नेपाली कांग्रेसले १५औं महाधिवेशनलाई प्रविधिमैत्री बनाउँदै ‘डिजिटल’ बनाउने बतायो। तर उम्मेदवारको प्रचार शैली पुरानै देखियो। भृकुटीमण्डप, राष्ट्रिय सभा गृह र खुल्लामञ्च वरपर उम्मेदवारका प्रचार सामग्री छरपस्ट देख्दा कांग्रेस नारामामात्र डिजिटल देखिएको छ।
मतदानमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीले विद्युतीय मतदान प्रयोग गरिसक्यो। तर डिजिटल्ली रुपान्तर हुने भनिएको पार्टी कांग्रेस अझै पनि विद्युतीय मतदानमा जान डराइरहेको छ। २९७ सदस्यीय कार्यसमितिका लागि २२० भन्दा बढी पदमा निर्वाचन हुन गइरहेको छ। यसका लागि कांग्रेसले २७ डिजाइनका २ लाखभन्दा बढी मतपत्र बनाउनुपर्ने भएको छ।
मतपत्रमा मत दिन उत्तिकै झन्झटिलो हुन्छ। चुनावी शिक्षा नदिएकोले ७ हजार महाधिवेशन प्रतिनिधि यसमा अलमलिने पक्का छ। अझ २ लाख मतपत्र गन्न कति समय लाग्ला? अहिलेको मुख्य प्रश्न यही बनेको छ। यसले गर्दा पनि कांग्रेसले तोकेको समयमा मतदान सम्पन्न गराउन सकेन।
पटक-पटक मिति र समय सार्दै महाधिवेशनलाई अन्योलको चक्रव्यूहमा धकेल्ने यो प्रवृत्ति केवल एउटा प्राविधिक असफलता मात्र होइन; यो त देशकै सबैभन्दा पुरानो र लोकतान्त्रिक दाबी गर्ने दलको व्यवस्थापकीय लाचारी र राजनीतिक इच्छाशक्तिको अभावको नमुना हो। २१ औं शताब्दीमा आफ्ना कार्यकर्ता र आम नागरिकलाई प्रविधिको प्रयोगबाट सहजता दिने कुरा नारामा सीमित हुनु दुर्भाग्यपूर्ण छ।
सरकारी कार्यालयहरु डिजिटल प्रविधिमा गइसक्यो। कर तिर्ने प्रणाली डिजिटल प्रविधिमा गइसक्यो। तर कांग्रेस यो प्रविधिसँग डराएको छ। पुरानै झन्झटिलो कागजी प्रक्रियामा फर्किनुले पार्टी नेतृत्वको दूरदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। यदि एउटा राजनीतिक दलले आफ्नो आन्तरिक चुनाव पारदर्शी, प्रविधिमैत्री र समयसीमाभित्र गराउन सक्दैन भने, उसले देश सञ्चालनका जटिल चुनौतीहरू र डिजिटल नेपालको अवधारणालाई कसरी नेतृत्व देला?
संसारभरका लोकतान्त्रिक अभ्यासहरू आज तीव्र, पारदर्शी र प्रविधिमा आधारित भइसकेका छन्। तर, नेपाली कांग्रेस भने अझै पनि गुटगत खिचातानी, आन्तरिक अविश्वास र फितलो व्यवस्थापनमै चुकिरहेको छ। कार्यकर्ताहरू टाढा-टाढाबाट आएर अनिश्चितताको पर्खाइमा बस्नुपर्ने, अधिवेशन लम्बिएर फजुल खर्च र निराशा मात्र बढ्ने अवस्था उत्पन्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुन सक्दैन।
नेतृत्वले बुझ्नुपर्छ-अधिवेशनको मिति सारिरहनु वा प्रविधि प्रयोगमा पछि हट्नु भनेको केवल कार्यतालिका प्रभावित हुनुमात्र होइन, आम कार्यकर्ता र युवा पुस्तामा लोकतान्त्रिक प्रक्रियाप्रति नै वितृष्णा जगाउनु हो। टालटुले रवैयाबाट कांग्रेस चल्न सक्दैन। १५औं महाधिवेशनको यो भद्रगोलबाट पाठ सिक्दै कांग्रेसले आफ्नो आन्तरिक व्यवस्थापनलाई आधुनिक, उत्तरदायी र दृढ नबनाए इतिहास र नयाँ पुस्ता दुवैले छाडिदिनेछन्।