आज गणतन्त्र दिवस । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष आजकै दिन गणतन्त्र दिवस मनाइँदै आएको छ । यो दिवस केवल एक औपचारिक उत्सवमात्र होइन; यो नेपाली जनताको लामो संघर्ष, बलिदान र परिवर्तनप्रतिको अदम्य चाहनाको जीवन्त दस्तावेज हो । झण्डै २५० वर्ष लामो निरंकुश र केन्द्रीकृत राजतन्त्रात्मक प्रणालीलाई बिदाइ गरेर मुलुकले अंगीकार गरेको यस व्यवस्थाको मूल मर्म नै ‘जनता नै राज्यको शक्तिका वास्तविक स्रोत हुन्’ भन्ने हो । आजको दिनमा गणतन्त्र दिवस मनाइरहँदा, यस व्यवस्थाले सुदूर गाउँका नागरिकलाई दिएको अधिकार र अब तय गर्नुपर्ने समृद्धिको यात्राबारे गम्भीर आत्मसमीक्षा गर्नु यसको वास्तविक सान्दर्भिकता हो ।
राज्यको शासकीय स्वरूपमा आएको अभूतपूर्व समावेशिता र विकेन्द्रीकरण गणतन्त्रको सबैभन्दा ठूलो उपलब्धि हो । विगतमा राज्यको केन्द्र र सीमित कुलीन वर्गमामात्रै खुम्चिएको शक्ति र स्रोत अहिले स्थानीय तह र प्रदेश सरकारमार्फत नागरिकको घरदैलोसम्म पुगेको छ । हिजो सिंहदरबारको निर्णय पर्खनुपर्ने गाउँहरू आज आफैं आफ्नो भाग्य विधाता बनेका छन् । महिला, दलित, आदिवासी जनजाति, मधेसी र पिछडिएका ग्रामीण समुदायको राज्यका नीति निर्माण गर्ने तहमा भएको सम्मानजनक प्रतिनिधित्व गणतन्त्रकै उपज हो । सामान्य नागरिकका छोराछोरी मुलुकको सर्वोच्च पद ‘राष्ट्राध्यक्ष’ बन्न सक्ने परिस्थिति निर्माण हुनु आफैंमा एउटा सुन्दर लोकतान्त्रिक रूपान्तरण हो ।
गणतन्त्र स्थापनापछि पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, सामाजिकलगायत विविध क्षेत्रको रुपान्तरणमा आशालाग्दा कामहरु भएका छन् । तर, आज पनि जनतामा निराशा र असन्तुष्टि व्याप्त छ । राजनीतिक व्यवस्था बदलिए पनि आमनागरिकको आर्थिक र सामाजिक अवस्थामा अपेक्षित सुधार आउन नसकेको गुनासो चौतर्फी सुनिन्छ । जनअपेक्षा अनुसार सुशासन कायम हुन नसक्नु, भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण नहुनु र सुस्त सेवा प्रवाहका कारण नागरिकमा निराशा थपिएको छ । यसैको परिणाम हो, भदौ २३ को जेन–जी विद्रोह । युवाहरुमा बढ्दो चरम निराशाको विष्फोट थियो उक्त विद्रोह ।

जेन–जी विद्रोहपछि बनेको वर्तमान सरकारसँग युवाहरुसँगै आमनागरिकले ठूलो आशा राखेका छन् । विशेषगरी सुशासन, भ्रष्टाचार नियन्त्रण र राजनीतिक स्थायित्व अहिलेको आम अपेक्षा हो । ऊर्जावान् युवा जनशक्ति विदेश पलायन हुने क्रम दिनानु दिन बढिरहेको सन्दर्भमा यसलाई रोक्ने कार्यक्रम अहिलेको माग हो । त्यसो त झण्डै दुईतिहाइ बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख नारामै समेटिएको ‘स्वदेशमै रोजगारी’ लाई वालेन्द्र शाह नेतृत्वको सरकारले आजै सार्वजनिक हुने बजेटमा कसरी समेट्छ भन्ने प्रतीक्षाको विषय बनेको छ ।
जटिल मोडमा गणतन्त्रलाई दुईतिहाइ बहुमत नजिकको सरकारले सही ट्र्याकमा अगाडि लैजाने आशा पलाएको छ । तर, सरकारको एकल प्रयासलेमात्र यो सम्भव छैन । राजनीतिक दलहरूले अब दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितलाई सर्वोपरी राख्नुपर्छ । व्यवस्था आफैंमा साध्य होइन, यो त जनताको जीवनस्तर सुधार्ने एउटा उन्नत साधनमात्र हो । हतारमा लोकप्रिय देखिने सस्तो नाराबाजी भन्दा पनि दीर्घकालीन र परिणाममुखी आर्थिक योजनाहरू कार्यान्वयन गर्नु आजको आवश्यकता हो ।
संविधानको प्रभावकारी कार्यान्वयन, सुशासनको प्रत्याभूति र पारदर्शी कार्यशैलीबाट मात्रै गणतन्त्रको जग बलियो हुन्छ । तसर्थ, गणतन्त्र दिवसको मूल सान्दर्भिकतालाई केवल विगतको गौरवगाथा गाउनुमा मात्र सीमित नगरौं । वर्तमानका चुनौतीहरूलाई चिर्दै नागरिकको दैनिक जीवनमा प्रत्यक्ष र सकारात्मक परिवर्तन ल्याउने साझा संकल्प गरौं । गणतन्त्र दिवसको हार्दिक शुभकामना !!