नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट गगनकुमार थापा अत्यधिक मतका साथ पार्टीको केन्द्रीय सभापतिमा निर्वाचित भएका छन्। सडक संघर्षमा लाठी र दमनको सामना गर्दै, आफ्नै पार्टीभित्र गणतन्त्रको बहस अल्पमतमा रहँदा पनि लोकतन्त्र र परिवर्तनको पक्षमा अडिग रहेका थापाको यो विजय व्यक्तिगत सफलतामात्र होइन; यो आठ दशक लामो गौरवशाली इतिहास बोकेको पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको नयाँ अध्यायको सुरुआत पनि हो।
२६ वर्षको उमेरमा नेविसंघको महामन्त्री, त्रिचन्द्रको स्ववियु सभापति, संविधानसभा तथा प्रतिनिधिसभा सदस्य हुँदै स्वास्थ्यमन्त्रीका रूपमा कार्यकुशलता सिद्ध गरिसकेका थापालाई नेपाली कांग्रेसको सर्वोच्च कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ। संघर्ष, वैचारिक स्पष्टता र निरन्तरको निष्ठाबाट निर्मित उनको यो नेतृत्व यात्रा उत्साहपूर्ण छ, त्यति नै चुनौती पनि। उनका लागि यो असाधारण अवसरसँगै ऐतिहासिक उत्तरदायित्व र चुनौतीको ठूलो चाङ पनि जोडिएर आएको छ।
देश यतिबेला गम्भीर सामाजिक-आर्थिक तथा राजनीतिक संकट र निराशाबाट गुज्रिरहेको छ। विशेषगरी गत वर्षको ‘जेन-जी’ आन्दोलनपछि मुलुकको राजनीतिमा उथलपुथल आएको अवस्था छ। यस्तो अवस्थामा कांग्रेसको नयाँ नेतृत्वबाट मुलुकले विशाल अपेक्षा गरेको छ। जनताले नेपाली कांग्रेसलाई केवल सत्ता गठबन्धन र चुनाव जित्ने औजारका रूपमा होइन, सुशासन, सामाजिक न्याय र समृद्धिको स्पष्ट दृष्टिकोण बोकेको जीवन्त लोकतान्त्रिक आन्दोलनका रूपमा हेर्न चाहेका छन्। नीतिगत सुधार, निःशुल्क तथा गुणस्तरीय शिक्षा-स्वास्थ्य, र पारदर्शी शासकीय प्रणाली स्थापनाका लागि थापाले संसद् र सरकारमा खेलेको विगतको भूमिकालाई अब पार्टीको समग्र नीति र राष्ट्रिय राजनीतिमै लागू गर्नुपर्ने चौतर्फी दबाब छ।


यस ऐतिहासिक मोडमा नवनिर्वाचित सभापति थापाका अगाडि सबैभन्दा ठूलो र पहिलो अग्निपरीक्षा पार्टी एकताको रक्षा गर्नु रहेको छ। पार्टीभित्र लामो समयदेखि चुलिएको आन्तरिक विवाद, विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी असहमति र संस्थापन पक्षको असन्तुष्टिकै बीच पूर्वसभापति शेरबहादुर देउवा समूह अलग्गै महाधिवेशन र गतिविधि गर्दै अघि बढेको स्थितिले नेपाली कांग्रेसको विभाजन लगभग निश्चितजस्तै देखिएको छ। नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक र बृहत् आधार भएको पार्टी खण्डित हुनु भनेको सिंगो लोकतान्त्रिक व्यवस्थाकै लागि ठूलो धक्का हो। इतिहास साक्षी छ- जब-जब कांग्रेस कमजोर वा विभाजित भएको छ, तब-तब मुलुकको लोकतन्त्र, संविधान र नागरिक अधिकार जोखिममा परेका छन्।
त्यसैले, नवनिर्वाचित सभापति थापाले बहुमतको दम्भ वा पूर्वाग्रह त्यागेर अभिभावकीय लचकता र उच्च राजनीतिक परिपक्वता देखाउनु अपरिहार्य छ। असन्तुष्ट देउवा पक्षलाई पाखा लगाउने होइन, बरु संवाद र सहमतिको टेबलमा ल्याउन अविलम्ब संवादको ढोका खोल्नुपर्छ। विगतका असमझदारी र असन्तुष्टिलाई बिर्सेर विधि, विधान र सम्मानजनक सहभागिताका आधारमा असन्तुष्ट पक्षलाई पार्टीको मूल प्रवाहमा फर्काउन विशेष पहलकदमी लिनु थापाको पहिलो कर्तव्य हो।
संस्थापन र असन्तुष्ट दुवै पक्षले आ-आफ्नो हठ त्यागी पार्टीको व्यापक हित र देशको लोकतान्त्रिक भविष्यलाई केन्द्रमा राख्नैपर्छ। गगन थापाको काँधमा एकातिर परम्परागत ढर्रामा जेलिएको कांग्रेसलाई आधुनिक, उत्तरदायी र प्रविधिमैत्री पार्टीमा रूपान्तरण गर्ने युगीन जिम्मेवारी छ भने अर्कोतिर पार्टीलाई फुटबाट जोगाएर एकताबद्ध बनाउने कठिन चुनौती छ। यदि उनले आन्तरिक एकता कायम गर्दै मुलुकले गरेको सुशासन र समृद्धिको अपेक्षालाई साकार पार्न सके भनेमात्र यो नेतृत्व परिवर्तनले सार्थकता पाउने छ। नवनिर्वाचित सभापति थापालाई बधाइ तथा यो चुनौतीपूर्ण बाटोमा सफलता मिलोस् भन्ने शुभकामना !