नयाँ पुस्ताले पुराना दल र तिनका पुरातन कार्यशैलीलाई पूर्णतः अस्वीकार गर्दै सुशासन, प्रविधि र परिणाममुखी नेतृत्वको माग गरिरहेका छन्। यस्तो परिस्थितिमा ‘बिपीको विचारलाई आधुनिक र प्रविधियुक्त नेपालको परिकल्पनासँग जोड्ने’ दाबी केवल भाषण र नारामा सीमित रह्यो भने कांग्रेस थप शक्तिहीन बन्ने खतरा छ।
नेपालको लोकतान्त्रिक आन्दोलनको पर्याय मानिएको नेपाली कांग्रेस यतिबेला आफ्नो इतिहासकै सबैभन्दा संवेदनशील र चौबाटोको मोडमा खडा छ। २००७ सालको क्रान्ति, २०४६ को जनआन्दोलन र २०६२/६३ को ऐतिहासिक परिवर्तनको नेतृत्व गरेको यो दल आज काठमाडौंको खुलामञ्चमा १५औं महाधिवेशनका लागि भेला हुँदै गर्दा उत्सवभन्दा बढी अस्तित्व रक्षाको चिन्ताले घेरिएको छ। गत वर्षको ‘जेन–जी’ विद्रोहपछिको परिवर्तित राजनीति, पुराना दलहरूप्रतिको तीव्र नागरिक असन्तोष र आन्तरिक फुटकाबीच सुरु हुन लागेको यो महाधिवेशन केवल नयाँ नेतृत्व चयन गर्ने थलोमात्र नभई कांग्रेसको भावी राजनीतिक सान्दर्भिकताको कसी बन्ने निश्चित छ।
महाधिवेशनको पूर्वसन्ध्यामा प्रकट भएको संस्थापन र निवर्तमान सभापति शेरबहादुर देउवापक्षको खुला विभाजन कांग्रेसका लागि सबैभन्दा ठूलो आन्तरिक चुनौती हो। देउवा समूहले महाधिवेशन बहिष्कार गर्दै मंसिरमा छुट्टै महाधिवेशन गर्ने तयारीमा लाग्नुले आठ दशक लामो इतिहास बोकेको पार्टीलाई औपचारिक फुटको संघारमा पुर्याएको छ। विशेष महाधिवेशनमार्फत नेतृत्वमा आएका सभापति गगनकुमार थापाले देउवालाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा पठाएर एकताको लचकता देखाउन खोजे पनि देउवा पक्षको अडानले कार्यकर्तामा गम्भीर निराशा र अन्योल सिर्जना गरेको छ।


अर्कोतर्फ, जेन–जी आन्दोलनपछि नेपाली राजनीतिमा परम्परागत शक्ति संरचना भत्किएको छ। नयाँ पुस्ताले पुराना दल र तिनका पुरातन कार्यशैलीलाई पूर्णतः अस्वीकार गर्दै सुशासन, प्रविधि र परिणाममुखी नेतृत्वको माग गरिरहेका छन्। यस्तो परिस्थितिमा ‘बिपीको विचारलाई आधुनिक र प्रविधियुक्त नेपालको परिकल्पनासँग जोड्ने’ दाबी केवल भाषण र नारामा सीमित रह्यो भने कांग्रेस थप शक्तिहीन बन्ने खतरा छ। १५औं महाधिवेशनको बन्दसत्रमा अर्थतन्त्र, रोजगारी, उत्पादन र शासन व्यवस्थाबारे कस्ता ठोस नीतिहरू पारित हुन्छन् र तिनलाई कार्यान्वयन गर्ने इच्छाशक्ति नेतृत्वले देखाउँछ कि देखाउँदैन भन्ने प्रश्न प्राथमिक बनेको छ।
पार्टीभित्र ३५ वर्षमुनिका युवा र महिलाको प्रतिनिधित्व बढाउने तथा सांगठनिक संरचना बदल्ने कुरा सकारात्मक भए पनि यसलाई वैधानिक र व्यावहारिक रूप दिनु उत्तिकै चुनौतीपूर्ण छ। यदि १५औं महाधिवेशनले आन्तरिक विभाजनलाई व्यवस्थापन गर्न सकेन र नयाँ पुस्ताको भावनाअनुसार रूपान्तरणको स्पष्ट मार्गचित्र कोर्न सकेन भने कांग्रेस इतिहासको पानामा सीमित हुने जोखिम रहने छ। तसर्थ, गुटगत स्वार्थ त्यागेर नीतिको पुनर्जागरण, पार्टी एकता र युवा पुस्तासँग नयाँ विश्वासको सम्बन्ध गाँस्नु नै आजबाट सुरु हुने महाधिवेशनको मुख्य दायित्व र ऐतिहासिक परीक्षा हो।
यस महाधिवेशनको अर्को महत्त्वपूर्ण आयाम भनेको पार्टीभित्र वर्षौंदेखि जरा गाडेर बसेको गिरोहवादी राजनीति र ‘कब्जा जमाउने’ संस्कृतिविरुद्धको लडाइँ हो। आम कार्यकर्ता र मतदाता केवल अनुहारको परिवर्तनमात्र चाहँदैनन्; उनीहरू नीति, नियत र डेलिभरीमा आमूल परिवर्तन चाहन्छन्।
यदि नेतृत्वले बन्दसत्रबाट पारित हुने कार्यपत्र र नीतिहरूलाई चुनाव जित्ने रणनीतिक अस्त्रमात्र बनाएर थन्क्याउने भूल गर्यो भने, कांग्रेसको जनआधार अझ ओरालो लाग्ने छ। त्यसैले, काठमाडौंका होटल र मञ्चहरूमा सीमित नभई गाउँगाउँका निराश कार्यकर्तामा आशा जगाउनु अनिवार्य छ।
तसर्थ, यो महाधिवेशनले गुटगत भागबण्डाभन्दा माथि उठेर मुलुकलाई दूरदर्शी, स्वच्छ र गतिशील दिशा दिन सक्ने सबल नेतृत्व चयन गरोस् भन्ने आमनागरिकको उत्कट अपेक्षा छ। इतिहासको यो नाजुक मोडमा कांग्रेसले सही नेतृत्व चुन्दै लोकतन्त्र बलियो बनाउन अग्रसर बनोस्।