राष्ट्रिय गौरवको सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेर रद्द गरिएको निर्णयले सरकारको कार्यशैली, कानुनी प्रक्रियाको पालना र आर्थिक अनुशासनमाथि गम्भीर प्रश्न खडा गरेको छ। प्राविधिक मूल्यांकन पूरा भई आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगिसकेको अन्तर्राष्ट्रिय बोलपत्र एकाएक रद्द गरिनु केवल प्रशासनिक प्रक्रियाको सामान्य मोड होइन; यसले दीर्घकालीन पूर्वाधार विकास, लगानीको वातावरण र मधेसका हजारौं किसानको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने विषयलाई जन्म दिएको छ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा उठेका प्रश्न र चासोले यो प्रकरण कति संवेदनशील र जटिल छ भन्ने प्रस्ट पार्छ।
आयोजनाको १३.३ किलोमिटर सुरुङमार्ग सन् २०२४ मै ‘ब्रेक थ्रु’ भइसकेको अवस्थामा बाँकी सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचनाको काम तीव्र गतिमा अघि बढ्नुपर्ने थियो। तर, त्यसको लामो समय बितिसक्दा पनि निर्माण कार्य सुस्त रहनु र अन्तिम चरणमा पुगेको ठेक्का प्रक्रिया रद्द गरिनुले आयोजनाको समयतालिका र लागत दुवैलाई अनिश्चितताको भुमरीमा धकेलेको छ।
सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ (२) र सार्वजनिक खरिद नियमावलीको १६औं संशोधनअनुसार ‘रेटेड प्वाइन्ट क्राइटेरिया’ लागू गर्न प्रक्रिया रद्द गरिएको तर्क अघि सारेको छ। तर, बोलपत्र आह्वान भई प्राविधिक मूल्यांकनसमेत सकिइसकेपछि पछि संशोधित कानुनी व्यवस्थालाई पूर्वप्रभाव दिनेगरी लागू गर्नुको कानुनी औचित्य र वैधतामाथि सांसदहरूले उठाएका प्रश्न स्वाभाविक छन्। प्रक्रिया बीचमै रोक्दा वा रद्द गर्दा खरिद प्रणालीको विश्वसनीयता कमजोर हुने र भविष्यमा अन्तर्राष्ट्रिय ठेकेदारहरूको आकर्षण घट्ने जोखिम रहन्छ।
यस प्रकरणको अर्को गम्भीर पाटो आर्थिक दायित्व र क्षतिपूर्तिसँग जोडिएको छ। यसअघि पटेल-रमण जेभीसँग भएको ठेक्का तोडिएपछि नयाँ बोलपत्र आह्वान गरिएको थियो। अहिले नयाँ प्रक्रियासमेत रद्द हुँदा पुरानो ठेकेदारबाट क्षतिपूर्ति असुली गर्ने, बैंक जमानत जफत गर्ने र नयाँ ठेक्का लगाउँदा बढ्न सक्ने लागतको हिसाबकिताब कसरी मिलाइन्छ भन्ने विषय अस्पष्ट छ।
राज्यको सार्वजनिक कोषमा कति आर्थिक भार पर्छ र त्यसको जवाफदेहिता कसले लिन्छ भन्ने प्रश्नको ठोस उत्तर नआएसम्म वित्तीय पारदर्शितामाथि शंका रहिरहन्छ। त्यसमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भूमिका तथा सम्बन्धित अधिकारीहरूलाई बोलाइएको वा दबाब दिइएको भन्ने चर्चाबारे उठेका जिज्ञासाले निर्णय प्रक्रियामाथि थप संवेदनशीलता थपेको छ। कानुनी र संस्थागत मर्यादाभित्र रहेर काम भएको छ कि छैन भन्ने विषय तथ्य र प्रमाणका आधारमा स्पष्ट हुनुपर्छ।
सबैभन्दा ठूलो मार भने आयोजनाको मुख्य लाभग्राही मधेसका किसानमाथि परेको छ। सुनकोशीको पानी मरिन नदी हुँदै मधेसका पाँच जिल्लाका करिब एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ पुर्याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको यो आयोजना ढिला हुँदा कृषि उत्पादन र ग्रामीण अर्थतन्त्रमा सीधा असर पर्छ। सिँचाइ सुविधाको प्रतीक्षामा रहेका किसानका लागि हरेक वर्षको ढिलाइ आर्थिक नोक्सानीको कारण बन्छ।
सार्वजनिक लेखा समितिले सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिइसकेको सन्दर्भमा अब यो विषयलाई निष्कर्षमा पुर्याउन ढिलाइ गरिनु हुँदैन। सरकारले ठेक्का रद्द गर्नुको कानुनी आधार, सम्भावित आर्थिक क्षति र निर्णय प्रक्रियाको पारदर्शितासम्बन्धी तथ्यहरू स्पष्टरूपमा सार्वजनिक गर्नुपर्छ। राष्ट्रिय गौरवका आयोजनालाई राजनीतिक वा प्रशासनिक अल्झनमा नअल्झाइ समयमै सम्पन्न गर्न सक्दामात्र राज्यको स्रोतको सदुपयोग हुन्छ र नागरिकले विकासको वास्तविक प्रतिफल पाउन सक्छन्।