धनुषा - सामाजिक सञ्जालको दुरुपयोग गरी आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार लक्ष्मीनियाँ गाउँपालिका–१ निवासी २० वर्षीय राज यादवलाई सामाजिक सञ्जालमा विभिन्न व्यक्ति, समुदाय तथा सङ्घसंस्थाको मर्यादामा आँच आउने गरी गालीगलौजपूर्ण तथा आपत्तिजनक शब्द प्रयोग गर्दै धम्कीपूर्ण भिडियो पोस्ट गरेको आरोपमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार यादवले सामाजिक सञ्जाल टिकटकमा समाजमा हिंसा फैलाउन दुरुत्साहित गर्ने, विभिन्न व्यक्ति तथा समुदायको मर्यादामा आँच आउने गरी गालीगलौज गर्ने र धम्की दिने किसिमका भिडियोहरू पोस्ट गरेको पाइएको छ।
उक्त भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको विषयमा अनुसन्धान गर्ने क्रममा उनलाई २०८३ असोज २७ गते राति करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–९ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
यसैगरी, सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा हिंसा फैलाउन दुरुत्साहित गर्ने, विभिन्न व्यक्ति, समुदाय तथा सङ्गठनको मर्यादामा आँच आउने गरी गालीगलौज तथा आपत्तिजनक शब्द प्रयोग गर्ने र धम्कीपूर्ण अभिव्यक्तिसहितका फोटो तथा भिडियो पोस्ट गरेको आरोपमा अन्य चार जनामाथि समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बन्न, अरूको प्रतिष्ठामा आँच आउने सामग्री पोस्ट नगर्न तथा सामाजिक सद्भावमा असर पार्ने गतिविधिबाट टाढा रहन आग्रह गरेको छ।