धुलिखेल- सरकारी कामकाजमा तामाङ र नेपाल भाषाको प्रयोगलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले कर्मचारीहरूसँगको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम काभ्रेपालाञ्चोकको धुलिखेलमा सम्पन्न भएको छ।
नेपाल तामाङ घेदुङको आयोजनामा, नेवा देयः दबूको सहकार्य तथा बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा आयोजित कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, शाखा अधिकृत, शिक्षा प्रमुख, कर्मचारी, भाषा अभियन्ता तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नेपाल तामाङ घेदुङका संघीय उपमहासचिव बिलाम मोक्तान को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल तामाङ घेदुङका पूर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार मोहनकुमार गोले तामाङ र नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव डा. लोकबहादुर लोप्चान ले सहजीकरण गरेका थिए।
कार्यक्रममा बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत काठमाडौं सम्पर्क कार्यालयका प्रमुख पवनकुमार पोखरेल, नेवा देयः दबूका संघीय उपाध्यक्ष शान्त श्रेष्ठ, रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न पालिकाका शाखा अधिकृत, नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, धुलिखेल नगरपालिका, बनेपा नगरपालिका तथा महाभारत गाउँपालिकाका शिक्षा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
अन्तरक्रियामा नेपालको संविधानले सुनिश्चित गरेको भाषिक अधिकार, स्थानीय सरकार सञ्चालन ऐन तथा प्रदेश सरकारको भाषा नीतिअनुसार सरकारी कामकाजमा मातृभाषाको प्रयोग विस्तार गर्नुपर्ने विषयमा गहन छलफल भएको थियो। वक्ताहरूले तामाङ र नेपाल भाषा बागमती प्रदेशका प्रमुख मातृभाषा भएकाले स्थानीय तहका कार्यालय, सूचना प्रणाली, पत्राचार, सिफारिस, अभिलेख व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहमा यी भाषाको प्रयोगलाई क्रमशः संस्थागत गर्दै लैजानुपर्नेमा जोड दिएका थिए।
नेपाल तामाङ घेदुङका पूर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार मोहनकुमार गोले तामाङले भाषा कुनै समुदायको पहिचान, संस्कृति र सभ्यताको आधार भएकाले यसको संरक्षण र व्यवहारिक प्रयोगलाई राज्यले प्राथमिकता दिनुपर्ने बताए। उनले मातृभाषाको प्रयोगले समावेशी लोकतन्त्रलाई सुदृढ बनाउनुका साथै राज्य र नागरिकबीचको सम्बन्धलाई थप नजिक बनाउने धारणा व्यक्त गरे।
उपसचिव डा. लोकबहादुर लोप्चानले भाषिक अधिकार कार्यान्वयन संविधानको मर्मअनुसारको दायित्व भएको उल्लेख गर्दै स्थानीय तहमा मातृभाषाको प्रयोग बढाउन कर्मचारीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताए। उनले भाषा प्रयोगका लागि आवश्यक नीति, कार्यविधि, स्रोतसाधन र जनशक्ति व्यवस्थापनमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने धारणा राखे।
कार्यक्रममा सहभागी कर्मचारी तथा जनप्रतिनिधिहरूले मातृभाषामैत्री प्रशासन निर्माणका लागि स्थानीय तहमा आवश्यक पहल गर्ने, सार्वजनिक सूचना तथा सेवाहरूलाई स्थानीय भाषामैत्री बनाउने तथा भाषिक अधिकारको सम्मान र संरक्षणका लागि प्रतिबद्ध रहने बताएका थिए।
कार्यक्रममा नेवा देयः दबू काभ्रेका प्रतिनिधिहरू, नेपाल तामाङ घेदुङका संघीय पदाधिकारी, संघीय सदस्य, जिल्ला तथा स्थानीय तहका घेदुङका जिम्मेवार प्रतिनिधिहरू, विभिन्न सामाजिक तथा सांस्कृतिक संघसंस्थाका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले बागमती प्रदेशमा भाषिक विविधताको संरक्षण, मातृभाषाको सम्मान तथा सरकारी कामकाजमा तामाङ र नेपाल भाषाको प्रयोगलाई संस्थागत गर्न महत्वपूर्ण आधार तयार गरेको सहभागीहरूले बताएका छन्। आयोजक संस्थाले यस्ता कार्यक्रमलाई प्रदेशका अन्य जिल्लाहरूमा समेत निरन्तरता दिँदै भाषिक अधिकार कार्यान्वयन अभियानलाई थप सशक्त बनाउने जनाएको छ।