काठमाडौं- इन्टरपिड रिक्रुट्मेन्ट्स सर्भिस प्रालिले रसुवा बाढीपीडतका लागि एक लाख ५५ हजार ५५६ रुपैयाँ सहयोग गरेको छ ।
संस्थाका सञ्चालक श्रवण दाहालले सरकारले आह्वान गरेको कोषमा उक्त रकम जम्मा गरिएको जानकारी दिए ।
'प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख ५५ हजार ५५६ रुपैयाँ जम्मा गरेका छौं,' उनले भने,'बाढीपीडितको उद्धार, राहत, घाइतेको उपचार तथा पुनर्स्थापनाका लागि सरकारले गरिरहेको काममा हाम्रो सानो सहयोगले पनि ठूलो राहतको काम गर्छ भन्ने विश्वास लिएका छौं ।'
वैदेशिक रोजगार व्यवसाय सञ्चालनका लागि इजाजतप्राप्त यस संस्थाले विगतमा पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको उनले बताए।
बुधबार बिहान चीनतर्फबाट भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरुमा ठूलो जनधनको क्षति पुर्याएको छ । आज बिहानसम्म १७७ जनाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ। बाढीमा परी सयौं मानिस अझै सम्पर्कविहीन रहेका छन्।
प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुका साथै बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ।
सरकारले बाढीपीडितलाई एकद्वार प्रणालीमार्फत सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोगका लागि सबैमा अपिल गरेको छ ।