प्रधानमन्त्री वालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणले द्विपक्षीय आर्थिक, ऊर्जा र भौतिक कनेक्टिभिटीका क्षेत्रमा केही समझदारी र परियोजनाको सुरुवात गरे पनि नेपालको सबैभन्दा संवेदनशील तथा दीर्घकालीन राष्ट्रिय सरोकारको विषय (सीमा विवाद समाधान) मा भने अपेक्षित कूटनीतिक पहल र ठोस प्रगति हुन नसक्नु गम्भीर चिन्ताको विषय बनेको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका क्षेत्रमा देखिएको सीमा समस्या, सन् १९५० को शान्ति तथा मैत्री सन्धिको पुनरवलोकन, प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन बुझ्ने विषय तथा व्यापार घाटाजस्ता पेचिला मुद्दामा भ्रमण उपलब्धिविहीन देखिनुले नेपालको कूटनीतिक तयारी र प्राथमिकतामाथि प्रश्न उठाएको छ।
भ्रमणपछि सार्वजनिक संयुक्त दस्ताबेजमा सीमा विवाद संवादमार्फत समाधान गर्ने र सन् १९५० को सन्धि आपसी सहमतिमा पुनरवलोकन गर्न सकिने पुरानै औपचारिक भाषा दोहोर्याइएको छ। तर, समस्या समाधानका लागि कुनै स्पष्ट समयसीमा, ठोस कार्ययोजना वा विश्वसनीय प्रतिबद्धता नदेखिनु विडम्बनापूर्ण छ। त्यसमाथि भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाकाका रूपमा प्रयोग गर्ने सहमतिप्रति नेपालको असहमति संयुक्त दस्ताबेजमा नसमेटिनु र इपिजी प्रतिवेदनबारे दुवै पक्ष मौन रहनुले दीर्घकालीन मुद्दाहरू फेरि पनि अनिश्चितताको भुमरीमा धकेलिएको अनुभूति गराएको छ। विगतमा ‘ग्रेटर नेपाल’को नक्सा तथा सीमा अतिक्रमणविरुद्ध कडा अडान र अभिव्यक्ति दिएका प्रधानमन्त्री शाहको नेतृत्वमा भएको भ्रमणमा यी विषयले प्राथमिकता नपाउँदा जनस्तरमा स्वाभाविकरूपमा निराशा र विरोधाभासको अनुभूति भएको छ।
सीमाविद् तथा कूटनीतिज्ञहरूले औंल्याएझैं दुईतिहाइ नजिकको बलियो जनमत र संसदीय समर्थन भएको सरकारको नेतृत्व सम्हालिरहेका प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग उच्चस्तरीय कूटनीतिक मञ्चमै स्पष्ट र दृढ ढंगले सीमा विवादको विषय राख्न सक्नुपथ्र्यो। स्वदेश फर्केपछि आयोजित पत्रकार सम्मेलनमासमेत सीमा अतिक्रमण र भ्रमणका उपलब्धिबारे सरकारको प्रस्तुति स्पष्ट र चित्तबुझ्दो नदेखिनुले कूटनीतिक संवादको गाम्भीर्यमाथि थप शंका उब्जाएको छ। परराष्ट्र सचिवस्तरमा छलफल गर्ने भनाइ आफैंमा नराम्रो नभए पनि वर्षौंदेखि अल्झिएको जटिल विषयलाई ठोस राजनीतिक निष्कर्षतर्फ लैजान उच्च तहकै स्पष्ट प्रतिबद्धता र निरन्तरता अपरिहार्य हुन्छ।

अर्कातर्फ, भ्रमणका क्रममा भएका केही सकारात्मक तथा व्यावहारिक पक्षलाई पनि नजरअन्दाज गर्न मिल्दैन। ऊर्जा क्षेत्रका लागि सहुलियत ऋण तथा पुनर्निर्माण र पूर्वाधारका लागि अनुदान सहायता, भैरहवा हवाई मार्गलाई दुईतर्फी बनाउने सैद्धान्तिक सहमति, काण्डला र पारादीप बन्दरगाहसम्म पहुँचको घोषणा, ‘सरयू-कमला एक्सप्रेस’ रेल सेवाको सुरुवात, बनबासा एकीकृत जाँच चौकीको शिलान्यास, धार्चुला-दार्चुला मोटरेबल पुलको उद्घाटन तथा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यासजस्ता कदमले द्विपक्षीय कनेक्टिभिटी र आर्थिक सहकार्यलाई गति दिने अपेक्षा गर्न सकिन्छ।
तर, भौतिक पूर्वाधार, रेल, बन्दरगाह र ऊर्जा सहकार्यको विस्तारले मात्र सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोडिएको सीमा समस्याको विकल्प दिन सक्दैन। विकास र समृद्धिको साझेदारीसँगै राष्ट्रिय स्वाभिमान, समानता र अन्तर्राष्ट्रिय मान्यताअनुरूप सीमा विवादको स्थायी समाधान खोजिनुपर्छ। अबको कूटनीतिक यात्रा केवल सामान्य वक्तव्य र औपचारिक आश्वासनमा सीमित नभई स्पष्ट समयसीमा, तथ्यपरक कूटनीति र परिणाममुखी संवादतर्फ केन्द्रित हुनुपर्छ।