काठमाडौं– दुर्गापक्षको मुख्य दिन आज मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदै छ।
यस वर्ष विजया दशमीको साइत बिहान १० बजेर २६ मिनेटमा उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरी १०:२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिन्छ। यद्यपि आज दिनभर टीका लगाउन सकिने र अत्यावश्यक परेकाले देवी विसर्जन गरेपछि टीका लगाउन सक्ने छन्। पश्चिम मोहडा गरेर अर्थात्, टीका लगाइ माग्ने मानिस पश्चिम फर्केर बस्नुपर्ने पनि जनाइएको छ।
राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने मान्यता छ। देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ।
आज बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा आराधना गरेर देवी विसर्जन गरिन्छ। आजका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अन्य फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ।
घटस्थापनाका दिन राखिएको जमरा आज नवदुर्गाको प्रसादका रूपमा लगाइन्छ। घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ। केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजया दशमी पर्व मनाउँछन्।
असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादसैं पर्व मनाउने परम्परा बसेको शास्त्रीय प्रमाण रहेको छ। त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजया दशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ।
आजका दिन परिवारमा आफूभन्दा ठुलाबडा, बाजे बज्यै, बाबुआमा, गुरु पुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथा दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ।