नियम कार्यान्वयन गराउन काठमाडौंबाट छुट्ने नाकाहरूमा मात्र होइन, राजमार्गका विभिन्न जाँच चौकीहरूमासमेत चुस्त अनुगमन हुनुपर्छ।
चाडपर्वको संघारमा काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीसाधनमा अनिवार्य दुई जना चालक राख्नुपर्ने नियमलाई कडाइका साथ कार्यान्वयन गर्ने घोषणा गरेको छ। चाडपर्वमा घर फर्किने यात्रुको चाप अत्यधिक हुने, सडकमा सवारीको आवागमन बाक्लिने र रातको समयमा थकानका कारण गम्भीर दुर्घटनाको जोखिम बढ्ने भएकाले यो कदम अत्यन्तै सामयिक र सराहनीय छ। तर, विगतका अनुभवलाई हेर्दा नियम ल्याउनु वा त्यसको पुनः घोषणा गर्नुमात्रै ठूलो कुरा होइन, त्यसको निरन्तर र प्रभावकारी कार्यान्वयन महत्त्वपूर्ण पक्ष हो।
मुलुकमा लामो दूरीका बसमा दुई चालक हुनुपर्ने कानुनी व्यवस्था नयाँ होइन। यातायात व्यवस्था ऐन र ट्राफिक नियमहरूमा यसको स्पष्ट प्रावधान छ। तैपनि, मुनाफालाई सर्वोपरि ठान्ने केही यातायात व्यवसायी र अनुगमनमा देखिने फितलोपनका कारण अधिकांश लामो दूरीका रात्रिकालीन बसहरू एउटै चालकको भरमा सयौं किलोमिटर गुडिरहेका देखिन्छन्। रातभरको अनिद्रा, शारीरिक थकान र एकाग्रताको कमीका कारण सडकमा कयौं अमूल्य जीवनहरू अकालमै गुम्न पुगेका छन्। चालक कुनै मेसिन होइन; उनीहरूलाई पनि पर्याप्त आराम चाहिन्छ। दुई चालक हुँदा पालैपालो गाडी चलाउन पाइने र थकान व्यवस्थापन सहज हुने भएकाले दुर्घटनाको सम्भावना उल्लेखनीयरूपमा घट्छ।


यसपटक ट्राफिक प्रहरीले जाँच र अनुगमनलाई तीव्रता दिने, मादक तथा लागुपदार्थ सेवन (मापसे/लापसे) को कडा चेकिङ गर्ने र यात्रु ठगी नियन्त्रण गर्ने जुन प्रतिबद्धता जनाएको छ, त्यसलाई कागजी अभियानमामात्र सीमित राख्न हुँदैन। नियम कार्यान्वयन गराउन काठमाडौंबाट छुट्ने नाकाहरूमा मात्र होइन, राजमार्गका विभिन्न जाँच चौकीहरूमासमेत चुस्त अनुगमन हुनुपर्छ। धेरैजसो अवस्थामा काठमाडौंबाट छुट्दा दुई चालक देखाउने तर नागढुंगा काटेपछि एक जनालाई ओराल्ने वा बीच बाटोबाट एउटै चालकले निरन्तर गाडी हुँइकाउने चलाखी पनि हुने गरेको छ। यस्ता चलाखी र ठगीलाई रोक्न प्रविधिको प्रयोग, आकस्मिक चेकिङ र राजमार्गमा कडा निगरानी टोली परिचालन गर्न आवश्यक छ।
सवारी दुर्घटना रोक्ने र यात्रालाई सुरक्षित बनाउने दायित्व केवल प्रहरीकोमात्र होइन। यसमा यातायात व्यवसायी संघ–संस्था, चालक, सहचालक र स्वयं यात्रुहरूको पनि उत्तिकै दायित्व रहन्छ। व्यवसायीहरूले यात्रुको सुरक्षालाई व्यापारिक लाभभन्दा माथि राखेर दुई चालकको व्यवस्थालाई ऐच्छिक नभई अनिवार्य कर्तव्यका रूपमा लिनुपर्छ। त्यसैगरी, यात्रुहरूले पनि आफ्नो बसमा दुई चालक छन् कि छैनन् भन्नेबारे सचेत भई नियम पालना नभएको पाइएमा तत्काल नजिकैको प्रहरी वा ट्राफिक हटलाइनमा खबर गर्नुपर्छ।
चाडपर्व भनेको खुसी, उमंग र परिवारसँगको पुनर्मिलनको समय हो। यो समय शोक र आँसुमा बदल्न नदिन सडक सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्नैपर्छ। प्रहरीले थालेको यो कडाइलाई मौसमी अभियानका रूपमामात्र नभई वर्षैभरि चल्ने स्थायी प्रणालीका रूपमा स्थापित गरियोस्। दुई चालकको नियमलाई सडकमा पूर्णरूपमा उतारेर यात्रुलाई सुरक्षित यात्राको प्रत्याभूति दिलाउनु नै आजको मुख्य आवश्यकता हो।