मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त रकम असुलेर एक अर्ब ६९ करोड दुई लाख २४ हजार रुपैयाँ विदेश पठाइएको प्रकरणमा गायब पारिएको सक्कल फाइल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई बुझाउनु अनुसन्धानको एउटा महत्वपूर्ण कडी हो।
लामो समयदेखि फाइल हराएको बहानामा छानबिन प्रक्रिया अवरुद्ध बनिरहेका बेला उपसचिव उपेन्द्र पौडेलको नेतृत्वमा गठित कार्यदलले पुराना अभिलेखबाट फाइल फेला पारेर हस्तान्तरण गर्नु सकारात्मक कदम मान्नुपर्छ। यसले रकम विदेश पठाउन दिइएको स्वीकृति, मन्त्रीस्तरीय निर्णय तथा संलग्न अधिकारी र कम्पनीहरूको भूमिका केलाउन अनुसन्धान निकायलाई ठोस आधार दिएको छ। सन् २०१९ यता सात लाख ५० हजारभन्दा बढी श्रमिकबाट उठाइएको रकम टेलिग्राफिक ट्रान्सफर (टिटी) मार्फत मलेसियास्थित बेस्टिनेट कम्पनीसम्म पुर्याइएको विषय गम्भीर आर्थिक अपराध र श्रमिक शोषणसँग जोडिएको छ, जसको सत्यतथ्य बाहिर आउनैपर्छ।
यद्यपि, सक्कल फाइल फेला परेर अनुसन्धान अघि बढ्ने वातावरण बन्दै गर्दा यस प्रकरणको छानबिन र पक्राउको दायरामाथि गम्भीर प्रश्न उठेका छन्। पूर्वमुख्यसचिव एवं तत्कालीन श्रमसचिव एकनारायण अर्याल, पूर्वश्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर, अन्य पूर्वसचिव, सहसचिव, कानुन अधिकृत तथा सम्बन्धित कम्पनीका सञ्चालकहरूमाथि कारबाही र पक्राउको प्रक्रिया अघि बढिरहेका बेला एउटै प्रकृतिको निर्णय र पत्राचारमा जोडिएका भनिएका अन्य केही उच्च पदस्थ व्यक्तिहरू छानबिनको दायरामा नपरेको विषयले जनमानसमा शंका उब्जाएको छ। प्रतिपक्षी दलका नेताहरूले यसलाई ‘चयनात्मक कारबाही’ र ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिँदै वर्तमान सभामुख डोलप्रसाद अर्याल र पूर्वश्रममन्त्री शरतसिंह भण्डारीको भूमिकामाथि पनि निष्पक्ष छानबिन हुनुपर्ने माग उठाएका छन्।

कुनै पनि गम्भीर अपराधको अनुसन्धान गर्दा राजनीतिक आस्था, पद वा सत्ता निकटताका आधारमा फरक व्यवहार गरियो भने त्यसले कानुनी शासन र न्यायप्रतिको विश्वासलाई कमजोर बनाउँछ। कसुरको प्रकृति र संलग्नताको प्रमाणका आधारमा जोकोही भए पनि कानुनको कठघरामा उभ्याउन सक्ने साहस र निष्पक्षता राज्य संयन्त्रले देखाउनुपर्छ। यदि विभिन्न समयमा श्रम नेतृत्व सम्हालेका व्यक्तिहरूको कार्यकालमा विदेशी मुद्रा सटही र रकम स्थानान्तरणसम्बन्धी पत्राचार तथा निर्णय भएका छन् भने ती सबै चरणको सूक्ष्म र समान मापदण्डमा आधारित छानबिन अपरिहार्य हुन्छ।
श्रमिकको पसिना र बाध्यतामाथि खेलबाड गर्दै अर्बौं रुपैयाँ बाहिर पठाउने सञ्जालमा संलग्न बिचौलिया, कम्पनी सञ्चालक, कर्मचारी र निर्णयकर्ता कोही पनि उन्मुक्ति पाउने स्थिति बन्नु हुँदैन। फाइल भेटिएसँगै अब सिआइबीले विनाकुनै दबाब, प्रभाव वा पूर्वाग्रह गहिराइमा पुगेर अनुसन्धान टुंग्याउनुपर्छ। कानुनभन्दा माथि कोही छैन भन्ने मान्यता व्यवहारमा पुष्टि भएमात्र पीडित श्रमिकले न्यायको अनुभूति गर्न सक्ने छन् र राज्यको छानबिन प्रणालीप्रति विश्वसनीयता कायम रहने छ।