैभन्दा कम ३८ हजार ८८८ जना र बागमती प्रदेशबाट सबैभन्दा धेरै एक लाख ३५ हजार २४० परीक्षार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदै छन् । यसैगरी कोशी प्रदेशबाट ८२ हजार ८७१ जना, मधेस प्रदेशबाट ६९ हजार ८०८ जना, गण्डकीबाट ४३ हजार ३४९ जना, लुम्बिनीबाट ९० हजार ६७८ र सुदूरपश्चिम प्रदेशबाट ५० हजार ६५४ विद्यार्थी रहेका छन् ।
राजनीतिक अस्थिरता र विभिन्न आन्दोलनको मारमा नेपालको शैक्षिक क्षेत्र पर्दै आएको छ । यसको पछिल्लो उदाहरण बनेको छ कक्षा १२ को परीक्षा । अन्तिम समयमा परीक्षा स्थगित हुँदा विद्यार्थीमा कस्तो मानसिक असर पुग्यो होला ? यो गम्भीर प्रश्न छ । तर, यसमा सरोकारवालाहरुले ध्यान दिएका छंैनन् । आफ्नो अधिकार प्राप्त गर्ने नाममा विद्यार्थीको अधिकार हनन् गर्नु सुहाउने कुरा होइन । यो वातावरण बनाउन सरकार र आन्दोलन गर्ने पक्ष दुवै जिम्मेवार छन् । यसरी विद्यार्थीको भविष्यमाथि खेलबाड गरिनु खेदजनक छ ।
मुलुकको शिक्षा प्रणाली कमजोर हुँदा दैनिक हजारौं विद्यार्थी लाखौं खर्चेर अध्ययनका लागि विदेश गइरहेकाबारे जानकार नभएका होइनन् । जानाजान बेवास्ता गरिएको हो । यस्तो प्रवृत्ति फेरि दोहोरिनु हुन्न । ढिलै भए पनि सुरू भएको परीक्षा मर्यादित बनाइयोस् । विद्यार्थीलाई सहज वातावरणमा ढुक्कसँग परीक्षा दिने व्यवस्था गरियोस् । सम्पूर्ण परीक्षार्थी भाइबहिनीहरुलाई शुभकामना ।