नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार दिएको अभिव्यक्तिले एउटा कुरा स्पष्ट गरेको छ– उनी अझै पनि आफ्नो राजनीतिक असफलताको समीक्षा गर्न तयार छैनन् । बरु उनी पराजय, असन्तुष्टि र पार्टीभित्र उठेका प्रश्नहरूलाई बेवास्ता गर्दै अहंकारमै टिकिरहने ध्येयमा छन् ।
‘झोला फ्याँकेर बीचमै हिँड्दिनँ’ भन्ने उनको अभिव्यक्ति झट्ट सुन्दा जिम्मेवारीबाट नभाग्ने नेताको भनाइजस्तो लाग्छ । तर, प्रश्न उनले आफ्नो नेतृत्वमा भएका असफलताहरूको जिम्मेवारी कहिले लिन्छन् भन्ने हो । ओली मूल नेता रहेको तत्कालीन नेकपा एक समय नेपालको सबैभन्दा शक्तिशाली राजनीतिक शक्ति थियो । २०७४ सालको निर्वाचनमा झण्डै दुईतिहाइ जनादेश प्राप्त गरेको थियो । पछि विघटन भए पनि मूलधार एमाले रहेको र यतिबेला उक्त दल इतिहासकै कमजोर अवस्थामा पुगेको छ । त्यो जनादेश विपक्षीले खोसेको होइन, स्वयं ओली नेतृत्वले गुमाएको हो । जनताले स्थायित्वका लागि दिएको मत संसद् विघटन, सत्ता संघर्ष र पार्टी विभाजनमा खर्च भयो । राजनीतिक इतिहासमा दुर्लभ अवसर पाएको ओलीले त्यसलाई जोगाउन नसक्नु सामान्य कमजोरी होइन, गम्भीर असफलता हो ।
ओली शैलीकै कारण एमाले नेपाली कम्युनिस्ट आन्दोलनमा ‘धिपधिपे’ पार्टी बन्दै गएको छ । जनमत खस्किएको तथ्यले पनि बताउँछ । पार्टीबाट युवापुस्ता टाढिएको छ । चुनावमा शर्मनाक हार भयो । तर, ओली भने अझै पनि समस्या आफूभित्र होइन, अरूमा देखिरहेका छन् । सबैभन्दा चिन्ताजनक कुरा त बदलिएको नेपाली समाज र युवापुस्ताको राजनीतिक चेतनाप्रति ओलीको दृष्टिकोण हो । गत वर्षको २३ र २४ भदौमा भएको जेन–जी विद्रोहलाई उनले आजसम्म पनि स्वीकार गर्न सकेका छैनन् । भ्रष्टाचारविरुद्ध, सुशासनका पक्षमा र पुराना राजनीतिक संस्कारविरुद्ध सडकमा उत्रिएका हजारौं युवालाई उनले बुधबार देशद्रोही, विध्वंसकारी र षड्यन्त्रकारीको संज्ञा दिए । लोकतन्त्रमा जनताको आवाज सुन्नुपर्ने नेता जनताको आवाजसँग डराउने अवस्थामा पुगे भने त्यो नेतृत्व संकटको संकेत हो ।

आज एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस चर्किएको छ । पार्टी पुनर्गठनको मुद्दा सचिवालय बैठकमा जोड्तोडले उठ्यो । उनी रक्षात्मक अवस्थामा पुगेका छन् । तर, ओलीले फेरि पनि नेतृत्व नछाड्ने मुडमा देखिए । उनी अझै पनि आफूलाई समस्याको समाधानकर्ता ठानिरहेका छन्, जबकि पछिल्ला घटनाक्रमहरूले उनी स्वयं समस्याको प्रमुख कारण बनेको देखाएका छन् ।
उसो त उनी जनताले दिएको ऐतिहासिक अवसर गुमाइसकेपछि पनि आत्मसमीक्षा होइन, आत्मरति गरिरहेका छन् । यही प्रवृत्ति कायम रहने हो भने एमालेको संकट झन् गहिरिनेछ र इतिहासले ओलीलाई पार्टी र आन्दोलनको सफायकर्ता नेतृत्व भनेर गिज्याउने छ ।