प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइन्छ। नेपालमा पनि सरकारी निकाय, गैरसरकारी संस्था र नागरिक समाजको सक्रियतामा यो अभियान भव्यरूपमा सञ्चालन गर्ने परम्परा छ। गोष्ठी, र्याली, सेमिनार र सामाजिक सञ्जालका अभियानमार्फत लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता व्यक्त गरिन्छ। तर, वर्षौंदेखि चल्दै आएको यो अभियानले समाजको तल्लो तहमा अपेक्षित परिवर्तन ल्याउन सकेको छ कि केवल वार्षिक कर्मकाण्डमा मात्र सीमित छ भन्ने गम्भीर प्रश्न उब्जिएको छ।
नेपालको संविधानले लैंगिक समानता र महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। घरेलु हिंसा, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार र जातीय तथा लैंगिक विभेदविरुद्ध कडा कानुनहरू पनि बनेका छन्। यद्यपि, व्यवहारमा महिला, बालबालिका तथा लैंगिक अल्पसंख्यकहरूमाथि हुने हिंसाका घटनामा कमी आउन सकेको छैन। बलात्कार, घरेलु हिंसा, बोक्सीको आरोप, दाइजो प्रथा र पछिल्लो समय डिजिटल माध्यमबाट हुने साइबर हिंसाका घटनाहरू डरलाग्दो रूपले बढिरहेका छन्। पीडितले न्याय पाउन भोग्नुपर्ने झण्झटिलो कानुनी प्रक्रिया, समाजको लाञ्छना र आर्थिक परनिर्भरताका कारण धेरै घटनाहरू घरभित्रै दबाइने गरेका छन्।
यसर्थ, नेपालको सन्दर्भमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानलाई साँच्चै प्रभावकारी र परिणाममुखी बनाउन अब पुरानो शैलीमा आमूल परिवर्तन आवश्यक छ। सर्वप्रथम, यो अभियानलाई सहरका तारे होटल र सभाहलबाट निकालेर ग्रामीण बस्ती, विद्यालय र परिवारको भान्सासम्म पुर्याउनुपर्छ। पढेलेखेका र सचेत वर्गमाझमात्र गरिने बहसले वास्तविक पीडितको आवाजलाई समेट्न सक्दैन। स्थानीय तहका न्यायिक समिति, वडा कार्यालय र आमा समूहहरूलाई सक्रिय बनाउँदै समुदायस्तरमै सचेतना र निगरानी संयन्त्र बलियो बनाउनुपर्छ।

दोस्रो, लैंगिक हिंसा अन्त्यका लागि पुरुष र युवा पुस्ताको सक्रिय सहभागिता अपरिहार्य छ। हिंसालाई केवल ‘महिलाको मात्र समस्या’ का रूपमा बुझ्ने परम्परागत चिन्तन नतोडेसम्म दिगो परिवर्तन सम्भव छैन। विद्यालय तहको पाठ्यक्रममै लैंगिक समानता, मर्यादित व्यवहार र डिजिटल सुरक्षासम्बन्धी व्यावहारिक शिक्षा समावेश गरिनुपर्छ। तेस्रो, पीडितमैत्री न्याय प्रणाली र शीघ्र सुनुवाइको सुनिश्चितता हुनुपर्छ। उजुरी दर्तादेखि अनुसन्धान र फैसलासम्म पीडितको गोपनीयता, सुरक्षा र मनोसामाजिक परामर्शको ग्यारेण्टी राज्यले लिनुपर्छ। साथै, हिंसाप्रभावित महिलाहरूको आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिम र रोजगारीको व्यवस्था नगरी उनीहरूलाई हिंसाको चक्रबाट बाहिर निकाल्न कठिन हुन्छ।
लैंगिक हिंसाविरुद्धको लडाइँ वर्षको १६ दिनमात्र लडिने विषय होइन, यो ३६५ दिनकै निरन्तर अभियान हुनुपर्छ। जबसम्म हरेक घर, कार्यस्थल र सार्वजनिक स्थानमा सम्मान र समानताको संस्कृति विकास हुँदैन, तबसम्म यस्ता अभियानहरूको सार्थकता पुष्टि हुन सक्दैन। तसर्थ, सरोकारवाला सबै पक्षले भाषण र ब्यानरभन्दा माथि उठेर व्यावहारिक कार्यान्वयन र आत्मसमीक्षासहित अगाडि बढ्नु नै आजको मुख्य आवश्यकता हो।