काठमाडौं– वैदेशिक रोजगारबाट फर्किएका कामदारको संस्था पौरखी नेपालले आफ्नो नवौं अधिवेशन तथा २४औं वार्षिक साधारणसभाको अवसरमा इन्डिजिनियस टेलिभिजनका प्रमुख कार्यकारी, वरिष्ठ पत्रकार कुमार यात्रु तामाङलाई सम्मान गरेको छ।
आप्रवासन तथा सीमान्तकृत समुदायको आवाजलाई सञ्चारमाध्यममार्फत उजागर गरी समाजलाई सशक्तीकरणमा महŒवपूर्ण योगदान पु¥याउँदै आएकोले त्यसको कदरस्वरुप सम्मान गरिएको पौरखी नेपालले जानकारी दिएको छ।
संस्थाकी रणनीतिक सल्लाहकार मञ्जु गुरुङले आप्रवासन, आदिवासी जनजाति तथा सुशासनको पक्षमा विगत तीन दशकदेखि छापा, रेडियो र अनलाइन तथा टेलिभिजन पत्रकारितामा सक्रिय यात्रुलाई सम्मान गर्न पाउँदा संस्थालाई गौरव लागेको बताइन्। यात्रुले पत्रकारिता, अनुसन्धान तथा लेखनका माध्यमबाट सामाजिक मुद्दालाई उजागर गर्दै सामाजिक रुपान्तरणको क्षेत्रमा योगदान दिएको उनले चर्चा गरिन्।
सोही समारोहमा सम्मानित यात्रुले पौरखी नेपाल एक आन्दोलनका रुपमा रहेको आफूले बुझेको बताए। सम्मानले थप हौसला र जिम्मेवारीबोध भएको उनको भनाइ थियो।
संस्थाकी अध्यक्ष सत्रकुमारी गुरुङको अध्यक्षतामा भएको नवौं अधिवेशन तथा २४औं वार्षिक साधारणसभामा महासचिव सिन्धु अर्यालले संस्थाको गतिविधिसहितको प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा संस्थाको सामाजिक परीक्षण पनि भएको थियो।
सामाजिक परीक्षणका क्रममा सहभागीहरुले महिला श्रमिकको अधिकार, सुरक्षित वैदेशिक रोजगारी, पुनःएकीकरण तथा सामाजिक न्यायका सवालमा राज्य र सरोकारवाला निकायबीच थप सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिएका थिए।
सोही अधिवेशनले सिन्धु अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। अधिवक्ता कृष्ण न्यौपानेको संयोजकत्वमा गठन भएको निर्वाचन आयोगका अनुसार संस्थाको नयाँ कार्यसमितिको सचिवमा निर्जला भट्टराई, कोषाध्यक्षमा राजु गुरुङ तथा सदस्यहरुमा सुशिला राना, सुनिता लामिछाने गुरुङ, दुर्गा पोखरेल र निर्मला गुरुङ निर्विरोध निर्वाचित भएका छन्।