बाँके - बाँकेको जानकी गाउँपालिका–६ कपासीस्थित इद्दु खानको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेर क्षति भएका छन् भने एक घरको झ्यालमा समेत क्षति पुगेको छ।
बुधवार ४ गते दिउँसो करिब १४:२० बजे विद्युत् सर्ट भई आगलागी भएको खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाको दमकल घटनास्थलमा पुगेपछि दिउँसो ४ बजे आगो पूर्णरूपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन।
आगलागीबाट जानकी गाउँपालिका–६ कपासी बस्ने साबिर खान, इद्दु खान, फिरोज खान र जाबिर खानका खरले छाएका एक–एक तले कच्ची घर पूर्णरूपमा जलेर क्षति भएका छन्।
त्यस्तै, सोही स्थानका जाबेद खान, सरनाम खान र सौरभ खानका टिनले छाएका एक–एक तले कच्ची घर पनि पूर्णरूपमा जलेर क्षति भएका छन् भने महेश खानको पक्की घरको एउटा झ्यालमा आगलागीबाट क्षति पुगेको छ।
अन्य क्षतिको विवरण खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।