राजनीतिमा शब्द र आचरणबीचको दूरी जति बढ्दै जान्छ, व्यवस्था र नेतृत्वप्रतिको जनविश्वास उति नै खस्किँदै जान्छ । बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा आयोजित जेन-जी सहिद स्मृतिसभामा गृहमन्त्री सुधन गुरुङले दिएको कडा भाषण र त्यही मञ्चमा देखिएको दृश्यले राजनीतिक ढोंग र विरोधाभासलाई प्रस्टरुपमा उजागर गरेको छ । पुराना राजनीतिक दलहरूलाई ‘समय छ, सुध्रिनुस्’ भन्दै चेतावनी दिइरहँदा गृहमन्त्री स्वयं कस्ता पात्रहरूसँग एउटै मञ्चमा आसीन थिए भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ ।
जेन-जी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा आयोजना गरिएको स्मृतिसभाको मुख्य उद्देश्य आन्दोलनमा जीवन आहुति दिने वीर सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नु, घाइतेहरूको पीडामा मल्हम लगाउनु र युवाहरूले उठाएका परिवर्तनका एजेण्डालाई पुनर्जागृत गराउनु थियो । तर, त्यो संवेदनशील र ऐतिहासिक मञ्च कसरी दागी र विवादित पात्रहरूको शुद्धीकरण केन्द्र बन्यो, त्यो बडो उदेकलाग्दो छ । मञ्चमा गृहमन्त्रीकै लाइनमा विराजमान थिए- आफ्नै ज्यान मार्ने नाटक गरेर साम्प्रदायिक हिंसा भड्काउन खोज्ने आचार्य श्रीनिवास र सोझासाझा जनतालाई ठगी गरेको अभियोगमा अदालतबाट दोषी ठहर भई कैद सजाय पाएका विजय भण्डारी ।
अदालतबाट दोषी ठहरिएका र गम्भीर आपराधिक आरोप खेपिरहेका व्यक्तिहरूलाई राज्यको शान्ति सुरक्षाको बागडोर सम्हालेका गृहमन्त्रीले विशिष्ट अतिथिका रूपमा छेउमा राख्नुमात्र होइन, उनीहरूबाट दीप प्रज्वलनमा सहयोग लिनुले कुन सुशासनको संकेत गर्छ ? श्रीनिवास त्यही पात्र हुन् जसले २०७४ मा विराटनगरमा साम्प्रदायिक तनाव फैलाउने मनसायले आफ्ना सहयोगीमार्फत आफैंमाथि गोली हान्न लगाएका थिए र २०८० मा नांगै खुकुरी देखाउँदै हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए ।


अर्का पात्र विजय भण्डारी विभिन्न नाम बदलेर सर्वसाधारणलाई धार्मिक अनुष्ठान र वैदेशिक रोजगारीको लोभमा ठगी गरेको अभियोगमा काठमाडौं जिल्ला अदालत र वैदेशिक रोजगार न्यायाधीकरणबाट कैद तथा बिगो जरिवानाको सजाय पाइसकेका दोषी व्यक्ति हुन् । यस्ता पात्रहरूसँग एउटै मञ्चमा बसेर अरुलाई पाठ पढाउन कसरी सक्नुभयो गृहमन्त्रीज्यू ?
यता आयोजक ‘जेन-जी परिवार कल्याणकारी समाज’ले उनीहरूको पृष्ठभूमि थाहा नभएको भनेर पन्छिन खोजेको छ । यो जति गैरजिम्मेवारपूर्ण छ, त्योभन्दा बढी चिन्ताजनक गृहमन्त्री गुरुङको मौनता र मञ्चको स्वीकृति छ । सहिदका परिवार र आन्दोलनका घाइतेहरूको शरीरमा अझै आन्दोलनका घाउ र पीडा ताजा छन् । तिनै सहिदको नाममा आयोजित मञ्चमा अपराधी र ठगहरूको रजगज देख्दा तिनका परिवार र घाइतेहरूले कस्तो अनुभूति गरे होलान् ?
परिवर्तन र सुशासनका कुरा भाषणको गफमामात्र सीमित हुँदैनन्, ती व्यवहार र निर्णयमा देखिनुपर्छ । पुराना दललाई सुध्रिन आग्रह गर्ने गृहमन्त्री गुरुङले पहिला आफ्नै मञ्च, वरपरका पात्र र आफ्नै आचरणको गम्भीर समीक्षा गर्नुपर्छ । सहिदको बलिदान र जेन-जी आन्दोलनको पवित्र साखलाई विवादित पात्रहरूको ढाल बनाउने छुट कसैलाई पनि छैन । गृहमन्त्रीज्यू, अरूलाई ‘सुध्रिनुस्’ भनेर औंला तेस्र्याउनुअघि आफैं सुध्रिने हो कि ?