नेपालका अधिकांश सरकारी तथा निजी अस्पतालहरूमा बिरामीको उपचारसँगै निस्कने फोहोरमैलाको उचित व्यवस्थापन सधैँजसो टाउको दुखाइको विषय बन्ने गरेको छ। कतिपय स्वास्थ्य संस्थाले हानिकारक र संक्रामक फोहोरलाई समेत सामान्य फोहोरसँगै मिसाएर जथाभावी फाल्ने वा जलाउने गर्दा जनस्वास्थ्य र वातावरणमा गम्भीर असर परिरहेको तथ्य कसैबाट लुकेको छैन। तर, झापाको प्रादेशिक अस्पताल भद्रपुरले फोहोरमैलालाई समस्याका रूपमा होइन, अवसर र आम्दानीको दिगो स्रोतका रूपमा रूपान्तरण गरेर देशभरका स्वास्थ्य संस्थाहरूका लागि एउटा अनुकरणीय नजिर स्थापित गरेको छ।
दैनिक औसत एक हजार बिरामीले बहिरंग सेवा लिने भद्रपुर अस्पतालमा स्वाभाविकरूपमा दैनिक ठूलो परिमाणमा फोहोर उत्सर्जन हुन्छ। तर, विगत पाँच वर्षदेखि अस्पतालले अपनाएको ‘स्रोतबाटै फोहोर वर्गीकरण’ को नीतिले अहिले अस्पताल परिसरलाई सफा र स्वच्छमात्र बनाएको छैन, वार्षिक करिब एक लाख ५० हजार रुपैयाँ नियमित आम्दानीसमेत दिलाएको छ। कागज, प्लास्टिक र आल्मुनियमजन्य पुनःप्रयोगयोग्य सामग्रीलाई छुट्याएर बिक्री गर्ने र मासिक १२ देखि १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने अस्पतालको यो कार्य आफैंमा अत्यन्तै प्रशंसनीय छ।
अस्पतालको फोहोर व्यवस्थापनमा सबैभन्दा सराहनीय पक्ष भनेको संक्रामक र जोखिमयुक्त फोहोरको सुरक्षित विसर्जन हो। सामान्यतया प्रयोग भइसकेका सिरिञ्ज, सुई, स्लाइनका बोतल र पाइपहरू व्यवस्थापन गर्न निकै जटिल मानिन्छ। तर, भद्रपुर अस्पतालले आधुनिक मेसिनमार्फत त्यस्ता जोखिमयुक्त फोहोरको ‘ब्याक्टेरिया’ नष्ट गरी निर्मलीकरण गर्ने गरेको छ। अझ रोचक र सिर्जनशील पक्ष के छ भने, सुरक्षित बनाइएका सुईजन्य सामग्रीलाई अस्पताल परिसरमै चौतारा निर्माणमासमेत प्रयोग गरिएको छ। वातावरण संरक्षण र सिर्जनशील पुनः प्रयोगको योभन्दा उत्तम उदाहरण अरू के हुन सक्छ?
जर्मन सहयोगी संस्था जिआइजेडको प्राविधिक तथा भौतिक सहयोगमा सुरु भएको यो अभियानलाई अस्पताल प्रशासन र कर्मचारीहरूले निरन्तरता दिएर सफल बनाएका छन्। बाह्य सहयोग र प्रविधि भित्र्याउनुमात्र ठूलो कुरा होइन, त्यसलाई दिगोरूपमा सञ्चालन गर्नु मुख्य चुनौती हो। केवल दुई जना जनशक्ति परिचालन गरेर सिंगो प्रादेशिक अस्पतालको फोहोरलाई व्यवस्थित गर्नुले अस्पतालको कुशल व्यवस्थापकीय क्षमता र इच्छाशक्तिलाई प्रस्ट पार्छ।
आज देशका ठूला भनिएका केन्द्रीय अस्पतालदेखि स्थानीय स्वास्थ्य चौकीहरूसम्म फोहोर व्यवस्थापनको नाममा लाखौं रुपैयाँ खर्च भइरहेको छ। कतिपय स्थानमा अस्पतालको फोहोरकै कारण स्थानीय बासिन्दा र अस्पताल प्रशासनबीच द्वन्द्वसमेत हुने गरेको छ। यस्तो अवस्थामा भद्रपुर अस्पतालले फोहोरबाटै मोहोर फलाएर ‘चाहने हो भने स्रोत र साधनको अभावमा पनि राम्रो काम गर्न सकिन्छ’ भन्ने बलियो सन्देश दिएको छ।
तसर्थ, प्रादेशिक अस्पताल भद्रपुरको यो असल अभ्यासलाई प्रदेश सरकार र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष प्रोत्साहन गर्नुपर्छ। अन्य सरकारी तथा निजी अस्पतालहरूले पनि भद्रपुरको सिको गर्दै स्रोतबाटै फोहोर वर्गीकरण गर्ने, जोखिमयुक्त फोहोरको सुरक्षित प्रशोधन गर्ने र पुनःप्रयोगयोग्य सामग्रीबाट आम्दानी लिने नीति अवलम्बन गर्नु आजको टड्कारो आवश्यकता हो। भद्रपुर अस्पतालको यो कदमले ‘स्वच्छ अस्पताल, स्वस्थ समाज’ को नारालाई सार्थक बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ।