सर्लाही - सर्लाहीको विष्णु गाउँपालिका–५ फेनरास्थित एक घरमा लुकाइछिपाइ राखिएको ठूलो परिमाणको लत्ताकपडासहित रु. ५ लाख ६२ हजार ६२० बराबरको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण हेडक्वार्टर सर्लाही तथा मातहतका युनिटबाट खटिएको टोलीले २०८३ साल असोज १७ गते फेनरास्थित एक व्यक्तिको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा भन्सार छली गरी अवैध रूपमा लुकाइछिपाइ राखिएको लत्ताकपडा, खाने तेल र स्प्राइटलगायतका सामान फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामानको कुल मूल्य रु. ५,६२,६२० रहेको छ। बरामद सामग्रीमा तस्वीरमा देखिएअनुसार विभिन्न प्रकारका ठूलो परिमाणमा लत्ताकपडा रहेका छन्। सामानहरू छुट्टाछुट्टै पोका तथा बन्डल बनाएर भण्डारण गरिएको अवस्थामा फेला परेको जनाइएको छ।
सशस्त्र प्रहरीले बरामद गरेका सामानलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार/सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको जनाएको छ।
सीमावर्ती सर्लाही क्षेत्रमा भन्सार छली तथा अवैध रूपमा हुने सामानको ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीले सूचना संकलन, निगरानी तथा खानतलासीलाई निरन्तरता दिँदै आएको छ।