सोमबार त्रिशूलीमा भएको बस दुर्घटनामा १९ जनाले ज्यान गुमाएको घटनाले मुलुकलाई स्तब्ध बनाएको छ । पछिल्लो १८ दिनमामात्रै तीनवटा ठूला दुर्घटनामा ४४ जनाको मृत्यु हुनुले हाम्रो यातायात प्रणाली कति असुरक्षित छ भन्ने डरलाग्दो चित्र प्रस्तुत गर्दछ । हरेक ठूला दुर्घटनापछि सरकारले ‘छानबिन समिति’ गठन गर्ने र ‘सत्यतथ्य पत्ता लगाउने’ पुरानै शैली दोहो¥याएको छ । तर, बितेका घटनाहरूको अनुभवले भन्छ- यी समितिहरू दुर्घटनाको कारण खोज्नभन्दा पनि तत्कालको जनआक्रोश साम्य पार्ने ‘सुरक्षित अवतरण’का माध्यममात्र बनिरहेका छन् ।
विगतमा गठित थुप्रै समितिले बुझाएका प्रतिवेदनहरू अहिले मन्त्रालयका दराजमा धूलो जमेर बसेका छन् । २०८१ असारको सिमलताल दुर्घटनापछि गठित छवि रिजाल नेतृत्वको समितिको प्रतिवेदन एउटा ताजा उदाहरण हो । उक्त प्रतिवेदनले सडक सुरक्षा परिषद् गठन, अटोमेटेड भेहिकल मनिटरिङ सिस्टम र टाइम कार्डजस्ता महत्वपूर्ण सुझाव दिएको थियो । यदि ती सुझावहरू कार्यान्वयन भएको भए सायद त्रिशूली, बैतडी र रामेछापका पछिल्ला दुर्घटनाहरू रोक्न सकिन्थ्यो होला । सुझाव कार्यान्वयनमा देखाउने सरकारी उदासीनताले के पुष्टि गर्छ भने, सरकार नागरिकको ज्यान बचाउनभन्दा प्रक्रिया पु¥याउन बढी केन्द्रित छ ।
नेपालमा दैनिक औसत सात जनाले सडक दुर्घटनामा ज्यान गुमाउनु सामान्यजस्तै भइसकेको छ । सडकको दयनीय अवस्था, सवारीसाधनको अवस्था परीक्षणमा लापरवाही र तीव्र गति नै दुर्घटनाका मुख्य कारक हुन् । यातायात पूर्वाधारविज्ञहरूले बारम्बार औंल्याएका ‘रिफ्रेसमेन्ट सेन्टर‘ र ‘सर्भिलेन्स सिस्टम‘ कागजमै सीमित छन् । वर्तमान ‘नागरिक सरकार’ले निर्वाचन गराउने म्याण्डेट पाएको बहानामा यस्ता संवेदनशील सुरक्षाका विषयलाई थाती राख्नु हुँदैन । कानुनी पूर्वाधार निर्माण र भएका नियमको कडा कार्यान्वयनका लागि सरकारको इच्छाशक्ति नै निर्णायक हुन्छ ।
दुर्घटना भएपछि रुवाबासी गर्ने र समिति बनाउने ‘तदर्थवादी’ सोचले अब पुग्दैन । छानबिन समितिका प्रतिवेदनहरू कार्यान्वयनको कार्ययोजनासहित सार्वजनिक गरिनुपर्छ । सडक सुरक्षा कुनै राजनीतिक एजेण्डा होइन, यो नागरिकको बाँच्न पाउने मौलिक हकसँग जोडिएको विषय हो । अब पनि पुराना प्रतिवेदनहरू दराजमै थन्क्याएर नयाँ समितिको नाटकमात्रै गर्ने हो भने सडकमा भइरहेका यी मृत्युहरूलाई ‘दुर्घटना’ होइन, ’राज्यको लाचारीले गराएको हत्या’ मान्नुपर्ने हुन्छ । सरकार, समितिको फाइल होइन, सडकमा सुरक्षाको अनुभूति गराऊ !