भदौ १० गते रसुवाबाट सुरु भएको बाढीले सात मिनेटमै नुवाकोट हुँदै चितवनसम्मै क्षति पुर्यायो। यो विपत्तिमा सरकार आफ्नो बल बुता लगाएर उद्धारमा लागेको छ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईतिहाइ नजिकको सरकार भेउ पाएर वा नपाएर पनि बाढीग्रस्त क्षेत्रमा खटेको छ। यस्तो अवस्थामा पुराना भनिएका नेपाली कांग्रेस, नेकपा एमालेलगायतका दलहरु देखिनुपर्ने हो। तर यी दल महाविपत्तिमा गुमनाम बनेका छन्। रमिता हेर्नेबाहेक केही गरेको देखिँदैन। सबैभन्दा बढीप्रभावित भनिएको जिल्ला रसुवामा कांग्रेसका मोहन आचार्य सांसद छन्। नुवाकोटबाट दुवै क्षेत्रमा रास्वपाका सांसद छन्।
नुवाकोटमा कांग्रेसका प्रभावशाली नेताहरु अर्जुननरसिंह केसी र डा. प्रकाशशरण महत जिल्लाबाट राजनीति गर्छन्। कांग्रेस सहमहामन्त्री बहादुरसिंह लामा यही क्षेत्रका हुन्। यता एमालेबाट अध्यक्ष केपी ओलीका निटक मानिने विष्णु रिमाल यही क्षेत्रका हुन्। सत्ता आशक्तिमा पूरै लागिपर्ने यी नेताहरु चुनावको बेला निर्वाचन क्षेत्रमा गणेशले शिवपार्वतीलाई घुमेझैं घुम्छन्। तर यो आपत्मा यी नेताहरु बाढीग्रस्त क्षेत्रमा समन्वय गर्न पुगेनन्।
यी नेताहरु हात बाँधेर बसे। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रभावशाली मानिने हितबहादुर तामाङदेखि राधिका तामाङ पनि अक्कलझुक्कलबाहेक बाढीग्रस्त क्षेत्रमा देखिएनन्। यो प्रतिपक्षको गम्भीर भुल हो। सत्तामा रहेको दललाई खबरदारी गरी प्रभावित क्षेत्रका आफ्ना नागरिकलाई बचाउने, राहत पुर्याउनेलगायत कार्यमा लाग्नुपर्ने उनीहरुको दायित्व हो।
तर यसका लागि न्यूनतम समन्वयसमेत पुराना दलले गरेको देखिन्न। बाढीग्रस्त क्षेत्रमा त देखिएन देखिएनन्। यी दल सदनमासमेत खरो रुपमा प्रस्तुत हुन सकेका देखिएनन्। सरकार प्रमुख प्रधानमन्त्री वालेन्द्र शाहले बाढी आएको आठौं दिनमा ‘आफूहरुले सुरुङ खन्न नसक्ने’ भन्दै हात नै उठाए। तर प्रतिपक्षी दल प्रधानमन्त्रीले हात उठाएकोमा मक्ख परेर बसे। तर सरकारको यो असफलतामाथि खबरदारी गर्न सकेनन्। खासमा सत्ताको बागडोर समातेर बसेको प्रधानमन्त्रीले यस्तो भन्नु ‘सरेण्डर’ गर्नु हो। यो भनेको सत्ता छाडेसरह हो। यस्तो अवस्थामा विपक्षले प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने हो। तर प्रतिपक्षी दलहरुमा यो साहस देखिएन।
यति ठूलो विपत्तिमा प्रतिपक्षी दलहरुले यस्तो कायरता देखाउने लज्जानक घटना हो। यसैगरी राजनीति गर्दै जाने हो भने अब पुराना दलको हैसियत अबका दिनमा झनै कमजोर हुँदै जाने देखिन्छ। ‘हामी नहीं सुधरेंगे’ शैलीमा प्रस्तुत हुँदै गए पुराना दलको पतन अब धेरै टाढा छैन।